BIZMANDU
www.bizmandu.com

विश्वका भिडभाडयुक्त शहरमा ट्राफिक संकट समाधान गर्दैछ केबुलकार, काठमाडौंमा यस्तै संभव छ?

२०७५ पुष २५


विश्वका ठूला शहरहरुमा आवादी बढ्दै जाँदा सडकमा हिँड्न समेत मुश्किल हुने अवस्था सिर्जना भएको छ। यात्रुहरुले घण्टौंसम्म सडकको जाममा बिताउनुपर्छ।

Tata
GBIME
Nepal Life

हाल विश्वका शहरहरुले जामबाट मुक्ति पाउन जोर विजोर प्रणालीजस्ता फर्मुलाहरु पनि अपनाइरहेका छन्। यसैकालागि विश्वका बिभिन्न शहरहरुमा यातायातका साधनका रुपमा केबलकारको प्रचलन बढिरहेको छ।

सन् २००४ मा ल्याटिन अमेरिकी देश कोलम्बियाको मेडेलिन शहरको सबै यातायात सेवा केबलकारमा आधारित भयो। शहरको मेट्रो सेवा सबै केबलकारहरुसँग जोडिएको थियो। त्यसबेलादेखि नै विश्वका धेरै शहरहरुले यातायातकालागि केबलकारलाई प्राथमिकता दिन थालेका हुन्।

कोलम्बियाको दोस्रो ठूलो शहर मेडेलिन लामो समय आपराधिक गतिविधिका कारण बदनाम थियो। शहरभन्दा बाहिर जान तथा त्यहाँका पहाडी इलाकाहरुमा पुग्न कठिन थियो।

सन् २००४ मा केबलकारको ब्यापक प्रयोगपछि यो शहरलाई पहाडी बस्तीहरुसँग जोडियो। मेडेलिनको मेट्रो केबल सिस्टमले विश्वमै आफ्नो अनौठो यातायात ब्यबस्था लागू गर्यो जसबाट मेडेलिनमा हुने गरेको अपराध समेत घट्यो।

नयाँ शहरको परिकल्पना गर्नेहरुका लागि केबलकार सस्तो यातायातको साधन हो जुन पहाड तथा नदीहरुको बाधा अवरोध पार गर्न सजिलो हुन्छ। मेडेलिनको मेट्रो केबल अवधारणाको सफलताले नै कैयन् देशहरु उत्साहित भए र यसैमा आधारित यातायात प्रणाली विकास गर्ने क्रम पनि सुरु भएको छ।

रुस तथा अमेरिकामा केबलकार ट्रान्सपोर्ट सिस्टम विकास गरिरहेका छन्। पहिले रमाइलो र पर्यटकीय प्रयोजनले मात्र प्रयोग हुने केबलकार यातायातका साधनकै रुपमा प्रयोग हुन थालेको छ। यसले ब्यस्त शहरहरुमा सेवा दिने मात्र नभइ दूरदराजका कठिन पहाडी भेगलाई समेत शहरसँग जोड्ने काम गर्दछ।

बातावरणीय दृष्टिकोणले पनि केबलकार अन्य यातायातका साधनभन्दा राम्रो छ। यसमा लगानी पनि अरुको तुलनामा कम हुन्छ। यसबाट बायू प्रदूषण हुँदैन। यसबाट ध्वनी प्रदुषण पनि हुँदैन। नयाँ रेलवे लाइन, सडक वा पुल बनाउनुको सट्टा केबलकारको प्रणाली विकास गर्न सस्तो पनि पर्छ। 

केबलकारले पहाडी भेगका दूर्गम बस्तीहरुलाई मुख्य शहरसँग जोड्न सहयोग पुर्याउँछ। मेट्रो वा रेलवे लाइनको खर्च धान्न नसक्ने शहरहरुकालागि पनि केबलकार राम्रो बिकल्प हो।

विश्व बैंकको एक अध्ययनका अनुसार केबलकारबाट तय गरिने दूरी विश्वमै औसत २.७ किलोमीटर छ। यस्तो लाइनहरुमा ८ सय मीटरको दूरीमा स्टेशन हुन्छ।

