BIZMANDU
www.bizmandu.com

काठमाडौंमा थपियो अर्को फोरस्टार होटल, डेढ अर्ब लगानीमा क्राउन इम्पेरियल संचालनमा

२०७५ माघ २९

काठमाडौंमा थपियो अर्को फोरस्टार होटल, डेढ अर्ब लगानीमा क्राउन इम्पेरियल संचालनमा
काठमाडौंमा थपियो अर्को फोरस्टार होटल, डेढ अर्ब लगानीमा क्राउन इम्पेरियल संचालनमा


काठमाडौं । घरजग्गा व्यवसायमा संलग्न अर्किड होल्डिङस् प्रालिले रवि भवनमा चार तारे होटल 'क्राउन इम्पेरियल' संचालनमा ल्याएको  छ।

Tata
GBIME
Nepal Life

पर्यटन व्यवसायमा तीन दशकभन्दा बढी समयदेखि संलग्न व्यवसायी र पेशाकर्मीको संलग्नतामा यो डिलक्स होटल संचालनमा ल्याइएको हो । विदेशी पर्यटकलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा तारे होटल थपिने क्रम बढेसँगै पाँच रोपनी क्षेत्रफलमा फैलिएको १५ तल्ले यो होटलमा १० वटा सुइट रुम सहित कुल १३० कोठा छन् ।

रेष्टुरेन्ट, बार, पौडी पोखरी, व्यायामशाला, स्पासहितको सुविधा उपलब्ध रहेको यो होटलको ब्यांक्वेट हल(सभा सम्मेलन गर्न प्रयोग हुने गृह)मा ४५० जना अटाउँछन् । साथै होटलमा २०/२० जना क्षमताको २ वटा र ४०/४० क्षमताको २ वटा सहित कुल ४ वटा बैठक कक्ष निर्माण गरिएको छ । 'विशेषगरी विदेशी पर्यटकलाई लक्षित गरेर नै हामीले पूर्वाधार निर्माणमा लगानी गरेका छौँ, 'होटलका महाप्रबन्धक भरत जोशीले भने, त्यसबाहेक स्वदेशी कर्पोरेट ग्राहक पनि हाम्रो संभावित ग्राहक हुन् ।' होटल व्यवस्थापनले व्यवसाय प्रवर्द्धनको लागी प्रत्यक्ष प्रवर्द्धनसँगै इन्टरनेटको माध्यमबाट वेवसाइट र सामाजिक सञ्जाल समेत परस्पर प्रयोग गर्ने रणनीति बनाएको छ।

गत महिनादेखि आंशिक रुपमा संचालनमा आएको यो होटल आगामी वैशाख ३ गतेदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउने होटल व्यवस्थापनको तयारी छ। प्रारम्भमा कूल १ अर्ब ६० करोड रुपैयाँको लगानीमा होटल संचालनमा ल्याउने योजना भएपनि लगानीको आकार अझै बढ्ने होटल व्यवस्थापनले जानकारी दिएको छ।

परम्परागतरुपमा नेपाल घुम्न आउने भारतीय पर्यटक बाहेक मध्यमवर्गीय भारतीय परिवारमाझ बिहेबारीको लागी समेत नेपालको होटललाई गन्तव्यको रुपमा विकसित गर्न सकिने संभावनाको सदुपयोग गर्नुपर्नेमा जोशीले जोड दिए। ‘उता(भारत)भन्दा सस्तो र धुमधामका साथ यहाँ बिहेबारी संभव छ’, उनले भने, ‘विदेशमा बिहे गरेको भन्ने फिल पनि आउनेछ।‘

 होटलको संचालक समितिको नेतृत्व अर्किड होल्डिङसको तर्फबाट पर्यटन व्यवसायी किरण श्रेष्ठले गरिरहेका छन् । हाउजिङ अपार्टमेन्टलाई होटलमा रुपान्तरण अर्किड होल्डिङस् प्रालिले प्रस्ताव गरेको अर्किड टावरको संरचनालाई प्रयोगमा ल्याएर होटल निर्माण गरिएको हो।

अपार्टमेन्ट धमाधम अन्य प्रयोजनमा
०७२ सालको भूकम्पपछि बहुतल्ले भवनको अपार्टमेन्ट बिक्न छोडेपछि मुख्य शहरी क्षेत्रमा रहेका अपार्टमेन्टलाई अहिले धमाधम होटलमा रुपान्तरण गर्ने कार्य भइरहेको छ।

सुन्धारामा सिभिल हाउजिङले अपार्टमेन्ट नबिकेपछि होटलमा रुपान्तरण गर्न निर्माण कार्य शुरु गरिसकेको छ। सानेपा झम्सिखेलमा आर एण्ड आर समूहले हाउजिङ अपार्टमेन्टको लागी ठडिएको संरचनालाई अहिले ताज भिभान्ता होटलमा रुपान्तरण गरेको छ। धुम्बाराहीस्थित चार तारे 'होटल अकामा' पनि अपार्टमेन्ट नबिकेपछि होटलमा रुपान्तरण गरिएको हो।

अनामनगरस्थित सिल्भर अपार्टमेन्ट छेउको एउटा बहुतल्ले भवनको १४ औं तल्लामा रेष्टुरेन्ट 'ए फ्याफे' संचालन भइरहेको छ। घट्टेकुलोको अपार्टमेन्ट नबिकेपछि वीरगंजको नेशनल मेडिकल कलेजले अस्पताल संचालनको लागी खरिद गरेको छ ।