BIZMANDU
www.bizmandu.com

बैंकको पूँजी कोष बृद्धि गर्न मुद्रा कोषको सुझाब, ‘सुझाब मान्दा चुक्ता पूँजी बढाउनु पर्छ’ 

२०७५ मंसिर १८

बैंकको पूँजी कोष बृद्धि गर्न मुद्रा कोषको सुझाब, ‘सुझाब मान्दा चुक्ता पूँजी बढाउनु पर्छ’ 
बैंकको पूँजी कोष बृद्धि गर्न मुद्रा कोषको सुझाब, ‘सुझाब मान्दा चुक्ता पूँजी बढाउनु पर्छ’ 


काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले बैंकहरुको पूँजी बृद्धि गर्न सुझाव दिएको छ। मुद्रा कोषको टोलीले राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुलाई भेट्दै पूँजी बृद्धि गर्न सुझाव दिएको हो।

Tata
GBIME
Nepal Life

नेपाली बैंकहरु ऋण बिस्तारमा आक्रमक हुँदा जोखिम बढ्दै गएको भन्दै पूँजी बृद्धि गर्न सुझाव दिएको हो। बैंकहरुले गत बर्ष पनि आक्रमक लगानी गरेका थिए। चालु बर्षमा निक्षेपको तुलनामा ऋण बिस्तार दोब्बरले बढाएका छन्। बार्षिक बिन्दुगत आधारमा बैंकहरुको लगानी २५ प्रतिशतले बढेको छ। जबकी २० प्रतिशतभित्र ऋण बिस्तार गर्न राष्ट्र बैंकको लक्ष्य छ।

'बैंकहरुले लगानी बिस्तारमा आक्रामक नीति लिएका छन्। यसले जोखिम निम्तिन सक्छ भन्ने कुरा आइएमएफको टोलीले गरेको छ' राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बिजमाण्डूसँग भने, 'जोखिम न्यूनीकरणका लागि पूँजी बढाउन सुझाब दिएका छन्।'

श्रेष्ठले बित्तीय स्थायित्वको चिन्ता लिँदै आइएमएफ टोलीले पूँजी बढाउन भने पनि तत्काल त्यसो गर्ने अवस्था भने नरहेको प्रष्ट पारे। बैठकमा अर्का कार्यवाहक गभर्नर चिन्तामणि शिवाकोटीका साथै वालुवाटारस्थित विभागीय प्रमुखहरुसमेत उपस्थित थिए। 

टोलीले सोमबार राष्ट्र बैंकका उच्चपदस्थ अधिकारीहरुसँग लामो छलफल गरेको थियो। टोलीले एक घण्टा लामो 'पावरपोइन्ट प्रिजेन्टेसन' दिएको थियो।

अहिले बैंकहरुले पूँजी कोष अनुपात ११ प्रतिशत कायम गर्नु पर्छ। आइएमएफले बैंकहरुको आक्रामक नीतिका कारण यसलाई बढाएर साढे १३ प्रतिशत पुर्याउन सुझाब दिएको हो। अहिले अधिकांस बैंकको पूँजी कोष अनुपात १२/१३ प्रतिशत छ।

साढे १३ प्रतिशत कायम गर्नका लागि बैंकहरुले चुक्ता पूँजी बढाउनु पर्ने हुन्छ। नभए बैंकहरुले ऋण लगानी गर्न सक्दैनन्। आइएमएफको भनाइलाई मानेर जाँदा आधा दर्जन बैंकहरुलाई मात्र सहज अवस्था हुने छ। 

'बफर बढाउ भन्नुको मतलब घुमाउरो पाराले चुक्ता पूँजी बृद्धि गर भन्नु नै हो' छलफलमा सहभागी राष्ट्र बैंकका एक उच्च अधिकारीले भने।

टोलीले काउन्टर साइक्लिकल बफर थप बढाउनु पर्ने सुझाब दिएको हो। अहिले यस्तो बफर साढे २ प्रतिशत हाराहारी छ। आइएमएफको सुझाब मानेर यो बफर थप बढाउने हो भने बैंकहरुले स्वस्फूर्त चुक्ता पूँजी बृद्धि गर्नु पर्ने हुन्छ।

राष्ट्र बैंकले तीन बर्ष अगाडि ल्याएको चुक्ता पूँजी बृद्धि योजना गत आर्थिक बर्ष मात्र सकिएको छ। अझै केही संस्थाले तोकिएको पूँजी पुर्याउन सकेका छैनन्। गत बर्षको नाफाबाट बोनस शेयर दिएर चुक्ता पूँजी बढाउन खोजिरहेका छन्।