BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रीको टिप्पणी, ‘बहुपक्षीय निकायको भूमिका कमजोर देखिन थाल्यो, सानाको आवाज सुनिएन’

२०७५ असोज २५

अर्थमन्त्रीको टिप्पणी, ‘बहुपक्षीय निकायको भूमिका कमजोर देखिन थाल्यो, सानाको आवाज सुनिएन’
अर्थमन्त्रीको टिप्पणी, ‘बहुपक्षीय निकायको भूमिका कमजोर देखिन थाल्यो, सानाको आवाज सुनिएन’



काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले संसारका ठुला अर्थतन्त्रको व्यापारिक युद्धको मार नेपालजस्ता साना मुलुकले खेपिरहेको बताएका छन्। अमेरिका र चीनबीचको व्यापार युद्धले नेपालजस्ता साना मुलुकको स्थायित्वमा नै चुनौति थपिएको खतिवडाले उल्लेख गरेका छन्। 

Tata
GBIME
Nepal Life

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकअन्तर्गत दक्षिण पूर्व एशिया क्षेत्र मतदान समूहको बैठकमा बोल्दै खतिवडाले विद्यमान अवस्था कुनै पनि मुलुकका लागि फाइदाजनक नभएको बताए। व्यापार युद्धको कारण मूल्य नियन्त्रण गर्ने मौद्रिक नीतिको औजारको उपयोग तथा प्रभावकारिता कमजोर हुँदै गएकोले यसतर्फ विश्व समुदायको ध्यान जानु जरुरी भएको खतिवडाले टिप्पणी गरे। 

दक्षिण एशियाको आर्थिक बृद्धिदर विश्वमै उच्च रहेको र यसबाट विश्व अर्थतन्त्रमा सिर्जना गरेको अवसर र योगदानको उपयुक्त चित्रण हुनुपर्ने पनि बताएका छन्। विश्वमा प्रविधिको विकाससँगसँगै डिजिटल वित्तीय औजारले बढाएका चुनौती र अवसरलाई व्यवस्थापन गर्न नियमनकारी निकायहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने भन्दै खतिवडाले बहुनियामक निकायहरुबीच समन्वय हुन नसके वित्तीय अराजकता निम्तिनेतर्फ सबै सचेत हुनुपर्ने बताए। 

ठूला राष्ट्रहरुको गर्ने द्विपक्षीय सहमतिले साना राष्ट्रहरुको आवाज सही ढंगबाट प्रतिनिधित्व नहुनेतर्फ सहभागी देशहरुको ध्यानाकर्षण गर्दै खतिवडाले बहुपक्षीय संस्थाहरुको भूमिका कमजोर हुन लागेको बताएका छन्। 

नेपाल बहुपक्षीय संस्थाबादको पक्षमा रहेको र त्यस्ता संस्थाहरु साना मुलुकहरुको आवाज विश्व समुदायलाई सुनाउन प्रभावकारी मञ्च हुने उनको तर्क थियो। विश्व बैंक समूहले बहुपक्षीय संस्थाहरुको लागि नेतृत्वदायी र प्रेरणादायी भूमिका निभाउनुपर्नेमा उनले जोड दिए।

विहीबार नै बहुपक्षीय लगानी प्रत्याभूति संस्थाको प्रतिनिधि मण्डल र नेपाली पक्षबीच भएको बैठकमा नेपालमा वैदेशिक निजी लगानी प्रवर्द्धन गर्न यो संस्थाले थप परियोजनाहरुमा लगानी प्रत्याभूति गर्ने प्रतिपद्धता व्यक्त भएको अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ। 
वैदेशिक निजी लगानीको लागि उपयुक्त वातावरण सिर्जना गर्न नेपालले हालै गरेका प्रयासहरु सकारात्मक रहेको संस्थाका प्रतिनिधिहरुले बताएका छन्। बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिब श्रीकृष्ण नेपालले गरेका थिए।