BIZMANDU
www.bizmandu.com

विश्व आर्थिक मन्दीको अवस्थातर्फ उन्मुख, ‘कतिबेला टर्निङ पोइन्ट आउँछ थाहा हुन्न’

२०७५ माघ २९

विश्व आर्थिक मन्दीको अवस्थातर्फ उन्मुख, ‘कतिबेला टर्निङ पोइन्ट आउँछ थाहा हुन्न’
विश्व आर्थिक मन्दीको अवस्थातर्फ उन्मुख, ‘कतिबेला टर्निङ पोइन्ट आउँछ थाहा हुन्न’


विश्व अर्थतन्त्र बिस्तारै मन्दीतर्फ उन्मुख हुँदै गएको तर्फ अर्थविद्हरुले सचेत बनाएका छन् । सन् २०१८ सकिदै गर्दा चिनियाँ अर्थतन्त्र कमजोर हुँदै गएको संकेत मिलिसकेको थियो। हाल यो अझै गहिरिँदै गएको र वृद्धिदर कमजोर हुँदै गएको अर्थविदहरुको विश्लेषण छ।

Tata
GBIME
Nepal Life

ब्यापार तनावका कारण चीनको अर्थतन्त्र कमजोर देखिएको छ। सन् २०१८ को अन्त्यमा चिनियाँ शेयर बजार २८ प्रतिशतले ओरालो लागेको थियो। अमेरिकासँगको व्यापार युद्धका कारण चीनका टेक जायन्टहरुले घाटा ब्योहोरिरहेका छन्। अमेरिकासँगको ब्यापार युद्धका कारण नै चिनियाँ अर्थतन्त्रमा सुस्तता देखिएको बिश्लेषकहरुको भनाई छ। चीनको आर्थिक गतिविधिमा आएको सुस्तताले समग्र विश्व अर्थतन्त्रलाई प्रभाव पारिरहेको पनि अर्थशास्त्रीहरुले भनेका छन्।

विश्व आर्थिक मन्दीसँग चीनको सरोकार किन यति धेरै छ भने सन् २००० मा  विश्व आर्थिक गतिबिधिको ७ प्रतिशत ठाउँ ओगट्दै आएको चीनले सन् २०१८ मा आइपुग्दा १९ प्रतिशत हिस्सा ओगटिसकेको थियो।  बिगत २५ वर्षदेखि चीनको तीब्र आर्थिक बृद्धिका कारण यो विश्वको ठूलो अर्थतन्त्र भएको देश मध्ये एक हो।  चिनियाँ अर्थतन्त्र यति ठूलो छ कि यसले ठूलो परिमाणमा वस्तु तथा उत्पादनको 'ग्लोबल प्राइस' निर्धारण गर्छ। यसैगरी चिनियाँ उद्योगहरु अन्तराष्ट्रिय सप्लाइ चेनसँग गहिरो ढंगले अन्तरनिहीत छन्।

विश्वको आधा स्टील, तामा, कोइला तथा सिमेन्ट चीन निर्यात हुने गरेको छ भने विश्वकै आधा सुंगुर र एकतिहाइ चामल पनि चीन जान्छ। यदि चीनले यी वस्तुहरु किनेन भने  ती उत्पादनको  मूल्य निश्चित रुपमा झर्छ नै। त्यसैले पनि विश्व अर्थतन्त्रमा चीनको आर्थिक गतिबिध एकदमै गहन र महत्वपूर्ण कडी हो। विस्तारै चीनको आर्थिक गतिबिधि सुस्त देखिनु विश्व अर्थतन्त्रकै लागि जोखिमपूर्ण भएको अर्थविद्हरुको भनाई छ।

चीनसँग तनावपूर्ण ब्यापारिक कारोबार अघि बढाइरहेको अमेरिकाको अर्थतन्त्र पनि सुधारको अवस्थामा छैन। सन् २०१८ को अन्त्यमा अमेरिकाको शेयर बजारमा पनि गिरावट आयो। हालसम्म सार्वजनिक तथ्यांकहरुले अझै पनि अमेरिकी अर्थतन्त्रलाई मन्दीको अवस्थामा पुगेको भन्न नसकेपनि  बजारमा अनिश्चितता भने देखिइसकेको छ।

