BIZMANDU
www.bizmandu.com

मुद्दति निक्षेपको ब्याज घटाउन फेरि सहमति, संस्थागतलाई १०% मात्रै ब्याज

२०७५ असोज २५

मुद्दति निक्षेपको ब्याज घटाउन फेरि सहमति, संस्थागतलाई १०% मात्रै ब्याज
मुद्दति निक्षेपको ब्याज घटाउन फेरि सहमति, संस्थागतलाई १०% मात्रै ब्याज



काठमाडौं। धेरै प्रयासपछि पनि बैंक ब्याज दर नझरेपछि बैंकर्स संघले मुद्दति निक्षेपमा दिने ब्याज दर फेरि घटाउन सहमति गरेको छ।

Tata
GBIME
Nepal Life

२८ वटै सदस्य बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिहरुसँग बिहीबार बिहान भएको छलफलपछि संघले मुद्दति निक्षेपको ब्याज दर घटाउने भद्र सहमति गरेको हो।केही बैंकले पूर्व सहमति उल्लघंन गरिरहेका बेला उनीहरुलाई पनि मनाउँदै संघले ब्याज थप घटाउने निर्णय गरेको हो। यो सहमति भने अनौपचारिक हो।

अहिले बैंकहरुले संस्थागत निक्षेपकर्तालाई साढे १० र ब्यक्तिगतलाई ११ प्रतिशत ब्याज दिँदै आएका छन्। संघमा भएको सहमति अनुसार, भोलीबाटै बैंकहरुले संस्थागत मुद्दतिमा ९ प्रतिशत र ब्यक्तिगतमा १० प्रतिशत ब्याज दिने सूचना प्रकाशित गर्ने छन्।

यसो हुँदा संस्थागतको ब्याज दर बोलकबोलमै बढ्दा पनि १० प्रतिशत पुग्छ। सर्वसाधारणको साढे १० प्रतिशत मात्र पुग्छ। 'सबै पक्षलाई फाइदा पुर्याउने गरी मुद्दति निक्षेपमा सहमति गरिएको हो' बैठकमा सहभागी एक बैंकरले भने, 'सबैले सार्वजनिक रुपमा ब्याज दर प्रकाशित गर्नुपर्छ। प्रकाशित गरेको ब्याज दरमा थप प्रिमियम तोक्न राष्ट्र बैंकको नियमले रोक्छ। त्यही भएर यसपाली ब्याज दरमा सहमति तोड्ने संभावना न्यून रहन्छ।'

बैंकरले बचतको ब्याज दरमा पनि सीमा लगाएका छन्। बैंकहरुले बचतको ब्याज दर सात प्रतिशतभन्दा माथि दिन पाउँदैनन्। ती बैंकले न्यूनतम ब्याज ५ प्रतिशत तोक्नु पर्नेछ।

विगतमा केही बैंकले सबै बचतको ब्याज दर सात प्रतिशत तोकेका थिए। यसो हुँदा कल डिपोजिटमा पनि ब्याज सात प्रतिशत नै कायम भएको थियो।अब न्यूनतम सीमा ५ प्रतिशत राख्दा कल डिपोजिटको ब्याज ५ प्रतिशतभन्दा बढ्न पाउँदैन। 'अब कल डिपोजिटको ब्याज दर पनि घट्छ र बैंकहरुको आधार दर न्यून हुन्छ' ती बैंकरले भने, 'हामीले ब्याज दरमा सबैलाई इमान्दार हुन आग्रह गरेका छौं।'

केही दिनअघि केही बैंकले पूर्वसहमति तोड्दै संस्थागत निक्षेपकर्तालाई ११ प्रतिशतभन्दा बढि ब्याज दिएका थिए। यसले सहमति तोडिएको भन्दै बैंकरबीच खैलावैला भएको थियो। त्यसलगत्तै संघले २८ वटै बैंकलाई डाकेर छलफल गर्ने निर्णय गरेको थियो।

विगतमा मनपरी ब्याज दिएर निक्षेप उठाएकाहरुलाई आफ्नो स्कीम फिर्ता लिन संघले निर्देशन दिएको छ। 'ब्याज दर बढि दिएकाहरुले पुरानो कन्ट्र्याक्ट तोड्न प्रयास गर्ने बताएका छन्,' एक बैंकरले भने, 'बैठकमा कुनै पनि बैंकको नाम नलिइकन सहमति बिपरित ब्याज दिएको भन्दै असन्तुष्टी राखिएको थियो।'

ती बैंकरका अनुसार, जसले सहमति विपरित बढि ब्याज दिनु भएको छ, त्यो नगरौं। जसले गरेको छ त्यो फिर्ता गरौं भन्ने काम भयो। बैठकमा सहमतिविपरित बढी ब्याज दिने अभ्यासका बारेमा प्रश्न उठेको थियो। 'हामीले यस्तो समस्या पहिले पनि भोगेकै हो। कि आत्तिनु परेको हो? भनेर प्रश्न उठेका थिए' ती बैंकरले भने, 'जेनेरलाइज गरिएको प्रश्नलाई कसैले  संबोधन गर्ने भन्ने त भएन। तर ब्याज दर बढाएर जानु राम्रो अभ्यास नभएको भन्दै आलोचना भयो।'

बैठकमा राष्ट्र बैंकको ब्याज दर करिडोर बारे पनि प्रश्न उठेको थियो। 'बैंकहरु आफ्नो प्रतिबद्धतामा अडिक रहने तर नियामक निकाय नीतिगत निर्णय गरेर फछाडि फर्कँदा वातावरण झन् बिग्रिएको भनेर प्रश्न उठेको थियो' ती बैंकरले भने, 'तर यस्ता प्रश्नको जवाफ कसले दिने?'