काठमाडौं। ब्याज दरका बारेमा निर्णय गर्नका लागि नेपाल बैंकर्स संघले तिहार बिदा सकिएलगत्तै आकस्मिक बैठक डाकेको छ। २८ वटा बाणिज्य बैंकहरुको छाता संगठन संघले आइतबार सबैलाई डाकेर छलफल गर्न लागेको हो।
बैंकर्स संघले यसअघि मुद्दति निक्षेपमा साढे १० र बचतमा ७ प्रतिशतभन्दा बढि ब्याज नदिने सहमति गरेका थिए। बचतको ब्याज दर अन्तर २ प्रतिशत बिन्दु राख्नै पर्ने निर्णय भएको थियो।
यसपछि साना र नयाँ बैंकहरुको निक्षेप ठूला बैंकमा सर्न थालेको थियो। संस्थागत निक्षेपकर्ताले पनि ठूला र पुराना बैंकलाई नै पत्याउन थालेका थिए। यस्तो निर्णयले नयाँ र साना बैंकहरुलाई समस्या परेको भन्दै गुनासो बढ्दै गएको थियो।
तिहारअघि नै संघले बैठक डाक्न खोजेको थियो। तर समयअभावका कारण तिहारलगत्तै बैठक डाकिएको हो। बैठकले ब्याज दरका बारेमा के गर्ने भन्ने निर्णय गर्ने एक बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए।
अघिल्लो साता अर्थमन्त्री डा. युवराज खतिवडाले संस्थागत निक्षेपकर्ताहरु कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा कम्पनीहरुलाई डाकेर बढि ब्याजको प्रभावमा परेर निक्षेप नराख्न सुझाव दिएका थिए। त्यसको प्रभावले पनि निक्षेप बिस्तारै ठूला बैंकहरुमा सर्न थालेको छ।
समान ब्याज हुँदा बैंकबीच प्रतिस्पर्धा नभएर ठूला बैंकहरु लाभान्वित भएको साना बैंकहरुले गुनासो गरिरहेका छन्।