सन् २००९/२०१० पछि पहिलो पटक अमेरिकामा अटो र हाउजिङ क्षेत्रको बिक्री घटेको छ। मुद्रास्फितीको प्रेसरले अर्थतन्त्रलाई तल तानेको देखिन्छ। अमेरिकी उपभोक्तामा आशावादिता घट्दै गएको छ। उनीहरुले अमेरिकाको राजनीतिक र आर्थिक परिदृश्य अनिश्चित देखिरहेका छन्।

अमेरिकामा सन् २०१९ लाई आर्थिक विश्लेषकहरुले 'ब्लेम गेम'को वर्ष भनेका छन्। अमेरिकाको अर्थतन्त्र मन्द देखिनुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल रिजर्भलाई दोष दिइरहेका छन् भने अन्यले ट्रम्पकै गत वर्षको ट्याक्स रिफर्म प्रोग्रामलाई। फेडले परिमाणात्मक उपायहरु अपनाउँदा 'धेरै एग्रेसिभ' भएको ट्रम्पको आरोप छ। मौद्रिक नीतिमा भएको कमजोरीले नै अमेरिकाको आर्थिक प्रदर्शन नकारात्मक देखिएको ट्रम्प र उनको सल्लाहकार समूहले आरोप लगाएका छन्। तर नकारात्मक आर्थिक प्रदर्शन कहिले सुधार हुन्छ भन्नबारे भने ट्रम्पकै 'इकोनोमिक एक्टर'हरुले पनि भेउ पाउन सकेका छैनन्। 

यसैगरी अमेरिकाको ब्यापारिक साझेदार देशहरुको पनि अर्थतन्त्र पनि सकारत्मक देखिएको छैन। यस्तो अवस्थामा अमेरिकाजस्तो ठूलो अर्थतन्त्रले बाह्य अर्थतन्त्रको सहयोगबाट आफ्नो अर्थतन्त्रको तीब्र वृद्धि गर्न पनि सक्दैन। त्यसबाहेक अमेरिकाको कारोबार जोडिएका अन्य देशहरु क्यानडा, मेक्सिको, चिले, ब्राजिलका आर्थिक गतिविधीहरु पनि न्यून नै छन्।

यी मध्ये चिलेको बजार राम्रो भएपनि त्यो एकदम सानो छ र यसबाट अमेरिकाको १ प्रतिशतभन्दा कम मात्र उत्पादन निर्यात हुन्छ। यूरोपेली बजारपनि मन्दी उन्मुख छ।  मेक्सिकोको अर्थतन्त्र अमेरिकाको भन्दा पनि धरासायी छ। मेक्सिको गम्भीर राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ भने चीन र मध्यपूर्वको तनाव त अमेरिकालाई छँदैछ।

केही दिन अघि मात्रै इटालीले आर्थिक मन्दीको आधिकारिक घोषणा गर्यो।  जर्मनी र फ्रान्सपनि त्यसबाट प्रभावित हुँदै गएको विज्ञहरुले बताएका छन्। यूरोपको हालको अवस्थालाई आर्थिक चक्रको 'फल फेज' भनिएको छ। यो चरणमा यूरोपका अधिकांश देशहरुको आर्थिक तथ्यांकहरु सुस्त अवस्थामा छन् र यसको विशेषता बाहिर देखिन थप २,४ महिना लाग्ने बिज्ञहरुको अध्ययनले देखाएको छ। गत हप्तामात्रै इटाली र नेदरल्याण्डको औद्योगिक उत्पादनको वृद्धिदर ओरालो लागेको तथ्यांक पनि सार्वजनिक भएको छ।

