BIZMANDU
www.bizmandu.com

हकप्रद भर्न पहिलो प्राथमिकता शेयरधनीलाई, चाहेजति आवेदन दिन पाउने, त्यसपछि मात्र लिलाम

२०७६ असार ६

हकप्रद भर्न पहिलो प्राथमिकता शेयरधनीलाई, चाहेजति आवेदन दिन पाउने, त्यसपछि मात्र लिलाम
हकप्रद भर्न पहिलो प्राथमिकता शेयरधनीलाई, चाहेजति आवेदन दिन पाउने, त्यसपछि मात्र लिलाम

Tata
GBIME
Nepal Life

काठमाडौँ। शेयर बजारमा सूचीकृत कम्पनीहरूले निष्कासन गरेको हकप्रदमा साबिक शेयरधीले चाहेजति आवेदन गर्न पाउने भएका छन्। 

नेपाल धितोपत्र बोर्डले नबिकेको हकप्रद शेयर विद्यमान शेयरधनीलाइ नै बाँडफाँड गर्न सकिने गरी व्यवस्था गर्ने भएको छ। बोर्डले 'धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३' संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागेको सहायक कार्यकारी निर्देशक डा. नवराज अधिकारीले जानकारी दिए। 

उनका अनुसार, अब कम्पनीहरूले निष्कासन गरेको हकप्रद शेयरमा साबिक शेयरधनीहरुले नै पहिलो प्राथमिकता पाउने छन्। कम्पनीका साबिक शेयरधनीले शेयर खरिद नगरे मात्रै कम्पनीले बोलकबोलमार्फत शेयर बिक्री गर्न पाउने छन्।

कुनै कम्पनीमा साबिक शेयरधनीले हकप्रदमा १० कित्ता शेयर खरिद गर्ने हक भएपनि उसले अब जति पनि आवेदन गर्न पाउने छ।

यसरी प्राप्त भएको निवेदनलाई सङ्कलन गरेर कम्पनीले मागभन्दा बढी आवेदन दिएका साबिक शेयरधनीलाई बराबर हुनेगरी बाँडफाँड गर्ने छ। कम्पनीका शेयरधनीले बढी आवेदन नदिए मात्रै उसले बोलकबोल मार्फत शेयर बिक्री गर्ने छ। 

बोर्डले नियमावली संशोधन गर्नका लागि अर्थमन्त्रालयमा पठाएको छ। नियमावली संशोधन भएर आए लगत्तै त्यसालाई कार्यान्वनमा लैजाने अधिकारीले जानकारी दिए। कम्पनीहरूले हकप्रद शेयरमा साबिक शेयरधनीलाई नै प्राथमिकता दिनु पर्ने अन्तर्राष्ट्रिय अभ्यास छ। शेयर बजारसँग सम्बन्धित विज्ञ सदस्यहरूले समेत बोर्डलाई पहिलो प्राथमिकता साबिक शेयरनीलाई लनि सुझाब दिएका छन्।

२०६५ अघि बिक्री नभएको शेयर साबिक शेयरधनीलाई नै बाँडफाँड गर्ने व्यवस्था थियो। ‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०६५’ मा बोर्डले बिक्री नभएको हकप्रद बोलकबोलमार्फत बिक्री गर्न सक्ने व्यवस्था गरिदियो। 

यही प्रावधानमा टेकेर कम्पनीहरूले बिक्री नभएको शेयर बोलकबोलमार्फत बिक्री गर्दै आएका छन्। तर पछिल्लो समय कम्पनीहरूले बिक्री नभएको हकप्रद शेयरलाई नै बोलकबोल मार्फत बिक्री गरेर नाफा कमाउने उपकरणको रूपमा लिन थालेका छन्। उनीहरूले साबिक शेयरधनीलाई शेयर बिक्री गर्ने भन्दा पनि बोलकबोलमा लैजान जोड दिनथालेपछि बोर्डले कडाइ गर्न खोजेको हो।

बोलकबोलमा अहिलेसम्मकै सबैभन्दा ठूलो हकप्रद लिलामी कृषि विकास बैंकको भएको थियो। बिक्री प्रबन्धक एस क्यापिटलले बैकको १९ लाख ६८ हजार ५७५ कित्ता हकप्रद शेयर नबिकेपछि लिलाम गरेको थियो। 

गएको दुई महिनामा ६ कम्पनीले नबिकेको हकप्रदको बोलकबोल खुला गरेका छन्। जसमा चार कम्पनीले बोलकबोल सम्पन्न गरेका छन् भने एक कम्पनीको बोलकबोल खुला छ। एक कम्पनी बोलकबोल खुला गर्ने तयारीमा छ। नियमावली संशोधन भएर आएपनि बोलकबोल रोकिने छैन। तर कम्पनीका साबिक शेयरधनीले खरिद नगरे मात्रै बोलकबोल मार्फत शेयर बिक्री खुला हुने छ।