वासिङटन। अमेरिकी तल्लो र माथिल्लो सदनका लागि सम्पन्न भएको मध्यावधि निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ। निर्वाचनलार्इ राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि आगामी निर्वाचन पूर्वको जनमतसंग्रह भएको बताइएको छ।
सोमबार कंग्रेसको तल्लो सदन प्रतिनिधि सभाका ४३५ र माथिल्लो सदन सिनेटको १०० सिटमध्ये ३५ स्थानका लागि निर्वाचन भएको थियो। साथै ३६ राज्यमा गभर्नरका लागि समेत निर्वाचन भएको थियो।
निर्वाचनको नतिजाले कंग्रेसमा कुनै एक दल हाबी हुने वा नहुने भन्नेबारे निर्क्यौल गर्नेछ। साथै निर्वाचनलार्इ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूको परीक्षा भएको बताइएको छ।
ट्रम्पको रिपब्लिकन पार्टीले तल्लो र माथिल्लो सदनमा धेरै सिट हासिल गरेको खण्डमा राष्ट्रपतिलार्इ आफ्ना नीतिहरू सञ्चालन गर्न सहज हुने अनुमान गरिएको छ। विपक्षीहरूको जीत भएमा ट्रम्पलार्इ अप्ठ्यारो स्थितिमा पुर्याउने छ।
ट्रम्प स्वयंमले यो निर्वाचनलार्इ वाक र धार्मिक स्वतन्त्रताको जनमतसंग्रह भएको बताएका थिए।
प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधि सभामा डेमोक्र्याटहरु हाबी हुने संकेत देखिएको छ। गएको ८ वर्षमा पहिलोपटक तल्लो सदनमा डेमोक्र्याटहरु हाबी हुने देखिएको हो। यसको अर्थ ट्रम्प सरकार ल्याउने विधेयकहरू पास हुने तल्लो सदनमा निकै अप्ठ्यारो हुनेछ। तल्लो सदनमा बहुमत हासिल गरे राष्ट्रपतिमाथि महाभियोग लगाउन सक्ने अवस्थाबारे चर्चा हुन सक्ने बीबीसीले जनाएको छ।
हालसम्म घोषणा भएको मतपरिणाम अनुसार ५० सिटमा डेमोक्र्याटहरु विजयी भएका छन् भने ९ सिटमा रिपब्लिकनहरुको जीत भएको छ।
सिनेटमा भने रिपब्लिकनहरुकै वर्चस्व रहेको छ। इन्डियाना, टेक्सास र नर्थ डाकोटामा रिपब्लिकनहरुले जीत हासिल गरेका छन्।
ट्रम्पले आप्रवासीप्रति अवलम्बन गरेको कडा निर्णयहरूका कारण यो निर्वाचन ट्रम्पका लागि निकै महत्त्वपूर्ण रहेको छ।
सिनेटमा बहुमत हासिल गर्ने देखिएपछि ट्वीट गर्दै ट्रम्पले 'गएको रात निकै सफल भएको भन्दै सबैलार्इ बधार्इ' दिएका छन्। तर उनले तल्लो सदनमा आइरहेको नतिजाबारे भने केही प्रतिक्रिया दिएका छैनन्।