BIZMANDU
www.bizmandu.com

सुदूरपश्चिममा ग्रामीण भेगका ८३ प्रतिशत नागरिक वित्तीय पहुँच बाहिर, सबैभन्दा पुछारमा बझाङ

२०७६ बैशाख ६


कैलाली। राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कले राष्ट्रिय स्तरको वित्तीय पहुँचमा सुदूरपश्चिम प्रदेशलाई तेस्रो स्थानमा देखाएको छ । कर्णाली प्रदेश र दुई नम्बर प्रदेश पछि वित्तीय पहुँचमा सुदूरपश्चिम प्रदेश अघि छ ।

Tata
GBIME
Nepal Life

तर प्रदेशको ग्रामीण भेगमा भने वित्तीय पहुँचको अवस्था न्यून देखिएको छ। सहरी क्षेत्रका स्थानीय तहमा अधिकांश नागरिकहरु वित्तीय पहुँचमा पुगेका छन्। ग्रामीण भेगमा भने १७ प्रतिशत नागरिक वित्तीय पहुँचमा पुगेको राष्ट्र बैङ्क धनगढी शाखाका निर्देशक निश्चल अधिकारीले बताए।
उनका अनुसार प्रदेशमा वित्तीय पहुँचमा महिलाको सङ्ख्या पनि न्यून देखिएको छ। प्रदेशमा १७ प्रतिशत महिला मात्रै वित्तीय पहुँचमा पुगेको उनले बताए । पुरुष भने ४७ प्रतिशतको हाराहारीमा छन् ।

प्रदेशमा कञ्चनपुर वित्तीय पहुँचमा अघि छ भने पुछारमा बझाङ छ । कैलाली र डडेलधुरा दोस्रोमा छन् । सरकारले नागरिकहरूको वित्तीय पहुँच वृद्धिका लागि थुप्रै कार्यक्रमहरू यस अघि पनि ल्याएको थियो । तर ती कार्यक्रमहरू सुदूरपश्चिमको हकमा खासै प्रभावकारी बन्न सकेनन् । अहिले वित्तीय पहुँच वृद्धिकै लागी भनेर सरकारले एक व्यक्ति एक खाता कार्यक्रम महा अभियानकै रूपमा ल्याएको छ ।

प्रदेशका स्थानीय तहमा कैंकहरुको पहुँच पुगिसकेकाले अब पहिले जस्तो नागरिकहरूलाई वित्तीय पहुँचमा ल्याउन असहज अवस्था भने नरहेको अधिकारीको भनाइ छ । तर नागरिकहरूको वित्तीय साक्षरताले भने यो कार्यक्रमलाई प्रभाव पार्ने देखिन्छ । प्रदेशका नागरिकहरू झन्झट मानेर बैङ्किङ कारोबार नगर्ने परिपाटी अहिले पनि व्याप्त छ ।

बैंकर्स क्लब धनगढीका अध्यक्ष तथा एनआइसी एसिया बैकका क्षेत्रीय प्रबन्धक टेकराज भट्ट पनि पहिले भन्दा अहिले वित्तीय पहुँच पु¥याउन सहज अवस्था बनेको बताउँछन् । सरकारका यस्ता कार्यक्रमलाई प्रत्येक बैङ्कहरूले पनि समर्थन गरेकाले अब प्रदेशमा वित्तीय पहुँचमा सहजता आउने उनको भनाई छ।

बढ्यो कर्जा लगानी र निक्षेप सङ्कलन
नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त ‘क’ वर्गका वाणिज्य बैङ्कहरूले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा पुस मसान्तसम्ममा ७९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यो अवधिमा ६० अर्ब निक्षेप आएको नेपाल राष्ट्र बैङ्क धनगढीले जनाएको छ । पछिल्ला वर्षहरूमा कर्जा लगानी र निक्षेप सङ्कलन बढिरहेको राष्ट्र बैङ्क धनगढीका निर्देशक अधिकारीले बताए ।असार मसान्तमा ५२ अर्ब निक्षेप सङ्कलन भएको सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७३/०७४ मा ४० अर्ब निक्षेप सङ्कलन भएको थियो ।

कर्जा लगानी पनि प्रत्येक वर्ष बढिरहेको राष्ट्र बैङ्क धनगढीले जनाएको छ । असार मसान्तमा ६४ अर्ब कर्जा लगानी भएको सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७३/०७४ मा ५२ अर्ब कर्जा लगानी भएको राष्ट्र बैङ्क धनगढीका निर्देशक अधिकारीले बताए। उनले भने, ‘पछिल्लो समय कर्जा लगानी र निक्षेप सङ्कलन उत्साहजनक रहेको छ ।’सरकारको प्रत्येक स्थानीय तहमा बैङ्क पुर्याउने योजना अनुरूप सुदूरपश्चिमका ८८ मध्य ८२ स्थानीय तहमा बैङ्कहरू पुगेका छन् ।