BIZMANDU
www.bizmandu.com

राज्यलक्ष्मी गोल्छाको हुलास वायरले सवा अर्ब लगानी थप्यो, भारत निकासी गर्ने लक्ष्य


राज्यलक्ष्मी गोल्छाको हुलास वायरले सवा अर्ब लगानी थप्यो, भारत निकासी गर्ने लक्ष्य
राज्यलक्ष्मी गोल्छाको हुलास वायरले सवा अर्ब लगानी थप्यो, भारत निकासी गर्ने लक्ष्य


विराटनगर। गोल्छा अर्गनाइजेसन अन्तर्गतको हुलास वायर इन्डस्ट्रिजले १ अर्ब २५ करोड लगानी थप्दै स्वदेशी खपत र निर्यातका लागि तीन प्रकारका पाइप उत्पादन गर्ने भएको छ ।

Tata
GBIME
Nepal Life

मोरङको बुढीगङ्गा गाउँपालिकामा रहेको हुलास वायर राजलक्ष्मी गोल्छा नेतृत्वमा सञ्चालित छ । उद्योग उनकी छोरी युक्तिले हेरिरहेका छिन्।संविधान सभा सदस्य राजलक्ष्मी स्वर्गीय महेन्द्र गोल्छाकी पत्नी हुन् । सन् १९८२ मा दिवाकर र महेन्द्र गोल्छाको अग्रसरतामा स्थापित हुलास वायरले १५ किलोमिटर उत्तरमा पर्ने इटहरी नगरपालिका वडा नंं. १३मा दोस्रो युनिटको स्थापना गर्न लागेको हो ।

हुलास वायरका महाप्रबन्धक मुकेशकुमार कोठारीका अनुसार इटहरीको युनिटमा फागुनको पहिलो सातादेखि माइल्ड स्टीलका स्वायर पाइप, राउन्ड पाइप र रेक्ट्याङ्गुलर पाइपको उत्पादन गरिने छ ।पाइपहरू आधादेखि ४ इन्चसम्मका हुनेछन् ।‘कारखाना स्थलमा मेसिन जडान गर्ने काम धमाधम भइरहेको छ’, महाप्रबन्धक कोठारीले भने, ‘आधाभन्दा बढी मेसिन आइसके । मेसिन आइपुग्ने क्रम जारी छ ।’

फागुनदेखि प्रति दिन २ सय मेट्रिक टनबाट उत्पादन सुरु गर्ने र एक वर्षपछि मेसिन थप गरेर उत्पादनलाई ५ सय टन बनाइने महाप्रबन्धक मुकेशले जानकारी दिए । एक वर्षपछि थप ५० करोड लगानी गरिने र ग्याल्मनाइज्ड पाइप, पोल र स्ट्रक्चरसमेतको उत्पादन सुरु गर्ने उनले बताए ।उनले हुलास वायरको दोस्रो युनिट पूर्ण अटोमेटिक हुने र बढीमा ३० कामदार रहने स्पष्ट पारे । दोस्रो युनिटबाट उत्पादित माइल्ड स्टील पाइप वार्षिक तीन अर्ब मूल्य बराबरको भारततर्फ निकासी गर्ने उद्योगको लक्ष्य छ । 

हुलास वायरको बुढीगङ्गास्थित पहिलो युनिटले गत आर्थिक वर्षमा साढे सात अर्ब कारोबार गरेको थियो । जसमध्ये साढे तीन अर्ब मालसामान भारततर्फ निकासी गरेको थियो । चालु आर्थिक वर्षमा पहिलो युनिटबाट १० अर्बको कारोबार गरी चार अर्ब निर्यात गर्ने लक्ष्य राखिएको छ । पहिलो युनिटमा उत्पादित हाई कार्बन जिआई वायर, ब्रास सिट, कपर सीट र तटबन्धका लागि प्रयोग गरिने तारजाली (गेभियन बक्स) भारत निर्यात भइरहेका छन् ।

पहिलो युनिटमा स्वदेशमै विक्री गर्ने उद्देश्यका टीएमटी रड, काँटी, रिब्ड वायर र लो कार्बन जिआई वायरको समेत उत्पादन गरिन्छ । यस युनिटको दैनिक उत्पादन ५ सय टन रहेको मुकेशले जनाए । हुलास वायरको उत्पादन जिआई वायरले भारतको आइएसआई समेत प्राप्त गरेको उनले उल्लेख गरे ।उद्योगले गुणस्तर विभागबाट सन् २००६ मा गुणस्तर चिन्ह प्राप्त गरेको थियो ।

उद्योगले आफ्ना उत्पादन भारतको दक्षिण भागको केरला, पूर्वमा अरुणाचल र उत्तरमा सिमलासम्म निर्यात गरिरहेको उनले बताए।भारत सरकारको नवरत्न कम्पनीअन्तर्गतको पावर ग्रिड कर्पोरेसन अफ इन्डियासँग हुलास वायर आबद्ध रहेको उनले बताए । हुलास वायरले गरिरहेको निर्यातलाई सरकारले प्रोत्साहन नगरेको उनको गुनासो छ ।  सरकारले गत महिना निर्यातका केही सामग्रीमा नगद अनुदान दिने निर्णय गर्दा वायरका सामग्री नपरेको उनको गुनासो छ।

‘नगद अनुदान हामीलाई पनि दिइनुपर्छ’, कोठारीले भने, ‘सरकारले प्रोत्साहन नगरेकै कारण वायरको निर्यातमा ह्रास आएको हो । कुनै बेला हामी ४ सय करोडको कारोबार गर्दा ३९० करोडको निर्यात गर्थ्यो । तर त्यो अनुपात अहिले घटेको छ ।’सरकारले ५० प्रतिशतभन्दा बढी निर्यात गर्ने उद्योगलाई मात्र कच्चा सामग्रीमा भन्सार महसुलका लागि बैङ्क ग्यारेन्टीको सुविधा दिने भन्ने नियमले लगानीकर्ता निरास भएको उनको टिप्पणी थियो ।

‘निर्यात गर्छु भनेर पैठारी गरिएको कच्चा सामग्रीबाट उत्पादित सामान ११ महिनाभित्र निर्यात नगरे सरकारले भन्सार महसुलमा थप १५ प्रतिशत जरिवाना लिन्छ । सरकारले जरिवाना लिन्छ भने बैङ्क ग्यारेन्टीको सुविधामा पनि ५० प्रतिशतको नियम लगाइनु हुँदैन ।’ कोठारीले भने।कुल उत्पादनको १० प्रतिशतभन्दा बढी उत्पादन गर्ने उद्योगलाई कच्चा सामग्रीमा बैङ्क ग्यारेन्टीको सुविधा दिनुपर्ने उनको जिकिर छ।