BIZMANDU
www.bizmandu.com

चन्द्रागिरी यातायातको महिलामैत्री बसः नागढुङ्गा-त्रिपुरेश्वर हुँदै सबै मुख्य रुटमा सञ्चालन

२०७५ असोज २४

काठमाडौं। चन्द्रागिरी यातायात सेवा प्रालीले महिलामैत्री बस संचालनमा ल्याउने भएको छ। २९ गते फुलपातीको अघिल्लो दिनदेखि २० वटा बसमार्फत सेवा शुभारम्भ गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीका अध्यक्ष गौतम श्रेष्ठले महिलाहरुलार्इ विशेष प्राथमिकतामा राखेर बस सेवा संचालन गर्न लागिएको जानकारी दिए। उनका अनुसार बसमा महिलाहरुका लागि ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ।

अहिले कम्पनीमा १० वटा बस आइपुगिसकेका छन् भने केहि दिनभित्रै थप १० वटा बस आइपुग्नेछन्। २० वटा बसमार्फत पहिलो चरणमा सेवा सुरु गर्न लागिएको कम्पनीले जनाएको छ। कम्पनीले ६० वटा बस ल्याएर सेवा विस्तार गर्ने योजना बनाएको छ। ४० वटा बस अर्डर गरिएकोमा २० वटा बस दशैंलगत्तै आउनेछन्।

कम्पनीका अध्यक्ष श्रेष्ठका अनुसार ४० वटा बसहरु आइपुगेपछि तीनवटा रुटमा बसले सेवा दिनेछन। पहिलो रुट नागढुङ्गाबाट कलंकी-बालाजु-बसुन्धरा-टिचिङ-कान्ति-पुतलीसडक-त्रिपुरेश्वर-कालीमाटी-कलंकी हुँदै नागढुङगा फर्किनेछ। 

दोस्रो रुट कलकी-त्रिपुरेश्वर-बानेश्वर-कोटेश्वर-ग्वार्को हुदै कलंकी बाट नागढुङगा फर्कनेछ। यस्तै तेस्रो रुट त्रिपुरेश्वरबाट कुपण्डोल-जावलाखेल-लगनखेल- हुदै कलंकी निस्किएर नागढुङगा फर्कनेछ। अहिले ल्याएका २० वटा बस भने बानेश्वर रुटमा संचालन हुने कम्पनीले जनाएको छ।

कम्पनीले ल्याएका बसहरुमा ३६ सिट रहेका छन्।जसमा ११ वटा सिट महिलाहरुका लागि छुट्याइएको छ भने अब ल्याउन लागिएका बसहरु ४० सिटे हुनेछन् जसमा महिलाका लागि १३ सिट छुट्याइने कम्पनीले जनाएको छ।

त्यस्तै सुत्केरी र गर्भवती महिलाका लागि विशेष सिटको व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ। अन्य सामान्य बसहरुमा जस्तै अशक्त र जेष्ठ नागरिकका लागि दुर्इ-दुर्इवटा सिटको व्यवस्था गरिएको छ। हाल सार्वजनिक यातायातमा महिलाका लागि ४ वटा सिट आरक्षणका रुपमा छुट्याइएको छ।

आरक्षणको व्यवस्था भयो भने कम्पनीका बसहरु महिलाका प्राथमिकमा पर्ने श्रेष्ठको भनाइ छ। 'हिंसाका घटनाहरु धेरै सार्वजनिक सवारीसाधनमै हुन्छन्,' श्रेष्ठले भने, 'उनीहरुलार्इ सार्वजनिक सवारीसाधनमा यात्रा गर्न कठिन अवस्था छ। हामीले नयाँ अवधारणा बनाएर उहाँहरुलार्इ प्राथमिकतामा राखेका हौँ।' 

त्यसैगरी कम्पनीले प्यासेन्जर काउन्टिङ मेसिन, फ्रि वाइफार्इ, जिपिएसलगायतका सेवाहरु समेत राख्ने योजना बनाएको छ। बसमा परिचालिकाहरुका लागि पनि सिटको व्यवस्था गरिएको छ। बसमा महिला परिचालक मात्रै हुनेछन्। 

त्यस्तै बसहरु स्टपमा मात्रै रोकिनेछन्। अहिले जथाभावी गाडी रोकेर ढिलागर्ने तथा जाम गराउने प्रवृत्ती बढेकाले यात्रुहरुलार्इ सम्मानजनक ढङ्गले समयमा नै गन्तव्यमा पुर्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

चन्द्रागिरी यातायात सेवा प्राली वैशाख १९ गते कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको छ। बसहरु भरखर ल्याएकाले यातयातसँग समन्वय गरेर पञ्जीकरण र रुट इजाजतको प्रक्रिया समेत अघि बढाएको कम्पनीले जनाएको छ।