BIZMANDU
www.bizmandu.com

मृत्युदर तालिका परिमार्जन गर्दै बीमा समिति, बीमाशुल्क सस्तिने, तथ्यांक उपलब्ध गराउन निर्देशन

२०७५ फागुन २८

मृत्युदर तालिका परिमार्जन गर्दै बीमा समिति, बीमाशुल्क सस्तिने, तथ्यांक उपलब्ध गराउन निर्देशन
मृत्युदर तालिका परिमार्जन गर्दै बीमा समिति, बीमाशुल्क सस्तिने, तथ्यांक उपलब्ध गराउन निर्देशन

काठमाडौं। बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमितको मृत्युदर तालिका अध्यावधिक गर्ने भएको छ। बीमा समितिले २०६६ सालमा पहिलो पटक जारी गरिएको 'बीमितको मृत्यु दर तालिका' लाई अध्यावधिक गर्न आवश्यक गृहकार्य समेत सुरु गरिसकेको छ। 

Tata
GBIME
Nepal Life

समितिले एक दशक पूराना जीवन बीमा कम्पनीहरुसँग मृत्यु दर तालिका परिमार्जनको लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिएको छ। 

समितिले सन् २००९ यता प्रत्येक महिना गरिएको मृत्यु दाबी भूक्तानी अन्तर्गत बीमितको मृत्यु उमेर, लिङ्ग, मृत्युको कारण, बीमाको किसिमलगायतका जानकारी जीवन बीमा कम्पनीसँग माग गरेको छ । बीमा समितिले पहिलो पटक 'नेपाली बीमितको मृत्यु दर तालिका २०६६' सार्वजनिक गर्नुपूर्व नेपाली जीवन बीमा कम्पनीहरुले भारत वा अन्य मुलुकको मृत्युदर तालिका प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो। 

बीमितको मृत्युदर तालिकाको आधारमा कुनै निश्चित उमेरमा बीमितको मृत्यु हुने संभावना आंकलन गरिन्छ। पुनर्बीमा कम्पनी, बीमक वा बिमांकीले बीमाशुल्क दर निर्धारणको लागि बीमितको मृत्युदर तालिकालाई समेत मुख्य आधारको रुपमा प्रयोग गर्छन्। मृत्यु दर तालिकामा जन्मेदेखि ९९ वर्षको उमेर सम्म प्रत्येक उमेर वर्षको बीमितको मृत्यु हुने संभावनालाई समेटिएको हुन्छ। 

मृत्यु दर तालिकामा कुनै निश्चित उमेरको प्रति हजार जना बीमितमध्ये मृत्यु हुनेको संभावित संख्यालाई आंकलन गरिएको हुन्छ। मानिसको उमेर बढ्दै जाँदा प्राकृतिक कारण, रोग वा दुर्घटना, पेशागत जोखिमको कारण मृत्युको जोखिम समेत बढ्दै जान्छ। उमेरसँगै जोखिम बढ्दै जाने भएकोले स्वास्थ्य बीमा वा जीवन बीमा गराउँदा उमेरको आधारमा जीवन बीमाशुल्क पनि बढ्दै जान्छ।

 मृत्यु दरलाई बीमितको उमेर, लिङ्ग, भूगोल, पेशागत पृष्ठभूमी, शैक्षिक योग्यता, समुदाय विशेषको वंशानुगत स्वास्थ्यस्थिति, मद्यपान, धुम्रपानको लत, शारीरिक वजनलगायतको आधारमा वर्गीकरण गरिएको हुन्छ। सामान्य सेवा वा व्यवसायमा संलग्न बीमितको तुलनामा हवाई उडान गर्ने पायलट सुरक्षाकर्मी, युद्धमा खटिने सैनिकलगायतको जोखिम पूर्ण पेशामा संलग्न बीमितको मृत्युको संभावना उच्च हुन्छ। मृत्यु दर ‌‌‌‌‌‌‌‌‌‌‌‌‌तालिकाले मृत्यु दरबाहेक कुनै निश्चित उमेरको व्यक्तिको बाँकी आयुलाई समेत प्रक्षेपण गर्न मद्दत पुर्याउँछ।

 औसत आयु वृद्धि, बीमा शुल्क अझै घट्ने संभावना केन्द्रीय तथ्यांक विभागले २०६८ सालमा सार्वजनिक गरेको जनसंख्या प्रतिवेदनका अनुसार नेपालीको औसत आयु ६७ वर्ष रहेको छ। राष्ट्रिय योजना आयोगले अहिले औसत आयु ७० पुरा भइसकेको दाबी सहित ०७७ साल‌सम्ममा औसत आयु ७३ पुर्याउने लक्ष्य समेत सार्वजनिक गरेको छ।

 संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सन् २०१८ को अन्त्यतिर सार्वजनिक गरेको मानव विकास सूचकांकमा नेपालीको औसत आयु ७० वर्ष ६ महिना रहेको छ।  औसत आयुमा भएको वृद्धि र सरुवा रोगको नियन्त्रणमा प्राप्त उपलब्धिको कारण मृत्यु दर तालिकामा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ । आयु लम्बिंदा मृत्यु दर घट्ने भएकोले बीमितले अहिलेको तुलनामा अझै सस्तो शुल्कमा बीमा योजना खरिद गर्न पाउने छन्।