BIZMANDU
www.bizmandu.com

मुग्लिनको आर्क ब्रिज फागुनबाट सञ्चालन, नेपाली इन्जिनियरको बढायो आत्मविश्वास

२०७५ कात्तिक २१

मुग्लिनको आर्क ब्रिज फागुनबाट सञ्चालन, नेपाली इन्जिनियरको बढायो आत्मविश्वास
मुग्लिनको आर्क ब्रिज फागुनबाट सञ्चालन, नेपाली इन्जिनियरको बढायो आत्मविश्वास

काठमाडौं। पृथ्वीराजमार्ग अन्तर्गत त्रिशुली नदिमा निर्माणाधीन आर्क व्रिजमा आगामी फागुनदेखि सवारीसाधन चलाउने योजनाका साथ काम भैरहेको छ। व्रिज मात्रै तयार हुने छैन, नेपाली आफैले डिजाइन गरेर आर्क व्रिज निर्माण गर्न सक्छन् भन्ने प्रमाणित पनि हुनेछ।

Tata
GBIME
Nepal Life

१ सय ६० मिटर लामो चितवनको मुग्लिन र तनहुँ जोड्ने यो पुलको ७५ प्रतिशतभन्दा बढि निर्माण कार्य पुरा भइसकेको सडक विभाग अन्तर्गतको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। उनका अनुसार आगामी फागुनसम्ममा यो व्रिजमा सवारीसाधन संचालन हुनेछन्।

महाशाखाका अनुसार २०७१ फागुनबाट निर्माण सुरु गरिएको व्रिज २०७४ असारमा सम्पन्न गर्ने लक्ष्य लिर्इएको थियो। तर पछिल्लो संशोधित तालिका अनुसार फागुनमा सम्पन्न गर्ने लक्ष्य लिर्इएको छ।

करिव ८ बर्षअघि सडक विभागबाट १६ जना इन्जिनियर आर्क व्रिज सम्वन्धि अध्ययन गर्नका लागि चीन गएका थिए। त्यहाँ करिव ३ महिनाको अध्ययनपछि उनीहरु नेपाल फर्किएका थिए। नेपाल फर्किएर उनीहरुले आफैले डिजाइन गरेर चोभारमा ट्रायलका रुपमा एउटा आर्क व्रिज निर्माण गरेका थिए। चोभारमा मन्जुश्री पार्क र भैसेलार्इ जोड्ने उक्त पुल ६० मिटर लामो छ। जुन अहिले संचालनमा छ।

अहिले अधिकांश चीनबाट अध्ययन गरेर फर्किएका इन्जिनियरहरु सडक विभाग छाडेर बाहिरी बजारमा गएर काम गर्छन् तर केही इन्जिनियर भने अझै पनि सडक विभागको पुल महाशाखामा छन्। तीनै इन्जिनियर र कन्ट्रयाक्टर मिलेर आर्क व्रिजको डिजाइन बनाएर निर्माणको काम सुरु गरिएको थापाले जानकारी दिए।

डिजाइन एण्ड विल्ड प्रक्रियाबाट ठेक्का लगार्इएको छ। यस्तो प्रक्रियाबाट ठेक्का लगाउँदा ठेक्का पाउने कम्पनीले डिजाइन तयार पारेर विभागबाट स्विकृति गरार्इ निर्माण गर्नुपर्ने हुन्छ। यो पुलको चिनबाट अध्ययन गरेर आएका डा. विजय जैसी र एलाइट एडभेन्चरका इन्जिनियरहरु मिलेर डिजाइन फइनल गरेका हुन्। थापाका अनुसार नितान्त नेपाली इन्जिनियरहरुले डिजाइन गरेर निर्माण सुरु गरेका हुन्।

पुलले टेक्नोलोजी  ट्रान्सफरमा उल्लेखनीय योगदान पुर्याएको छ। 'हामी आफै पनि यस्ता व्रिजहरु डिजाइन गर्न सक्छौ भन्ने सावित भएको छ। डिजाइनर, सडक विभाग र कन्ट्रयाक्टरको आत्मविश्वास बढेको छ' उनले भने।

थापाका अनुसार, अन्य ठाउँमा मुग्लिनभन्दा तल घुमाउनेघाट, सुनकोशीमा उदयपुर-ओखलढुङगा जोड्ने फोक्सिङटारका साथै हेम्जा र लामाबगर जोड्ने ठाउँमा समेत आफैले  डिजाइन गरेर निर्माण गर्न लागिएको छ। 'हाम्रो हिम्मत बढेको छ हामी पनि सक्छौ भनेर आत्मविश्वास बढेको छ' उनले भने। 

मुग्लिनमा निर्माण गर्न लागिएको यो पुलको आर्क ढलान गर्ने र त्यसमाथिका पिल्लहरु तयार पार्ने लगायत मुख्य कामहरु बाँकी रहेको महशाशाखाले जनाएको छ। अब केही टेक्निकल काम र गाडी गुडाउनका लागि डेक राख्ने काम बाँकी छ। दुर्इ लेनको यो पुल करिव ९ करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको हो। 

किन आर्क व्रिज?
आर्क व्रिज सामान्य पुलभन्दा बलियो मानिन्छ भने यो नयाँ प्रविधिमा आधारित भएका कारण निर्माणका लागि लाग्ने लागत पनि कम छ।

यस्तो खालको पुलमा वीचमा सामान्य पुलमा जस्तो पेयर निर्माण गर्नुपर्दैन भने त्यसका लागि जग खन्नु नपर्ने भएका कारण खर्च कम लाग्छ। सामान्य पुलमा लोड पिल्लरमा थाम्छ तर आर्क व्रिजमा लोड आर्कले नै लिन्छ र छड्के केवलले आर्कमा लोड ट्रान्सफर गर्छ। यसमा निर्माण गरिने सुपर स्ट्रक्चर र सव स्ट्रक्चरले सबैको लोड दुर्इ तिरको जमिनमा ट्रान्सफर गर्छ।

सवारीसाधन गुड्दा यसमा भाइब्रेसन हुँदैन। यो पुलहरु थर्किँदैन। त्यस्तै कठिन र पिल्लरहरु निर्माण गर्न नसकिने खोच तथा अप्ठ्यारा ठाउँहरुमा समेत यी पुलहरु सहजै निर्माण गर्न सकिन्छ।

'हाम्रो डिजाइन केहि हेभी छ। चिनियाँहरुले नयाँ विकास गरिसकेका छन्, जुन केही लाइट छ,' उनले भने 'हामी पनि विस्तारै यस्तै पुलका नयाँ नयाँ टेक्नोलोजी सिक्दै जान्छौ।'