BIZMANDU
www.bizmandu.com

डिम्याट खातामा थप कडाई, झुटो विवरण पेश गरेर खाता खोल्ने विकृती रोक्न वायोमेट्रिक पनि

२०७६ जेठ १२

डिम्याट खातामा थप कडाई, झुटो विवरण पेश गरेर खाता खोल्ने विकृती रोक्न वायोमेट्रिक पनि
डिम्याट खातामा थप कडाई, झुटो विवरण पेश गरेर खाता खोल्ने विकृती रोक्न वायोमेट्रिक पनि


Tata
GBIME
Nepal Life

काठमाडौँ।गत वर्षको वैशाखमा नेपाल धितोपत्र बोर्डले झुटो विवरण भरेर हितग्राही(डिम्याट)खाता खोलेर कारोबार गरेको भन्दै एक निक्षेप सदस्यलाई ५० हजार रुपैयाँ जरिवाना गर्‍यो।

निक्षेप सदस्यले डिम्याट खाता खोल्नु भन्दा पहिला बोर्ड र केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले तोकेको मापदण्ड अनुसारको शर्तहरू पालना नगरेको भन्दै कारवाही गरिएको थियो।उनी स्वंय उपस्थित नभई खाता खोलेको अनुसन्धानमा पाइएको थियो।

कारबाहीपछि बोर्डले हितग्राही खाता खोल्न थप कडाइ गर्यो।व्यक्ति स्वंय उपस्थित नभई खाता खोलेको पाइए थप कारबाही हुने निर्देशन बोर्डले जारी गर्यो। बोर्डको निर्देशनपछि हितग्राही खाता खोल्न निक्षेप सदस्यहरूले कडाई गरेका छन्।व्यक्ति स्वंय उपस्थित भएपछि मात्रै निक्षेप सदस्यहरूले डिम्याट खाता खोल्न थालेका छन्।

यो कडाइपछि पनि अन्य व्यक्तिको नागरिकता प्रयोग गरी डिम्याट खाता खोलेको उजुरी बोर्डमा पर्यो। उजुरीको छानविनका लागि सिडिएससीलाई पत्राचार गर्यो। यो समस्या रोकिनुको साटो दोहोरिन थालेपछि सिडिएससीले समस्या समाधानको लागि 'सेन्ट्रलाइज केवाइसी'को विकास गरी अन्तिम परीक्षण सुरु गरेको छ।

उसले तयार गरेको 'सेन्ट्रलाइज केवाइसी'लाई हाल दुई निक्षेप सदस्यले प्रयोगमा ल्याएका छन्। उनीहरूले 'सेन्ट्रलाइज केवाइसी' मार्फत केही खाता समेत खोलिसकेको सिडिएससीले जनाएको छ। हाल कृषि विकास बैक र नेपाल डिपी हाउसले 'सेन्ट्रलाइज केवाइसी'लाई प्रयोगमा ल्याएका हुन्। सेन्ट्रल केवाइसीमार्फत अर्काको नाममा डिम्याट खाता खोलेर शेयर किनबेच गर्न कडाई गर्न थालिएको छ। त्यसमा पनि डिजिटल औंठाछाप(वायोमेट्रिक) लिन थालेको छ।

के हो सेन्ट्रलाइज केवाइसी ?  

हितग्राही खाता खोल्न, दोस्रो बजारमा शेयर कारोबार गर्न, बैक खाता खोल्न सर्वसाधारणले केवाइसी(व्यक्तिगत विवरण)भर्नु पर्ने प्रावधान छ।सोही प्रावधान अनुसार सर्वसाधारणले छुट्टा छुट्टै कामका लागि छुट्टाछुट्टै ठाउँमा केवाइसी फारम भर्नुपर्छ।तर सिडिएससीले विकास गरेको 'सेन्ट्रलाइज केवाइसी' प्रचलनमा आएपछि सबै क्षेत्रमा एउटै केवाइसीले काम गर्ने सिडिएससीको दाबी छ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कबादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४’ अनुसार 'सेन्ट्रलाइज केवाइसी' तयार गरिएको छ।निर्देशिकाले तोके अनुसार ग्राहकले परिवारको मुख्य विवरण, पेसागत विवरण, ग्राहकको बसोबास गर्ने स्थानको नक्सा, इन्भेस्टमेन्ट कम्पनीमा संलग्न भए नभएको विवरण सहितको भौतिकमा भएको व्यवस्था अनुसार अभौतिक केवाइसीनै 'सेन्ट्रलाइज केवाइसी' हो।

कस्तो हुन्छ सेन्ट्रलाइज केवाइसी ?