यसको औसत स्पिड १० देखि २० किलोमीटर प्रतिघण्टा हुन्छ। हरेक घण्टा केवलकारको माध्यमबाट करिब २ हजार मानिसलाई एक ठाउँबाट अन्यत्र लैजान सकिन्छ।

हरेक दिन एउटा केबल कार सिस्टमबाट २० हजारभन्दा बढी मानिसले यात्रा गर्न सक्छन्। बोलिभियाको राजधानी ला पाजमा केबलकारहरुले २४ घण्टामा ६५ हजार मानिसलाई गन्तब्यमा पुर्याउने गर्छ।

शहहरुमा केबलकारहरु ठूला खम्बामा बाँधिएको तारबाट कुदाइन्छ। यसबाट दृश्य हेर्दै यात्रा गर्नुको बेग्लै रोमाञ्चकता पनि छ। एउटै खम्बामा आउने र जाने केबलकारहरु राखेर कुदाउन सकिन्छ। स्टेशन पुगेपछि केबलकारबाट मानिसहरु चढ्ने र उत्रने गर्छन् ।  

तर सबैजसो केबलकार सिस्टम सफल भएका पनि छैनन्। ब्राजिलको रियो डि जेनेरियो शहरमा राखिएको केबलकार सिस्टमको स्थानीयहरुबाटै ठूलो बिरोध भयो।

सरकारले  गरिबहरुलाई मुलधारमा ल्याउनकालागि बिछ्याएको केबलकार भनेर बचाउ गरेपनि स्थानीय बासिन्दाले केबल कार स्थापना गर्द भएको ५ करोड ४० लाख डलरले शहरको सफाइ र स्वास्थ्यमा ठूलो काम गर्थ्यो भन्दै बिरोध गरेका थिए।

दक्षिण कोरियाको यियोसु केबलकारमा भने मुटु कमजोर हुनेहरुलाई बस्न निषेध गरिएको छ। यस केबलकारको भुँइ शिसाको बनाइएको छ जसबाट जमीनतिर खुला देखिन्छ।

उचाईबाट तल हेर्दा कहाली लाग्न सक्ने भएकोले यस केबलकारमा बस्नुभन्दा पहिल्यै कमजोर मुटुहुनेहरुलाई यात्रा नगर्न सूचित गरिएको हुन्छ। तर यो यात्रामा रोमाञ्चित हुनेहरुको संख्या पनि कम छैन।

मेडेलिन वा ला पाज जस्ता शहरहरुमा यस्ता यातायातका साधनहरु सबैको आकर्षण बनेको छ। विश्वका सबैभन्दा ठूलो केबलकार सिस्टम बोलिभियाको राजधानी ला पाजमा छ जुन १६ किलोमीटर लामो छ।

यसमा २५ वटा स्टेशन छन्। यसको सफलतालाई हेर्दै सरकारले अन्य चार लाइन केबलकार पनि सन् २०१९ को अन्त्यसम्ममा निर्माण गर्ने बताएको छ।

यस्तै सन् २०१६ मा बनेको भियतनामको हा लाङ बे केबलकार पनि निकै लोकप्रिय भएको छ। यो केबुलकार  समुन्द्री किनार हुँदै बिशेष चट्टानी पहाडमाथिबाट कुद्ने गर्छ। यो क्षेत्रलाई यूनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ। केबलकारमा बसेर हा लाङको सुन्दर दृश्य हेर्नुको अनुभूति वर्णन गरिसाध्य हुन्न।

यहाँको 'क्वीन कार' केबलले सबैभन्दा धेरै यात्रु बोक्ने केबलकारको रुपमा विश्व रेकर्ड पनि बनाइसकेको छ। यो केबलकार दुई तले छ र यसले एक पटकमा २ सय ३० मानिसलाई यात्रा गराउन सक्छ।

यो केबलकारको सफलताबाट उत्साहित तास्मानिया, गोथेनवर्ग, जेरुसेलम, सिकागो तथा मोम्बासामा पनि द्रुत रुपमा केबलकार सिस्टम बिकास भैरहेको छ।