BIZMANDU
www.bizmandu.com

चिनीको सन्दर्भ मूल्य घटाउन आयातकर्ताको माग अस्वीकृत, ४६५ डलर नै कायम गर्ने फैसला

२०७५ असोज २३

काठमाडौं। सरकारले चिनीको भन्सार सन्दर्भ मूल्य परिवर्तन गर्न चिनी आयाताकर्ताले गरेको आग्रह अस्वीकार गरेको छ। चिनीको सन्दर्भ मूल्य प्रतिक्विन्टल ४६५ अमेरिकी डलर बनाइएपछि त्यसको पुनरावलोकनका लागि आयातकर्ताले माग गरेका थिए।

Tata
GBIME
Nepal Life

सरकारले ४६५ डलर नै कायम हुने जबाफ फर्काएको छ। आयातकर्ताले विभिन्न समयमा दिएका पुनरावलोकनका निवेदनमध्ये २० वटाको सुनुवाई सकिएको छ। समितिले चिनीको सन्दर्भ मूल्य भन्सारमा कायम भएको नै अन्तिम हुने सूचना सम्बन्धित निवेदकलाई दिएको समितिका एक सदस्यले जानकारी दिए। 

'चिनीको सन्दर्भमा भन्सारमा जे जति कायम भएको छ, त्यसैलाई कायम हुने गरी फैसला गरिएको छ,' ती सदस्यले भने। पुनरावलोकन समितिले निर्णय भएको ७ दिनभित्रमा सम्बन्धित उजुरीकर्तालाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था छ। 

भन्सार प्रयोजनका लागि चिनीको सन्दर्भ मूल्य ४६५ अमेरिकी डलर कायम भएपछि आयातकर्ताले त्यसविरुद्ध एक सय वटा पुनरावलोकनका उजुरी दर्ता गरेका थिए। सरकारले आयातित चिनीको भन्सार सन्दर्भ मूल्य बढाएको विरोधमा व्यवसायीले पुनरावलोकन समितिमा उजुरी दर्ता गराएका हुन्।

चिनी आयातकर्ताले भन्सारको गोदाममा चिनी आइसकेपछि सन्दर्भ मूल्य परिवर्तन भएको भन्दै त्यसलाई हटाउन माग गरेका थिए। व्यवसायीले चिनीको कारोबार मूल्यमा आयात गर्न पाउनुपर्ने माग गर्दै आएका थिए। आफूलाई तिराइएको राजस्व विधिसम्मत र व्यवहारिक नभएको भन्दै पुनरावलोकन समितिमा उनीहरुले उजुरी गरेका हुन्।

अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख यस समितिको संयोजक रहन्छन्। महाशाखा प्रमुख हरिशरण पुडासैनी नेतृत्वको समितिले गुनासो फर्स्योट थालेको छ। आयातकर्ताले कानुनी उपचारस्वरुप उजुरी दर्ता गराएको भए पनि अपवादबाहेक भन्सारकै मूल्यांकनले अन्तिम रुप पाउने गरेको छ।

पुनरावलोकन समितिले टुंगो लगाएको विषयमा चित्त नबुझे व्यवसायी अदालत जान सक्छन्। 'अर्थ मन्त्रालय मातहत भन्सार विभाग छ, मूल्यांकन उसले गर्छ। अनि फेरि अर्थ मन्त्रालयकै मातहत रहेको समितिले भन्सारको मूल्यांकनमा परिमार्जन गर्ने अवस्था न्यून रहन्छ,' समितिका ती सदस्य भन्छन्।

डा. युवराज खतिवडा अर्थमन्त्री नियुक्त भए लगत्तै राजस्वको मुहानबाटै सफाइको अभियान थाल्ने भन्दै भन्सार मूल्यांकनमा कडाईका लागि निर्देशन दिएका थिए। त्यसलगत्तै कारोबार मूल्य ३०० देखि ३६० अमेरिकी डलर कायम गर्दै भित्रिरहेको चिनीको भन्सार प्रयोजनार्थ सन्दर्भ मूल्य बढाएर प्रति मेट्रिक टन ४६५ अमेरिकी डलर बनाइएको थियो।

भन्सार मूल्यांकन बढाइएको विषयमा विरोधस्वरुप केही समय व्यवसायीले चिनी आयातसमेत रोकेका थिए। भन्सारको यार्डमा चिनी थुपारेर केही समय आयात रोके पनि उनीहरुको केही जोर चलेन।

त्यसलगत्तै सरकारले चिनीको भन्सार महसुल बढाएर ३० प्रतिशत पुर्‍याइदियो। यसको विरोधमा व्यवसायी अदालत गए पनि सरकारले चालु आर्थिक वर्षको बजेटसँगै ल्याएको आर्थिक ऐनमा भन्सार महसुल ३० प्रतिशत हुने उल्लेख गरेको छ।