बोर्डले जारी गरेको निर्देशन अनुसारको विवरण सहितको भौतिक केवाइसी फारम निक्षेप सदस्यले भरेपछि सर्वसाधारणले १५ डिजिटको अल्फा न्युमेरिकल(अंक र अक्षर )कोड सहितको 'सेन्ट्रलाइज केवाइसी' जेनेरेट हुन्छ।

उदारहणको लगि NP0203090000001 यही अंक र अक्षरनै सेन्ट्रलाइज केवाइसीको कोड हो। यसको सुरुको दुई अक्षरले खाता खोल्ने निकायलाई जनाउँछ।जस्तै निक्षेप सदस्य नेपाल डिपी हाउसबाट खोलिएको हो भने त्यसको कोड एनपी हुन्छ। दोस्रो दुई अंकले प्रदेश जनाउँछ। उदाहरणका लागि ०२ ले प्रदेश दुई भन्ने जनाउँछ भने तेस्रो दुई अंकले जिल्ला जनाउँछ।

त्यसपछिको थप दुई अंकले गाउँपालिका भन्ने जनाउँछ। त्यस पछिका सात अंकले व्यक्तिको परिचय खुलाउँछ।यो केन्द्रीय तथ्याङ्क विभागले प्रयोग गरिरहेको विधि यसमा समावेश गरिएको छ। सर्वसाधारणले 'सेन्ट्रलाइज केवाइसी'मा केवाइसी कोड सहित बार कोड समेत पाउने छन्।जसले सर्वसाधारणलाई जुनसुकै ठाउँमा सेन्ट्रलाइज केवाइसी प्रयोग गर्न सहज हुनेछ।

सेन्ट्रलाइज केवाइसी कसरी भर्न सकिन्छ ?

'सेन्ट्रलाइज केवाइसी' फारम भर्न सर्वसाधारणले एक पटक व्यक्तिगत विवरणसहित सम्बन्धित सदस्य स्वंय उपस्थित हुनुपर्छ।सर्वसाधारणले व्यक्तिगत विवरण, ठेगाना,रोजगार विवरण, बैक खाता नम्बर आफै भर्न सक्छन्।

त्यसका अतिरिक्त फोटो, हस्ताक्षर,नागरिकता र औठा छाप 'डिजिटल थम प्रिन्ट' भने सर्वसाधारणले निक्षेप सदस्यका प्रतिनिधिको उपस्थितिमा मात्रै सफ्टवेरमा दाखिला गरिन्छ। फोटो निक्षेप सदस्यका प्रतिनिधिलेनै खिच्छन्। नागरिकताको प्रतिलिपिको स्क्यान र औठा छाप  समेत निक्षेप सदस्यका प्रतिनिधिलेनै लिने छन्।

व्यक्तिको आधिकारिकताको लागि यी विवरण निक्षेप सदस्यकै अघि लिइएको हो।जसले दोहोरिने सम्भावना कम हुन्छ।एक व्यक्तिको औंठा छाप अर्कोसँग मिल्दैन। त्यसैले व्यक्तिले अर्को खाता वा केवाइसी प्रयोग गर्न पाउँदैन। यो पहिलो पटक सेन्ट्रलाइज केवाइसीमा प्रयोग गरिँदै छ। सेन्ट्रल केवाइसी भरेपछि झझण्टबाट मुक्ति पाइन्छ।छुट्टै डिम्याट खाता खोल्ने झन्झट हुँदैन। एक व्यक्तिले जतिवटा पनि डिम्याट खाता खोल्न सक्छन् तर पहिचान भने एउटै मात्रै हुन्छ।

हाल सिडिएससीले यसलाई दुई वटा निक्षेप सदस्यबाट यो कार्यान्वनमा ल्याएको छ।विस्तारै सिडिएससीले अन्य निक्षेप सदस्यहरुलाइ पनि कार्यान्वनमा लैजाने योजना बनाएको छ।सबै निक्षेप सदस्यहरूले प्रयोगमा ल्याएसँगै यसलाई अनिवार्य गर्ने योजना सिडिएससीको छ।

हाललाई सेन्ट्रलाइज केवाइसी नयाँ हितग्राही खाता खोल्नेलाई मात्रै अनिवार्य गरिने छ। विस्तारै पुराना खाता बाहकलाई निश्चित समय दिएर अनिवार्य गर्दै लैजाने योजना सिडिएससीले बनाएको छ। पहिलो चरणमा यो केवाइसी हितग्राही खाता खोल्न प्रयोग गर्न सकिन्छ।दोस्रो चरणमा बैक वित्तीय संस्था र ब्रोकर कम्पनीमा यसको पहुँच विस्तार गरिने छ।