BIZMANDU
www.bizmandu.com

विदेशी मुद्राको स्टक घटेपछि सरकारले विलासी वस्तुको आयात रोक्दै, राष्ट्र बैंकले एलसीमा कडाई


विदेशी मुद्राको स्टक घटेपछि सरकारले विलासी वस्तुको आयात रोक्दै, राष्ट्र बैंकले एलसीमा कडाई
विदेशी मुद्राको स्टक घटेपछि सरकारले विलासी वस्तुको आयात रोक्दै, राष्ट्र बैंकले एलसीमा कडाई

काठमाडौं। सरकारले लक्जरी गुड्स(विलासिता)का वस्तु आयातमा रोक लगाउने भएको छ। विदेशी मुद्राको संचिती घट्न थालेपछि विलासिताका वस्तुको आयातमा रोक लगाउन खोजिएको हो। राष्ट्र बैंकले विलासिताका वस्तुको आयात रोक्न आवश्यक अध्ययन थालिसकेको छ।

Tata
GBIME
Nepal Life

'देशलाई अत्यावश्यक नभएका विलासिताका वस्तुको आयात रोक्न अध्ययन थालिसकेका छौं। ती वस्तुको आयातको तथ्यांक हेरेर हामी अघि बढ्नेछौं' नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बिजमाण्डूसँग भने, 'विकास निर्माणका वस्तु आयात गर्नै समस्या आउने देखिएपछि विलासिता र अनुत्पादक साधनहरु आयातमा कडाइ गर्न खोजिएको छ।'

राष्ट्र बैंकले बाणिज्य बैंकहरुबाट आयातका लागि खोलिने प्रतितपत्र (एलसी)मा कडाइ गर्नेछ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि त्यस्ता वस्तुको आयात निरुत्साहित गर्न परिमाणात्मक बन्देज(क्वान्टिटेटिभ रेस्ट्रिक्सन) लगाउने श्रेष्ठले जानकारी दिए।

अर्थमन्त्री डा. युवराज खतिवडाले विलासिताका वस्तु आयातको ग्राफ बढ्दो क्रममा रहेको भन्दै बैंकका प्रमुख कार्यकारीहरुलाई उपभोगमूखी आयातमा कडाइ गर्न आग्रह गरिसकेका छन्।

बैंकहरुले विलासिताका सामान आयातमा एलसी खोल्न थालेपछि देशको पैसा बाहिरिएको र आन्तरिक रुपमा तरलता अभाव चर्किएको विश्लेषण अर्थ र राष्ट्र बैंकको छ। अर्थमन्त्रालयको सुझाबमा राष्ट्र बैंकले निजी सवारी साधनको ऋण लगानीमा कडाइ गरिसकेको छ। मूल्यांकनको ६५ प्रतिशतसम्म गाडी कर्जा पाइँदै आएकोमा त्यसलाई घटाएर ५० प्रतिशतमा झारिसकिएको छ।

विदेश घुम्न जाने नेपालीको खर्चमा पनि कडाइ गरिएको छ। २५ सय डलरसम्म पाइने गरेकोमा यसलाई झारेर १५ सय डलर पुर्याइएको छ। यो वाहेक साधारण रुपमा आउने सामानलाई एलसी खोल्नुपर्ने व्यवस्था गरिएको छ।

उच्च आयातका कारण कुल विदेशी विनिमय सञ्चितिले ५.२ प्रतिशतले घटेर ९ अर्ब ५६ करोडमा झरिसकेको छ। चालु खाता घाटा तीन महिनामै ८१ अर्ब ९६ करोड पुगिसकेको छ भने शोधनान्तर घाटा ३५ अर्ब ४२ करोड पुगिसकेको छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार, तीन महिनामा कुल वस्तु निर्यात २३ अर्ब ७४ करोड हुँदा आयात तीन खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ पुगिसकेको छ। उच्च आयातकै कारण विदेशी विनिमय सञ्चिति घटेको हो।

'उच्च आयातले शोधनान्तर घाटा निरन्तर बढ्न थालिसकेको छ। यसलाई रोक्न केही न केही उपाय गर्नै पर्छ,' डेपुटी गभर्नर श्रेष्ठले भने, 'तत्काललाई विलासिताका वस्तु आयात रोक्ने उपायतिर जान खोजेका हौं।'

उनका अनुसार, नेपालमै उत्पादन हुने तरकारी फलफुलको आयात पनि बढ्न थालेको छ। ‘यसको उत्पादन यही बढाउन सकिन्छ। तैपनि आयात भइरहेकाले त्यसलाई समेत रोक्नुपर्ने अवस्था आएको छ, उनले भने।

'विलासिताका सामाग्री मात्र होइन। नेपालमा सजिलै उत्पादन हुने कृषि उपज पनि उच्च आयात भइरहेको छ। यसलाई निरुत्साहित गर्नैपर्छ' उनले भने, 'उत्पादन बढाउन ऋणमा अनुदान दिइने स्कीम छ। आयात निरुत्साहित गरेर उत्पातदन बढाउन राष्ट्र बैंक केन्द्रित हुन खोजिरहेको छ।'

औद्योगिक उत्पादनलाई आवश्यक पर्ने कच्चा पदार्थ, अत्यावश्यक सामग्रीलगायतको आयातमा कडाइ हुँदैन। अनावश्यक रुपमा  उपभोगका लागि आउने चकलेट, बिस्कुट, महँगा पर्फ्युम, शौन्दर्य प्रसाधान, नेपालमा सजिलै उत्पादन हुने कृषि उपजलगायतका सामग्री आयातमा परिणानात्मक बन्देज लाग्ने छ। 

'नचाहिने सामान आयात बन्द हुँदा हाम्रो विदेशी मुद्रा सञ्चिति घट्न पाउँदैन। यसबाट हामीले विकास निर्माणका लागि आवश्यक सामग्री खरीद गर्न सक्छौं' श्रेष्ठले भने। उनका अनुसार, देशमा आर्थिक विकासका कृयाकलाप बढ्न थालेकाले विदेशी मुद्राको सञ्चितिमा दबाब परिरहने छन्। अहिलेको सञ्चितिले ७.९ महिनाको मात्र आयात धान्न सक्छ।