BIZMANDU
www.bizmandu.com

कलंकी- महाराजगंज सडकमा रहेका संरचना १५ दिनभित्रै हटाउनुपर्ने, आफै नभत्काए डोजर लगाउने

२०७६ जेठ २४

कलंकी- महाराजगंज सडकमा रहेका संरचना १५ दिनभित्रै हटाउनुपर्ने, आफै नभत्काए डोजर लगाउने
कलंकी- महाराजगंज सडकमा रहेका संरचना १५ दिनभित्रै हटाउनुपर्ने, आफै नभत्काए डोजर लगाउने

Tata
GBIME
Nepal Life

काठमाडौं।कलंकी-महाराजगंज सडक सीमामा अस्थायी/स्थायी संरचना १५ दिनभित्र हटाउनुपर्ने भएको छ।

काठमाडौ चक्रपथ सुधार योजनाले सार्वजनिक सूचना निकाल्दै सो समयमा नहटाए सार्वजनिक सडक ऐन २०३१ को दफा १८ बमोजिम 'राईट अफ वे' क्लियर गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयबाट  भत्काउने उल्लेख गरिएको छ । त्यसरी भत्काउँदा लाग्ने खर्च सम्वन्धित घरधनीबाट असुल गरिने चेतावनी समेत दिएको छ।

चक्रपथमा अतिक्रमण गरेर संरचना बनाईएकाले त्यसलाई हटाउन सूचना निकालिएको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। उनका अनुसार निर्माण कार्य सुरु गर्नु अघि नयाँ आएको नियमावली अनुसार साईट क्लियर र आयोजना पूर्व तयारी गर्नुपर्छ।

 सडकको  केन्द्र विन्दुबाट दायाँबायाँ दुवैतर्फ ३१/ ३१ मिटरसम्मको सडक सीमामा रहेका संरचनाहरु हटाउनुपर्ने छ। सडकको सीमाभित्र स्थायी वा अस्थायी संरचना (घर, टहरा, घुम्ती, विग्रिएका सवारीसाधन, हार्डवेयर पसलका सामान तथा अन्य प्रकृतिका पसल) राख्न निषेध  गरिएको छ। आयोजनाले साईट क्लियर गर्न सहयोगका लागि विदयुत प्राधिकरण, खानेपानी, ढल लगायतलाई पत्र समेत काटिसकेको छ।

सडक विभागमा चिनियाँ पक्षले प्रारम्भिक अध्ययन रिपोर्ट भने बुझाईसकेको छ। थापाका अनुसार केही समय अघि मात्रै चिनियाँ पक्षले अध्ययन गरेर गएका छन्। उनीहरुले फाईनल रिपोर्ट बुझाएपछि तत्कालै काम सुरु हुनेछ। यो खण्ड गत असोजबाट सुरु गर्ने योजना थियो। चीन र नेपाल वीच अनुदानमा बनाईदिने द्धिपक्षीय सम्झौता(एमओयु) पनि भइसकेको छ।

तर चिनियाँ पक्षले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) नबुझाएका कारण ढिला भएको थापाले जानकारी दिए। काम सुरु गरेको तीन बर्षमा यो सडक सक्ने लक्ष्य राखिएको छ।  यो खण्ड विस्तारका लागि ६ अर्व रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।