BIZMANDU
www.bizmandu.com

नेपाली धागो उद्योगीका लागि खुशीको खबर, बंगलादेशमा धागो निकासी अवरोध हट्यो

२०७५ पुष २४

नेपाली धागो उद्योगीका लागि खुशीको खबर, बंगलादेशमा धागो निकासी अवरोध हट्यो
नेपाली धागो उद्योगीका लागि खुशीको खबर, बंगलादेशमा धागो निकासी अवरोध हट्यो


काठमाडौं । स्थल‌मार्गबाट नेपाली धागो आयातमा  लगाउँदै आएको प्रतिबन्धलाई बंगलादेशले सशर्त फुकुवा गरेको छ।

Tata
GBIME
Nepal Life

बंगलादेशको नेशनल बोर्ड अफ रेभेन्यु (एनबीआर)ले  बंगलाबन्ध स्थल भन्सार नाकाबाट नेपालमा उत्पादित धागो आयात गर्न दिने निर्णय गरेको हो । बंगलादेशी संचारमाध्यमका अनुसार यो प्रतिबन्ध एक वर्षको लागी मात्र फुकुवा गरिएको छ ।स्वदेशी उद्योगलाई संरक्षण गर्न बंगलादेशले सन् २००२ देखि बेनोपोल‌ स्थल भन्सार नाका र  समुद्री मार्गबाट मात्र धागो आयात गर्न पाउने प्रावधान लागू गरेपछि नेपालबाट धागो निर्यातमा अघोषित प्रतिबन्ध लागेको थियो ।बंगलादेशसँग बंगलाबन्ध र फुलबारीस्थल भन्सार नाकाबाट आयात निर्यात कारोबार हुँदै आएको छ ।

नेपाल‌ धागो उद्योग संघका अध्यक्ष पवन गोल्यानले प्रतिबन्ध फुकुवा स्वदेशी उद्योगको लागी सुखद उपलब्धी भएको बताए । उनले भने, हामीले वर्ष दिनमै पाँच अर्ब रुपैयाँ बराबरको ऊन बंगलादेश निर्यात गर्न सक्ने संभावना छ। ठूलो परिमाणमा पूँजी ,श्रम र उर्जा खपत हुने भएकोले धागो उद्योग पूर्ण क्षमतामा संचालन हुनु आवश्यक छ । स्वदेशी उद्योगले हाल वार्षिक करिब ११ अर्ब रुपैयाँ बराबरको धागो निर्यात गरिरहेका छन् । एक्रेलिक यार्न (ऊन),भिस्कस यार्न, पोलिष्टर भिस्कस, डाइड यार्न (रंगिन धागो) निर्यात हुन्छ ।

बंगलादेश निर्यातको बाटो खुलेसँगै सरकारले धागो र कपडा उद्योगलाई उपलब्ध गराउने घोषणा गरेको विशेष सुविधा कार्यान्वयनमा ल्याए दुई वर्षभित्र धागोको निर्यात दोब्बर बनाउन संभव रहेको अध्यक्ष गोल्यानले बताए ।बंगलादेशमा सोमबार मात्रै नयाँ सरकारको गठन भएकोले औपचारिक जानकारी प्राप्त हुन दुई‌ साताको समय लाग्न सक्ने  बंगलादेशी समकक्षीलाई उद्घृत गर्दै संघले जानकारी दिएको छ । उद्योगीका अनुसार धागो र कपडा उद्योगमा कच्चा पदार्थबाट तयारी वस्तु उत्पादन गर्ने प्रकृयाबाट ४० देखि ५० प्रतिशतसम्म मूल्य अभिवृद्धि (भ्यालु एडिशन) भइरहेको छ। रंगिन धागो उत्पादनमा ६० प्रतिशत सम्म मूल्य अभिवृद्धि हुन्छ ।

सरकारले स्वदेशी धागो तथा कपडा उद्योगलाई प्रोत्साहन गर्न बिजुली महशुलमा पचास प्रतिशत र बैंक ब्याजमा पाँच प्रतिशत सहुलियत दिएकोले बंगलादेशको बजारमा मूल्य प्रतिस्पर्धा सामना गर्न सकिनेमा धागो उद्योग संचालक विश्वस्त छन् । यो बाहेक‌ निर्यातजन्य उद्योगलाई निर्यात प्रोत्साहन वापत थप‌ रकम समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।सन् २०१७ देखि नै नेपाली व्यवसायीले बंगलादेशको पञ्चगढस्थित तेतुलिया नाका(बंगलाबन्ध)बाट निर्यातको सुविधा दिन माग गर्दै आएका थिए । बंगलादेशको विदेश मन्त्रालय र वाणिज्य मन्त्रालयले समेत नेपालबाट एक्रेलिक धागो आयातमा प्रतिबन्ध हटाउन आग्रह गरेपछि २८ डिसेम्बरमा एनबीआरले सरोकारवालासँग यसबारे छलफल गरेको थियो ।

