BIZMANDU
www.bizmandu.com

अझै खुलेन टमाटरको निर्यात, पूर्वका किसानलाई ७५ करोडको घाटा, सचिवले सोधे– हलो कहाँनेर अड्कियो?

२०७५ असोज १५


बिराटनगर। पूर्वको काँकडभिट्टा भन्सारमा वैशाख महिनादेखि रोकिएको टमाटरको निर्यात अझै खुलेको छैन ।

Tata
GBIME
Nepal Life

प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले गत साउनको अन्तिम सातामा आफूले टमाटरको निर्यात खुलाएको दाबी गरे पनि सरोकारवालाले अझै बन्द नै रहेको बताएका छन् ।

मन्त्री आङ्बोले भारतीय राजदूत लगायतका व्यक्तिसित वार्ता गरी टमाटरको निर्यात सुचारु गरेको दाबी गरेका थिए ।

‘यो सिजनभरि एक दाना टमाटरको पनि निर्यात हुन सकेन, कसैले दाबी नगरे हुन्छ’, मेची उद्योगवाणिज्य सङ्घका अध्यक्ष गोपाल बस्नेतले भने, ‘नेपालबाट निर्यात हुने कृषि वस्तुमा भारतीय पक्षले तीन वटा पक्ष हेर्छ । पहिलो, निर्यातको सूचीमा उक्त वस्तुको नाम छ कि छैन, दोस्रो विषादीरहित छ कि छैन र तेस्रो सम्बन्धित उद्योगवाणिज्य सङ्घले उत्पत्तिको प्रमाणपत्र जारी गरेको छ कि छैन । हामीले टमाटरको निर्यातमा विषादीरहित र उत्पत्तिको प्रमाणपत्रको प्रमाण त जुटाउन सक्यौँ तर सूचीमा नाम नभएका कारण निर्यात हुन नसकेको हो ।’

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर १ ले आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष बस्नेतले टमाटर निर्यातको समस्या प्रस्तुत गरेका हुन् ।

इलाम र पाँचथरमा उत्पादित टमाटर निर्यात हुन नसकेका कारण बिर्तामोडको कृषि थोक बजारमा प्रति किलोग्राम २ रुपैयाँमा पनि विक्री हुन नभएको बस्नेतले जानकारी दिए ।

‘किसानले अत्यन्त दुःखी हुँदै हजारौँ किलोग्राम टमाटर थोक बजारमा फ्याँकेर गएको हामीले आफ्नै आँखाले देख्यौँ’, उनको दाबी थियो, ‘इलाम र पाँचथरका गरी १५ सयभन्दा बढी किसान मर्कामा परेका छन् । एक किसानलाई कम्तीमा ५ लाख रुपैयाँको घाटा छ । घटीमा ७५ करोडको नोक्सानी भएको छ ।’

बस्नेतले नेपालतर्फ एउटा टोमेटो सस वा केचपको कारखाना भएको भए यसरी टमाटर फ्याँकिने अवस्था नआउने स्पष्ट पारे । यस्तो कारखाना स्थापना गर्न सरकारले लगानीकर्तालाई प्रोत्साहन गनुपर्ने उनको आग्रह छ ।

कृषि सचिव युवकध्वज जिसीले तीन तहका सरकारबिच आपसी समन्वय र सहकार्य नमिल्दा महत्वपूर्ण कार्यक्रम अगाडि बढ्न नसकेको उल्लेख गरे ।

‘माथिको सङ्घीय निकायले मैले त सबै बजेट र अधिकार तल पठाइसकेँ भन्छ, तलका सरकारले हामीलाई केही आएको छैन भन्ने उत्तर दिन्छन्’, सचिव जिसीको आग्रह थियो, ‘हलो कहाँनेर र कसरी अड्केको छ अब खोज्नुपर्ने बेला भएको छ ।’

नेपालमा उपयुक्त हावा, पानी, माटो, श्रम, चेतना, मल, वीउ र सिँचाइ हुँदाहुँदै पनि उत्पादन र उत्पादकत्व अत्यन्त कम भएको उनले जानकारी दिए ।

सचिव जिसीले किसानलाई उपयुक्त र पर्याप्त बजार र समर्थन मूल्य दिन नसक्ता व्यावसायिक उत्पादनमा ह्रास आएको स्पष्ट पारे ।
‘हामीसित के छैन ? उपयुक्त भूमि, हावा, पानी, सिँचाइ, मल, वीउ, सिँचाइ, चेतना सबै कुरा छ’, उनको कथन थियो, ‘तर यति हुँदाहुँदै पनि उत्पादन र उत्पादकत्व बढेको छैन ।’

नेपालको संविधान र सङ्घीय सरकारको निर्देशनविपरीत जिल्ला समन्वय समितिले लगाएको करका कारण पनि किसान मारमा परेको जिसीको बुझाइ छ ।

संविधानअनुसार कृषि वस्तुको निकासीमा जिल्ला समन्वय समितिले कर लिन नपाउने कुरालाई सङ्घीय सरकारले सर्वत्र परिपत्र गरेको भए पनि परिपालन नभएको उनको गुनासो थियो ।

‘ताप्लेजुङको अलैँची विराटनगर ल्याइपुर्याउँदा चार गाउँ कर तिर्नुपर्छ’, सचिवको राय थियो, ‘कृषि वस्तुमा कर लिने नै हो भने एक ठाउँमा मात्र लिइयोस् । किसानलाई हरेक स्थानीय तहमा कर तिर्न बाध्य नपारियोस् ।’

प्रदेश नम्बर १ का सांसद् सावित्रा रेग्मीले जमिनको वैज्ञानिक सुधार नभएसम्म उत्पादन र उत्पादकत्व नबढ्ने बताइन् ।

‘उत्पादन गर्ने किसानको स्वामित्व र पहुँचमा जमिन हुनुपर्छ र किसानले कृषि वस्तुको न्यूनतम समर्थन मूल्य पाउनु पर्छ’, सांसद् रेग्मीले भनिन्, ‘बैंकले सुविधामा दिने कृषि कर्जा पनि वास्तविक किसानले नभई केही टाठाबाठा अनि झोलामा खेत र प्रपोजल बोकेर हिँड्नेले लिइरहेका छन् । यसको अन्त्य जरुरी छ ।’

कार्यक्रमको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।