BIZMANDU
www.bizmandu.com

नयाँ हेली लेनमा उडान परिक्षणपछि आउँदो साताबाट स्वीकृति दिइँदै, आकस्मिक अवतरणलाई खोला


नयाँ हेली लेनमा उडान परिक्षणपछि आउँदो साताबाट स्वीकृति दिइँदै, आकस्मिक अवतरणलाई खोला
नयाँ हेली लेनमा उडान परिक्षणपछि आउँदो साताबाट स्वीकृति दिइँदै, आकस्मिक अवतरणलाई खोला

काठमाडौं। करिव तीन महिना अगाडि गरिएको नयाँ हेलिकप्टर रुटको परीक्षण उडान सफल भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आउँदो साताबाट औपचारिक उडान अनुमति दिने भएको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणअन्तर्गत रहेको हवाई सेवा सुरक्षा विभाग र हेलकोप्टर कम्पनीहरुको छाता संगठनले संयुक्त रुपमा तयार पारेको प्रतिबेदन अनुसार नयाँ रुटमा उडान अनुमति दिन लागेको हो। प्रतिबेदन प्राधिकरणका महानिर्देशकले बुधबार नै बुझिसकेका छन्।

'हेलि लेनको रिपोर्ट आइसकेको छ। एयर ट्राफिक म्यानेजमेन्टलाई रिपोर्ट अध्ययनका लागि पठाइसकेका छौँ। उताबाट आएको प्रतिक्रिया अनुसार इजाजत दिइनेछ' प्राधिकरण स्रोतले भन्यो।

१२ वटा हेलिलेनको अध्ययन गरेपछि त्यसमा परीक्षण उडान गरिएको थियो। प्राधिकरणका अनुसार, एउटा गन्तब्यका लागि चार वटा लेन बनाइएको छ। 

यस्तो छ नयाँ हेलिलेन

'फिक्स्ड विङ उडान अवतरणलाई असर नगर्ने उद्धेश्यले सिमित उचाई निर्धारण गर्नका लागि हामीले सबै रुटमा परिक्षण उडान गरिसकेका छौँ' प्राधिकरणका एक अधिकारीले भने।
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोलमा कम्युनिकेशन 'जाम' न्यून गर्ने उद्देश्यले नयाँ हेलिलेन संचालनमा ल्याउन लागिएको प्राधिकरणले जनाको छ।  

संचालनमा ल्याउन लागिएको नयाँ हेलि लेन अन्तर्गत शिक्षण अस्पताल, राष्ट्रपति भवन, सेना प्रहरीको मुख्यालय लगायतका संवेदनशील क्षेत्रमा प्रभाव नपर्ने किसिमले रुट निर्धारण गरिएको प्राधिकरणले जानकारी दिएको छ। 

हेलिकोप्टर सोसाइटी नेपालका महासचिव योगराज कँडेलका अनुसार नयाँ लेनले नदी नाला पछ्याएको छ। जहाजमा प्राविधीक समस्या आउँदा चालकले दुर्घटनाबाट जोगिन खोलामा अवतरण गर्न सकोस् भन्ने उद्देश्यले नयाँ लेनमा खोला पछ्याइएको हो। 

'यो रुटबाट हेलिकोप्टर उडाउँदा केहि गरी रुट बाहिर जानुपर्ने स्थिति सिर्जना भयो भने मात्र पाइलटले टावरमा कम्युनिकेशन गरे हुन्छ। पाइलटहरुलाई फ्रेजिओलोजीमा बोल्न निर्देशन दिइएको छ। कन्ट्रोल टावरमा अनावश्यक कम्युनिकेशन बन्द गरियो भने पनि फिक्स विङले समयमै उडान अवतरण गर्न पाउनेछन्' कँडेलले भने।

नयाँ लेन संचालनमा ल्याइएपछि चलकले एटिसीमा २५ नटिकल माइलबाट काठमाडौं छिर्दा दुई पटक मात्र रिपोर्ट गरे पुग्नेछ। यसअघि  प्रत्येक १० नटिकल माइलमा कन्ट्रोल टावरमा रिपोर्ट गर्नु पर्दथियो। 

प्राधिकरणका अनुसार हेलिकोप्टर होल्डीङका लागि मुलपानी र चावहिलको खाली क्षेत्रमा पाँच हजार फिटभन्दा माथि होल्डिङ गर्न नपाइने ब्यवस्था मिलाइएको छ। हेलिकोप्टर होल्डिङमा राख्नुपर्ने अवस्थामा चावहील पुलमाथि पश्चिमतर्फ पाँच हजार फिटभन्दा माथि नउडाइ होल्डमा बस्नुपर्ने व्यवस्था गरिएको छ। यसैगरि हेलिकोप्टर होल्डिङ्सका लागि पुर्वतर्फ  ८० नट्सभन्दा कम स्पिडमा पाँच हजार फीटमा होल्डमा बस्नुपर्ने व्यस्था मिलाइएको छ।

चालकले उपत्यकाभित्र आउँदा र बाहिर जाँदा पाँच नटिकल माइलसम्म पाँच हजार फिटको उचाइमा उडान गर्नुपर्ने छ। नयाँ लेनमा समावेश गरिएको नियम अनुसार उपत्यका बाहिर दक्षिण दिशा बाहेक २५ नटिकल माइलसम्म छ हजार पाँच सय उचाईमा उडान गर्न सकिनेछ।  

प्राधिकरणले १२ रुटमा हेलिकोप्टर सहजै उडान गर्नका लागि मुलुकभरको ४४ स्थानको देशान्तर, उचाई र अक्षांस समावेश गरिदिएको बताएको छ। स्वदेशी तथा विदेशी पाइलटले नोटबुकमा समावेश गरिएको ४४ स्थानको 'कोर्डिनेट्स' कै भरमा उडान गर्न सक्ने कँडेलले जानकारी दिए।

अहिले दैनिक तीन सय उडान हुँदै आएको छ।