काठमाडौं। सामान्यतया अहिले जग्गा किनबेच गर्नुपर्यो भने कम्तिमा एउटा पुरै दिन छुट्ट्याउनु पर्छ। मालपोतका कर्मचारीलाई खुशी बनाउन नसक्नेको त ३/४ दिनसम्म पनि जग्गा पास हुँदैन।
सबै मालपोत कार्यालयमा भिड उस्तै हुन्छ। कहाँ जाने? के गर्ने? भनेर कुनै कर्मचारीलाई सोध्यो भने जवाफै पाईँदैन। प्रश्न सोध्ने, गुनासा सुनाउने छुट्टै डेस्क पनि हुँदैन। अनि जग्गा किनबेच गर्दा सुरुमै मालपोत कार्यालय बाहिर बसेका लेखापढी व्यावसायीलाई हारगुहार गर्नुपर्छ।
मालपोत कार्यालय कलङ्कीबाट भने अब ३० मिनेटमै जग्गा किनबेच गर्न सकिने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मामकुमारी अर्यालले मालपोत कार्यालय कलङ्कीलाई देशकै नमुना मालपोत कार्यालयका रुपान्तरित गरेको भन्दै जग्गा किनबेचदेखि मालपोत कार्यालयमा हुने सबै काम ३० मिनेटमै पुरा हुने दावी गरेकी छन्।
यस्तो हुनेछ स्मार्ट मालपोत
ओपन अफिस सिस्टममा काम गर्ने भएकाले कर्मचारीले काम गरे/नगरेको, आफ्नो फाइल अगाडि बढे/नबढेको सबै कुरा आफ्नै आँखा अगाडि हुनेछन्। कम्प्युटरमा कसको काम भइरहेको छ भन्ने कुरा बाहिर बसेका सेवाग्राहीले देख्न सक्नेछन्।
त्यसको लागि दुई वटा मनिटर सिस्टम भएका कम्प्युटरको व्यवस्था गरिएको हुनेछ। कार्यालयमा सिसिटिभि जडान गरि मन्त्रालयबाटै अनुगमन गरिनेछ। टोकन प्रणालीलाई थप व्यवस्थित गरिएको हुनेछ। कसैले अरुको पालो मिचेर अगाडि काम गर्न सक्ने छैनन्।
सेवाग्राहीलाई प्रतिक्षालयको व्यवस्था गरिएको हुनेछ। प्रतिक्षालयमा टिभी जडान गरिने छ। टिभीमा सेवा कसरी लिने भन्ने विषयमा अडियो भिडियो सामाग्री प्रशारण गरिनेछ। सेवाग्राहीलाई तातो चिसो पानीको पनि वव्यवस्था हुनेछ। महिला, पुरुष र अपाङ्गमैत्री छुट्टाछुट्टै शौचालय हुनेछन्। कार्यालयमा एउटा स्तनपान कक्ष पनि बनाइनेछ।
सेवाग्राहीले मालपोत कार्यालयमा एक रुपैयाँ पनि बोक्नुपर्ने छैन। सबै काम क्यासलेस बनाइने छ। सरलिकृत फारम डाउनलोड गरि खाली ठाउँ भरेर लिखत पास गर्न सकिनेछ। घरमै बसिबसी आफ्नो जग्गाको विवरण हेर्न सकिनेछ। त्यसको लागि युजरनेम र पासवर्ड एक पटक लिनुपर्ने छ।
लेखापढीको भूमिका परिवर्तन हुने
अव लेखापढी व्यावसायीको भूमिका पनि परिवर्तन हुनेछ। जसरी अहिले पासपोर्ट बनाउँदा सबै काम बाहिर सकेर भित्र भेरिफाइ गरिन्छ, त्यसैगरी जग्गा किनबेच गर्दा पनि मालपोत कार्यालयबाट भूसेवा केन्द्र सञ्चालनको अनुमति लिएका लेखापढी व्यावसायी वा अन्य कुनैपनि व्यावसायीले जग्गा किनबेचको सम्पूर्ण विवरण तयार पारि सोझै मालपोत कार्यालयमा सबमिट गर्न सक्नेछन्।
सेवाग्राहीले सबमिट गरिएको नम्बर लिएर मालपोत कार्यालयमा गएर भेरिफाइ गरेपछि छिटोछरितो जग्गा किनबेच हुनेछ।
मन्त्री अर्यालले सेवा सुधारको लागि मालपोत कार्यालयलाई स्मार्ट बनाउने परिकल्पना गरिएको भन्दै यसै आर्थिक बर्षभित्र उपत्यकाका सबै मालपोत कार्यालयलाई स्मार्ट मालपोत कार्यालयमा रुपान्तरण गर्ने दावी गरेकी छन्।
अर्को आर्थिक वर्षभित्र देशैभरका सबै मालपोत तथा नापी कार्यालयलाई स्मार्ट कार्यालयमा रुपान्तरित गर्ने र विश्वमा सहज रुपमा जग्गा किनबेच हुने देशमा नेपाललाई टप टेनभित्र पार्ने दावी गरेकी छन्। अहिले विश्व बैंकको एक रिपोर्ट अनुसार नेपाल झन्जटिलो घरजग्गा किनबेच प्रक्रिया भएको मुलुकमा ८०औं स्थानमा छ।