काठमाडौं। लोमस समूहले जनकपुरमा रहेको हिमालयन प्यारेन्टियल एण्ड फर्मुलेशन उद्योग २० करोड रुपैयाँ किनेको छ। नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंङ पाण्डेको समूहले ५० प्रतिशत शेयर हिस्सा किनेको हो।
औषधी, सिमेन्ट, वित्तीय संस्था र हेलिकोप्टरमा लगानी गरिरहेको लोमसले केही दिनअघि मात्रै हिमालयन प्यारेन्टियलको डिल सकेको हो। हिमालयन प्यारेन्टियल कम्पनी नेपालको सलाइनमार्फत दिने औषधी (आइभी सलाइन) उत्पादन गर्ने पहिलो उद्योग हो।
पाण्डेले हिमालयन प्यारेन्टियल उद्योग किनेको पुष्टी गर्दै भने, ‘केही दिनअघि मात्रै ५० प्रतिशत स्वामित्व हामीले किनेका छौं। हामीसँग लोमस फर्मास्टिकल्स चलाएको तीन दशकको अनुभव पनि छ। त्यही अनुभवका आधारमा हामीले उद्योग किनेका हौं।’
उनले अब उद्योगको क्षमता बढाउने बताए। उद्योगको व्यवस्थापन समेत लोमशलेनै हेर्नेछ। उनका अनुसार, उद्योगको नाम समेत परिवर्तन गरेर लोमश प्यारेन्टियल एण्ड फर्मुलेशन राखिनेछ।
कौशलकिशोर सर्राफले ०६८ सालमा उद्योग स्थापना गरेका थिए। नेपालकै पहिलो आइभी सलाइन उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चल्न सकेको थिएन। अब लोमश समूहसँग तीन दशकदेखि औषधी उत्पादनको अनुभव भएकाले उद्योगको क्षमता अझै बढ्ने पाण्डे दाबी गर्छन्।
‘हामीसँग भएको अनुभव र देशको आवश्यकतालार्इ देखेर उद्योग किनेका हौं। औषधीमा विदेश निर्भर हुनुपर्ने बाध्यता अन्त्य गर्न चाहन्छौं’ उनले भने, ’अहिलेको देशको आवश्यकता पनि उद्योगनै हो। हाम्रो उदेश्य पनि व्यापार होइन उद्योगनै हो। त्यही उदेश्य अनुसार यो उद्योग किनेका हौं।’
उद्योगमा यूरोपेली प्रविधिबाट आइभी सलाइन उत्पादन हुन्छ। उद्योगबाट पाँच प्रकारका एन्टिवायोटिकदेखि ११ प्रकारका आइभी सलाइन उत्पादन हुँदै आएको छ।
पूर्ण स्वचालित इटालियन मेशिनबाट आइभी सलाइन उत्पादन हुँदै आएको छ। पाण्डेले अमेरिका र युरोपमा उत्पादन हुनेस्तरकै आइभी सलाइन उत्पादन गर्ने प्रविधि उद्योगमा रहेको दाबी गरे। यो उद्योग डब्लुएचओ/जिएमपी मापदण्ड अनुसार रहेको उनले जानकारी दिए। यो उद्योगबाट दैनिक ६० हजार आइभी सलाइन उत्पादन हुँदै आएको छ।