BIZMANDU
www.bizmandu.com

अप्ठेरोमा परेका बाणिज्य बैंकलाई विकास बैंकको साथ, वाणिज्य बैंकको ऋण  धमाधम किन्न थाले


अप्ठेरोमा परेका बाणिज्य बैंकलाई विकास बैंकको साथ, वाणिज्य बैंकको ऋण  धमाधम किन्न थाले
अप्ठेरोमा परेका बाणिज्य बैंकलाई विकास बैंकको साथ, वाणिज्य बैंकको ऋण  धमाधम किन्न थाले


काठमाडौं। पैसा नभएर अप्ठेरोमा परेका बाणिज्य बैंकहरुलाई विकास बैंकहरुले उद्धार गर्न थालेका छन्। कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशतको संघारमा पुगेका 'क' वर्गका बैंकको ऋण 'ख' वर्गका विकास बैंकले किनेर उद्धार गर्न थालेका हुन्।

Tata
GBIME
Nepal Life

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले दुई बैंकलाई उद्धार गरिरहँदा विकास बैंकहरुले आधा दर्जन बैंकहरुको ऋण किनिदिएका हुन्

महालक्ष्मी, ज्योति र साङ्ग्रिला डेभलपमेन्ट बैंकले बाणिज्य बैंकहरुको ऋण किनिसकेका छन्। यी बैंकले अप्ठेरोमा परेर आए अझै ऋण किन्ने दाबी गरेका छन्। यी तीन वाहेकका अन्य विकास बैंकहरुले पनि बाणिज्य बैंकहरुले सहयोग मागे ऋण किन्ने आश्वासन दिएका छन्।

'विगत तीन बर्षदेखि बाणिज्य बैंकहरु तरलता अभावसँग जुधिरहेका छन्। तर हामीजस्ता विकास बैंकहरुलाई तरलता अभावले छोएको छैन,' महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बिजमाण्डूसँग भने, 'हामीसँग लगानी गर्ने पैसा छ। त्यसैले अप्ठेरोमा परेका बाणिज्य बैंकहरुको ऋण किन्न थालेका छौं।'

अहिले प्राइम, सेञ्चुरी, सिभिल बैंकले केही ऋण बेचिसकेका छन्। केही भने बेच्ने प्रकृयामा रहेका छन्। महालक्ष्मीले ७५ करोड रुपैयाँको ऋण किनेको छ। ज्योतिले ५० करोड रुपैयाँको किनेको छ। ओम डेभलपमेन्ट बैंकले तीन बैंकको एक अर्बको ऋण किनिदिएको छ। राष्ट्रिय बाणिज्य बैंकले भने दुई अर्ब ७५ करोड रुपैयाँको ऋण किनिसकेको छ।

'ऋण किनेर सहयोगका लागि आए अझै पनि आफूहरुसँग क्षमता छ' ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बिजमाण्डूसँग भने, 'विकास बैंकहरु तरलतामा एकदमै सहज अवस्थामा छन्। अनुशासित भएर काम गरेका कारण विकास बैंकहरुमा समस्या देखिएको छैन।'

नेपाल राष्ट्र बैंकले अघिल्लो मौद्रिक नीतिमार्फत एक बैंकको ऋण अर्कोले किन्न सक्ने ब्यवस्था गरेको थियो। यो नीति ल्याउनुको मूख्य कारण निर्देशित क्षेत्रको ऋण विस्तारमा सहयोग पुर्याउनु थियो। कुनै बैंकले जलविद्युतमा धेरै लगानी गरेको भए कम गर्नेले त्यसको ऋण किनेर निर्धारित सीमा पुर्याउन सहयोग पुगोस् भन्ने केन्द्रीय बैंकको सोचाइ थियो।

त्यही ब्यवस्थालाई टेक्दै बाणिज्य बैंकहरुले सिसिडी रेसियो ८० प्रतिशतभन्दा माथि जान नदिन ऋण बेच्न थालेका हुन्।

'सिसिडी रेसियो ब्यवस्थापन गर्नका लागि अल्पकाललाई ऋण बेचिएको हो' सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले भने, 'पछि त्यो ऋण हाम्रो भइहाल्छ। अहिले पैसा नहुन्जेललाई बिक्री गरिएको हो।'

विकास बैंकसँग कहाँबाट आयो पैसा
बाणिज्य बैंकहरु पैसा नभएर ऋण ठप्प पारेर बस्दा विकास बैंकहरु भने लगानी गर्न सक्ने अवस्थामा छन्। त्यसैको फाइदा उठाउँदै उनीहरुले बैंकको ऋण किन्न थालेका हुन्।

'तल्लो तहसम्म विकास बैंकहरुको पहुँच छ। त्यहाँबाट पनि पैसा आइरहेको हुन्छ' महालक्ष्मीका सिइओ लामिछानेले भने, 'संस्थाागत निक्षेपकर्ता पैसा हामीसँग हुँदैन। त्यसैले तरलतामा उतारचढाव विकास बैंकहरुलाई हुँदैन। आफ्नो विजनेस प्लान अनुसार अगाडि बढ्न सकिन्छ।'