नेपालमा सुती धागोको उत्पादन नहुने भएकाले बंगलादेशी सुती धागो उत्पादकलाई असर नपर्ने निष्कर्ष सहित प्रतिबन्ध फुकुवा गरिएको एनबीआरलाई उद्घृत गर्दै बंगलादेशी संचार न्युएजले उल्लेख गरेको छ ।एनआरबीले सन् २०२० जनवरीमा पुनःमूल्यांकन गरेर प्रतिबन्ध फुकुवाको म्याद थप्ने/नथप्ने बारे निर्णय लिनेछ । मूल्यांकन समितिमा बंगलादेश कपडा उद्योग संघ, बंगलादेश उद्योग वाणिज्य महासंघसमेतको सहभागिता रहने छ ।

यस्तो छ धागो निर्यातको शर्त
बंगलादेशको बण्डेड वेयर हाउस व्यापार सम्बन्धी इजाजत प्राप्त व्यापारीलाई मात्र आयात गर्न छुट दिइएको छ । अन्य व्यापारीले आयात गरेमा दश प्रतिशत भन्सार राजश्व तिर्नुपर्नेछ ।

धागोको गुणस्तरबारे बंगलादेशी भन्सार अधिकृतले प्रारम्भिक जाँच पछि भंसार जाँचपासको लागी स्वीकृति दिनेछन् । अन्तिम निर्णय भने  प्रयोगशालाको परिक्षण प्राप्त प्रतिवेदनको आधारमा मात्र गर्नेछन् । एनबीआरले ऊनको उत्पति(कन्ट्री अफ ओरिजिनल) लाई कडाईका साथ जाँच्ने भएको छ।एनआरबीले गुणस्तरहीन ऊन भित्रिन नदिन ऊनको सुता गणना गर्ने मेशिन समेत जडान गर्ने भएको छ ।

नेपाली उद्यमीले नेपालबाट एक्रेलिक धागो मात्र निकासी गरिने भएकोले बंगलादेशी सुती धागो उद्योगलाई प्रभाव नपर्ने भन्दै प्रतिबन्ध फुकुवाको लागी उद्योग वाणिज्य मन्त्रालयमार्फत् दबाब दिंदै आएका थिए । बंगलादेशले भारतीय धागो आयातमा लगाइएको प्रतिबन्ध भने कायमै राखेको छ।

भारत र टर्कीमा निर्यात हुन्छ नेपाली धागो
स्वदेशी धागो उद्योग रिलायन्स स्पिनिङ, त्रिवेणी स्पिनिङ, जगदम्बा स्पिनिङले भारत, टर्की, बंगलादेश, अफ्रिकी मुलुकमा धागो निर्यात गर्दै आएका छन्।

विदेशमा उत्पादित ऊन लगायतको धागो आयात गरेर नेपाली ब्राण्डमा निर्यात गरिएको भन्दै टर्कीले आयात महशुलमा दिंदै आएको सहुलियत हटाएको थियो। तर वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैजुको संयोजकत्वमा गठित समितिले धागो उद्योगको स्थलगत अध्ययन गरेको थियो। सो समितिको अध्ययनले नेपालमै उत्पादित भएको ठहर गरेको थियो। त्यही अध्ययन प्रतिवेदनसहित सरकारी र निजी क्षेत्रको टोलीले टर्की पुगेर निकासी फुकुवाका लागि आग्रह गरेको थियो।

त्यही पहलका कारण केही दिन पहिला मात्रै टर्कीले धागो निकासी फुकुवा गरेको थियो।सन् २०११ देखि सन् २०१७ बीचमा नेपाली धागोको टर्कीमा निर्यात एक सय नब्बे प्रतिशतले वृद्धि भएपछि त्यहाँको सरकारले उत्पतिमा आशंका व्यक्त गर्दै सन् २०१८ को जनवरी देखि नेपाली धागोको आयातमा दिंदै आएको सहुलियतमा रोक लगाएको थियो। तीन उद्योगको वार्षिक उत्पादन क्षमता ६० हजार टन छ। तर अहिले ४० देखि ४५ हजार टन धागो उत्पादन हुँदै आएको छ।