BIZMANDU
www.bizmandu.com

लगानीकर्ताको तारोमा कुलमान, ‘लोडसेडिङ हटाएर हिरो बन्नुभएको छ, तामाकोशीबाट जिरो बन्नुहोला’

२०७६ असार ३१

लगानीकर्ताको तारोमा कुलमान, ‘लोडसेडिङ हटाएर हिरो बन्नुभएको छ, तामाकोशीबाट जिरो बन्नुहोला’
लगानीकर्ताको तारोमा कुलमान, ‘लोडसेडिङ हटाएर हिरो बन्नुभएको छ, तामाकोशीबाट जिरो बन्नुहोला’

Tata
GBIME
Nepal Life

काठमाडौं।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई माथिल्लो तामाकोशीका लगानीकर्ताले र्याखर्याख्ती पारेका छन्।

मंगलबार भएको ११औं वार्षिक साधारणसभामा बोल्ने अधिकांश लगानीकर्ताले माथिल्लो तामाकोशीबाट प्रतिफल कहिले आउँछ भनेर प्रश्न गरेका थिए।साधारणसभामा १३ जनाले आफ्नो धारणा राखेका थिए।उनीहरुको आक्रोश थियो-‘लोडसेडिङ अन्त्य गरेर राष्ट्रिय हिरो बन्नुभएको तपाईँ तामाकोशीबाट जिरो हुनुहोला।’

लगानीकर्ताको प्रश्नको जवाफ दिदै कुलमानले आगामी चैतसम्ममा आयोजना सम्पन्न हुने र केही वर्षमै लाभांस दिन सकिने जानकारी दिए।उनले आयोजनाको ठेकेदारले धोका दिँदा पेनस्ट्रक पाइप राख्न ढिलाइ भएको स्पस्टीकरण दिएका थिए।‘ठेकेदारले ढिला गरेको थाहा पाउँदापाउँदै पनि निकाल्न सकिएन। नयाँ ठेकेदार नियुक्त गर्दा निर्माण कार्य अझै एक वर्ष पछि धकेलिन्थ्यो। त्यही भएर आपसी सम्झौंता गरेर काम सुरु गरिएको हो।’ उनले भने।उनका अनुसार निर्माण कार्य ९८ प्रतिशत सकिएको बताउँदै हाइड्रोलोजीका कारण आयोजना ढिला भएको बताए।

लगानीकर्ताले तामाकोशीका लागि आवश्यक प्रसारण लाइन बन्न अझै केही वर्ष लाग्ने कुरा बाहिर आइरहेको बताउँदै जवाफ मागेका थिए। उनीहरुको प्रश्नको जवाफ दिदै घिसिङले भने 'पेनस्ट्रक पाइप राख्ने काम बाहेक सम्पूर्ण काम सकिएको छ। तामकोशीले उत्पादन सुरु गरेकै दिनदेखि आम्दानी गर्नेमा कुनै शंका छैन।'

तामाकोशीले यस अघि असार ११ गते संचालक समितिको निर्वाचनसहित साधारणसभा डाकेकोमा गणपुरक संख्या नपुग्दा साधारणसभा हुन सकेको थिएन। कम्पनीको नियमावलीमा गणपुरक संख्या ६७ प्रतिशत हुनुपर्ने व्यवस्थाले गर्दा साधारणसभा हुन नसकेपछि यस्तो संख्या ५१ प्रतिशत भए पुग्ने गरि संशोधन गर्न लगानीकर्ताले प्रस्ताव गरेका थिए। कम्पनी ऐनमै गणपुरक संख्या ५१ प्रतिशत भएको हुँदा यहि व्यवस्थालाई नियमावलीमा समावेश गर्न लगानीकर्ताले सुझाव दिएका हुन्।

मंगलबार हुने भनिएको निर्वाचनमा महिला प्रतिनिधि हुनै पर्ने व्यवस्था नभएको भन्दै लगानीकर्ताले अदालतमा मुद्दा दायर गरेका थिए। लगानीकर्ताले हालेको मुद्दा सुनुवाइ गर्दै अदालतले निर्वाचन प्रकृया रोक्न निर्देशन दिएको थियो। अदालतको निर्देशन सँगै सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व हुने संञ्चालकको निर्वाचन अनिश्चित भएको छ।

अदालतको निर्देशनसँगै निकट भविष्यमा सर्वसाधारण सञ्चालकको निर्वाचन गर्ने घिसिङले बताए। कम्पनीले भने यो साधारणसभाबाट सञ्चालक समितिको निर्वाचन हुन नसकेपछि आगामी हुने साधारणसभाबाट मात्रै निर्वाचन गर्ने योजना बनाएको छ।

रोल्वालिङ र तामाकोशी तेस्रो दुई क्यासकेड प्रोजेक्ट अर्को कम्पनी मार्फत नभई तामाकोशीमार्फतनै निर्माण अघि बढाउन लगानीकर्ताले माग राखेका थिए। लगानीकर्ताको आग्रह सँगै कुलमानले अहिलेको अवस्थामा पहिलो प्राथमिकता तामाकोशी नै भएकोले अन्यत्र ध्यान नदिने स्पस्ट पारे। उनले भने 'यति ठूलो राष्ट्रिय गौरबको आयोजना बन्दैछ।यो निर्माण कार्य नै पहिलो प्राथमिकता हो।'

सञ्चार माध्यमले तामाकोशीको निर्माण लागत दोब्बरले बढेको भन्दै भ्रामक प्रचार गरिरहेको घिसिङले आरोप लगाए। तामाकोशी निर्माण सुरु हुनुभन्दा पहिले ३५ अर्ब ३९ करोड रुपैयाँको अनुमान गरिएको थियो। तर यसै अवधिमा व्याज खर्चको भार नजोडिएको हुँदा लागत दोब्बरले बढेको भन्न निमिल्ने उनले जिकिर गरे। उनले भने 'अनुमानित लागत भन्दा धेरै खर्च भएको पक्कै हो। तर दोब्बर भन्दा धेरैले बढेको भने होइन।'

व्याज खर्च सहित आयोजनाको जम्मा लागत ७३ अर्ब ७८ करोड रुपैयाँ लाग्ने घिसिङले बताए। भूकम्प, नाकाबन्दी र डरलको भाउ बढ्दा आयोजनाको लागत बढेको हो। आयोजनाले दैनिक डेड करोड रुपैयाँ व्याज तिर्नु पर्ने अवस्था रहेको उनले बताए। निर्माण कार्य जति ढिलाइ हुन्छ यस्तो खर्च थप बढ्दै जान्छ। निर्माण लागत समय बढ्दा व्याज खर्च मात्रै २१ अर्ब लाग्छ।

व्याजदर धेरै हुँदा लागत धेरै पर्ने भए पछि नेपाल सरकार तथा ऋणदाता संस्थाहरु सँग व्यजदर घटाउने विषयमा छलफल भैरहेको उनले बताए। उनले भने 'लगानीकर्तालाई थप भार नपार्न छिट्टै नै व्याजदर घट्ने छ।' लगानीकर्ताले तामाकोशीले उत्पादन थालेसँगै नेपालमा आवश्यकता भन्दा धेरै विद्युत उत्पादन हुने र तामाकोशीको आम्दानीमा असर पार्ने सक्ने हुँदा सचेत हुन आग्रह गरेका थिए।

लगानीकर्ताको यस्तो आग्रहलाई संबोधन गर्दै घिसिङले भने 'नेपालले तामाकोशी जस्ता १० वटा आयोजना आएपनि धान्न सक्छ। यसका लागि हामीले काम सुरु गरिसकेका छौ।'