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल प्रहरी, सेनाजस्ता निकायहरुले विकास बैंकहरुमा पैसा राख्दैनन्। बीमा कम्पनीहरुले पनि कुल निक्षेप योग्य रकमको १५ प्रतिशत मात्र विकास बैंकमा राख्न पाउँछन्। त्यसो हुँदा विकास बैंकहरुको तरलतामा संस्थागत निक्षेपकर्ताले हलचल ल्याउन सक्दैनन्।

बाणिज्य बैंकहरुमा भने यी संस्थााले अधिकांस स्रोत राखेका हुन्छन्। कसैले धेरै ब्याज दिने वित्तिकै अर्कोमा सार्छन्। जसकोबाट झिकिन्छ उ अप्ठेरोमा पर्छ। 

'विकास बैंकहरुमा पनि निक्षेप बढेको होइन। संस्थागत निक्षेपकर्ता नभएका कारण निक्षेप घट्न नपाएको हो। निक्षेप प्रभावित  नभएको हो' लामिछानेले भने, 'त्यसैले स्वभाविक बजारबाट निक्षेप परिचालन हुने हुँदा विकास बैंकहरुलाई फरक परेको छैन।'

बाणिज्य बैंकहरुमा तरलता अभाव भएपछि त्यसले निरन्तरता पाउनुको अर्को दोषी पनि बैंकहरु नै हुन्। बैंकहरुले भद्र सहमतिका नाममा समान ब्याज दर राखेका छन्। 'समान ब्याज दर राख्दा संस्थागत निक्षेपकर्ताले ठूलो र बलियो बैंकमा पैसा लान्छ' ज्योति विकास बैंकका ज्ञवालीले भने, 'सानो बैंक मर्कामा पर्छ। अहिले साना बैंक त्यसैको शिकार भएर ऋण बेच्न हिँडेका हुन्।'

अहिले विकास बैंकहरुले कल डिपोजिटमा पैसा बाणिज्य बैंकमै राख्नु पर्छ भन्ने जरुरी छैन। बाणिज्य बैंकमा ५ प्रतिशतमा कल डिपोजिटको ब्याज छ। विकास बैकमा १/२ प्रतिशत बढि नै हुन्छ। 'पैसा हुने विकास बैंकहरुलाई त अहिले फाइदा छ' सेञ्चुरीका गौतमले भने, 'त्यही फाइदा उनीहरुले उठाएका हुन्।'

ऋण किन्दा विकास बैंकलाई के फाइदा?
अहिले बैंकहरुले कल डिपोजिटमा ५ प्रतिशतभन्दा बढि ब्याज दिँदैनन्। ऋण किन्दा भने १३/१४ प्रतिशतसम्म ब्याज पाइन्छ।

'कल डिपोजिटमा पैसा राखेर ५ प्रतिशत ब्याज लिने कि ऋण किनेर १३/१४ प्रतिशत कमाउने भन्ने हो'  ज्ञवालीले भने, 'हामीले त्यही गरेका हौं।'

विकास बैंकहरुलाई ऋण किन्दा अर्को पनि फाइदा छ। जस्तो महालक्ष्मीले ७५ करोड र ज्योतिले ५० करोड रुपैयाँ बराबरको ऋण किनेका छन्। यो ऋण साधारण ग्राहक खोजेर लगानी गर्ने हो भने प्रकृयामै १/२ महिना लाग्छ। यति ठूलो रकम लैजाने ऋणी पनि खोज्नु पर्ने हुन्छ। 

'समयको पनि बचत भयो। एकै पटक ठूलो रकम लगानी गर्न पाइयो' लामिछानेले भने, 'यसले गर्दा ऋण किन्दा विकास बैंकहरुलाई फाइदै छ।'

विकास बैंकहरुले डेढ महिनादेखि ६ महिनासम्मका लागि ऋण किनेका छन्। राष्ट्रिय बाणिज्य बैंकले भने तीन महिनासम्मको लागि मात्र किनेको हो।

ऋण किन्दा त्यो सम्पतिका साथै विकास बैंकहरुले ऋणपत्र पनि धितो राखेका छन्। सरकारी ऋणपत्र धितोमा हुने भएकाले भोली बेच्नेले ब्याज बुझाउन सकेन भने किन्नेलाई जोखिम त्यति हुँदैन। ऋणपत्र बेचेर उसले उठाउन सक्छ। साथै यसरी ऋण किन्दा वास्तिक ऋणीलाई विकास बैंकले चिन्न जरुरी पनि हुँदैन।

'लगभग जोखिमरहित भएर नै हामीले ऋण किन्ने हो' लामिछानेले भने। लामिछानेका अनुसार, महालक्ष्मीसँग अझे पनि एक/डेढ अर्ब लगानी गर्नका लागि कुनै समस्या छैन। ज्योतिले पनि यही हाराहारीमा लगानी गर्न सक्ने जनाएको छ। सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले पनि एक डेढ अर्ब लगानी गर्ने योजना बनाएको छ।

विकास बैंकहरुले अहिलेको अवस्थामा बैंकहरुको १२ देखि १५ अर्बसम्मको ऋण सजिलै किन्न सक्ने जनाएका छन्। 'प्रस्तावहरु आइरहेका छन्,' ज्ञवालीले भने, 'कसैलाई साँच्चै अप्ठेरोमा परेको रहेछ र राम्रो प्रपोजल आएमा लगानी गर्न विकास बैंकहरु तयार छन्।'