BIZMANDU
www.bizmandu.com

कोटेश्वरको जाम हटाउन जापानको तीन वटा विकल्प, दुई ठाउँमा सुरुङ मार्ग, फ्लाइओभर पनि

२०७६ जेठ ३०

कोटेश्वरको जाम हटाउन जापानको तीन वटा विकल्प, दुई ठाउँमा सुरुङ मार्ग, फ्लाइओभर पनि
कोटेश्वरको जाम हटाउन जापानको तीन वटा विकल्प, दुई ठाउँमा सुरुङ मार्ग, फ्लाइओभर पनि

Tata
GBIME
Nepal Life

काठमाडौं। जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले कोटेश्वरमा हुने जाम घटाउन तीनवटा विकल्प सहितको प्रारम्भिक प्रतिवेदन दिएको छ। 

काठमाडौंका मुख्य इन्टरसेक्सनमा ट्राफिक सुधारका लागि अध्ययन गर्न आएको जाइकाको टोलीले कोटेश्वरका लागि सुरुङमार्ग, फ्लाई ओभरसहित तीनवटा विकल्प दिएको हो। 

केहि समयअघि जाइकाले कोटेश्वरका लागि तीन विकल्प सहितको प्रारम्भिक प्रतिवेदन दिएको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। उनका अनुसार, एक महिनाभित्रै जाईकाले पूर्व सम्भाव्यता अध्ययनको रिपोर्ट दिने छ। ७ जना प्राविधिक सहितको टोलीले फेब्रुअरीदेखि अध्ययन थालेका थिए। प्रारम्भिक प्रतिवेदन दिएर अहिले उनीहरु फर्किसकेका छन्। 

टोलीले दिएको प्रतिवेदनमा पहिलो विकल्पका रुपमा भक्तपुरतिर जाने सडकको मुनी रिङरोडमा सुरुङमार्ग निर्माण गर्ने रहेको छ। बानेश्वर र तिनकुनेबाट सुर्यविनायक (भक्तपुर) तिर जाने सडकलाई अहिलेकै अवस्थामा राखेर केहि फराकिलो बनाईनेछ। त्यसको मुनिबाट सोही रुट हुँदै बालकुमारीतिर निस्कने रिङरोडमा सुरुङमार्ग हुनेछ। 

१ हजार एक सय ४० मिटर लामो सुरुङमार्ग निर्माण गरिनेछ। आउन र जानका लागि दुईवटा सुरुङमार्ग निर्माण गरिनेछ। करिव २४ अर्व रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। काम थालेको ४८ महिनामा सकिने प्रतिवेदनमा उल्लेख छ। 

दोस्रो विकल्पका रुपमा तिनकुने हुँदै बालकुमारी तिर निस्कने सडकमा 'फ्लाई ओभर' हालिनेछ। रिङरोडमा करिव १ हजार ३ सय २० मिटर लामो फ्लाईओभर निर्माण गर्नुपर्छ। भक्तपुरतिर जाने सडकलाई अहिलेकै अवस्था (सतह) मा राखेर फराकिलो बनाईनेछ। ९ अर्व ९ करोड रुपैयाँ लाग्ने अनुमान छ। 

तेस्रो विकल्प भक्तपुरतिर जाने सडकमा सुरुङमार्ग निर्माण गरिनेछ। भक्तपुरतिर जाने सडकमा आउन र जानका लागि दुईवटा सुरुङमार्ग निर्माण गरिनेछ भने रिङरोडलाई अहिलेकै अवस्थामा संचालन गरिनेछ। सुरुङमार्ग १ हजार ८ सय ६० मिटर लामो हुनेछ। यसका लागि २४.६ अर्व रुपैया लागत लाग्ने अनुमान गरिएको छ।

महाशाखा प्रमुख थापाका अनुसार फिजिविलिटी रिपोर्ट प्राप्त भएपछि बाकी निर्माण प्रक्रिया अघि बढ्ने छ। यी तीनवटा विकल्पमध्ये तेस्रो विकल्प उपयुक्त हुने प्रतिक्रिया दिएको थापाले जानकारी दिए। 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको संवेदनशीलतालाई समेत ध्यानमा राख्दा तेस्रो विकल्प उचित हुने निष्कर्ष निकालिएको छ। प्रतिवेदन प्राप्त भएपछि डिपिआर निर्माणको प्रक्रिया अघि बढाईने महाशाखाले जनाएको छ। 

बानेश्वर, कोटेश्वर, माईतीघर लगायतका स्थानको इन्टर सेक्सनहरुमा ट्राफिक सुधार गर्न के गर्न सकिन्छ भनेर विकल्प सहितको अध्ययन गरिएको हो। जसमा कोटेश्वरलाई पहिलो प्राथमिकतामा राखिएको छ। जापानको ऋण सहयोगमा निर्माण गरिने छ। सम्झौता भने भएको छैन। सुरुङमार्ग निर्माणपछि कोटेश्वरमा हुने गरेको घण्टौसम्मको जाम घट्ने अपेक्षा गरिएको छ।