यस्तैमा नोबेल पुरस्कार बिजेता अर्थविद् पौल क्रुगम्यानले सन् २०१९ मै विश्वमा आर्थिक मन्दीको अवस्था आउने बताएका छन्। उनले यसकालागि आर्थिक नीति निर्माताहरुले पर्याप्त तयारी नगरेको तर्फ पनि सचेत गराएका छन्। धेरै जसो अर्थशास्त्रीहरुकासाथै विश्वका एलिट ग्रुपले पनि आर्थिक वृद्धि सुस्त हुँदै गएको भन्दै गएपनि आर्थिक नीति निर्माताहरुले अहिलेसम्म पनि आशापूर्ण अवस्थाको चित्रण गरिरहेकोप्रति पौलले चिन्ता ब्यक्त समेत गरेका छन् ।

दुबईमा हालै सम्पन्न वर्ल्ड गभरमेन्ट समिटमा विश्व अर्थतन्त्रको डाउनफल सुरु भएको आशंका ब्यक्त गर्दै पौलले भने-  'आर्थिक वृद्धि सुस्त छ तर पनि नीति निर्माताहरुले यसको 'सफ्ट ल्याण्डिङ' हुने भन्दै आशा देखाइरहेका छन्। तर यसमा मलाई सन्देह छ।'

लगानीकर्ताहरुले आउँदा दिनमा मन्दीको सामना गर्नुपर्ने अवस्था आउने नआउनेबारे गरिएको प्रश्नमा क्रुगम्यानले यसै वर्षको अन्त्य वा आगामी वर्षको सुरुवातमै विश्वमा आर्थिक मन्दीको  लक्षण देखिने बताए।

क्रुगम्यानका अनुसार कुनै एउटा ठूलो घटना वा कारणले ह्वात्तै आर्थिक मन्दी देखिने नभइ विविध आर्थिक पक्षहरुमा आउने सुस्तताले मन्दीलाई बढाउँदै लैजानेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 'कर कटौती'प्रति लक्षित गर्दै उनले त्यसलाई खासै प्रभावकारी कार्यक्रम नभएको समेत बताए।

क्रुगम्यानका अनुसार 'टेक-ग्रोथ'मा बबल जस्तो देखिन थाल्यो भने अनुमान गर्नु त्यो अर्थतन्त्र तल झर्न थाल्ने संकेत हुनसक्छ।
तर विश्वका आर्थिक  नीति निर्माताहरुले हालसम्म पनि यसको लागि कुनै पनि पूर्व तयारी नगर्नु प्राथमिक चिन्ताको विषय भएको उनले बताए।

उनले भने- 'मन्दी आएमा कसरी त्यसलाई प्रभावकारी सम्बोधन गर्ने भन्ने बारेमा कुनै संयन्त्र परिचालनको पूर्व तयारी छैन। मन्दीको अवस्था सुरु हुन थालेपछि के होला!' उनले यूरो जोन मन्दीको नजिक पुगेको समेत दावी गरे।

केही समय अघि मात्रै यूरोपेली कमिसनले आर्थिक बृद्धिदर प्रक्षेपण परिमार्जन गर्दै यूरोजोनको आर्थिक वृद्दिदर प्रक्षेपण तीब्र रुपमा घटाएको थियो। कमिसनले सन् २०१८ मा १.९ प्रतिशत रहेको आर्थिक बृद्धि सन् २०१९ मा १.३ प्रतिशत हुने र सन् २०२० कालागि १.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

गत नोभेम्बरमा भने कमिसनले  यस वर्षको लागि १.९ प्रतिशत र सन् २०२० कलागि १.९ प्रतिशत को प्रक्षेपण गरेको थियो।

कमिसनले यसकालागि विश्वभर देखिएको ब्यापार द्वन्द्व र चीनको आर्थिक गतिबिधिमा देखिएको मन्दीलाई नै दोष देखाएको थियो। यूरोपमा आर्थिक मन्दीको सुरुवात भएको आशंका गर्दै क्रुगम्यानले भनेका छन्-  'कहाँ कतिबेला टर्निङ पोइन्ट आउँछन् भन्ने कसैलाई पत्तो हुन्न।' (एजेन्सीहरुको सहयोगमा)