BIZMANDU
www.bizmandu.com

हिमालयन, एनएमबी, प्राइम, बंगलादेश र जनताले नाफामा राम्रो सुधार गरे, सेञ्चुरीको नाफा घट्यो 

२०७६ साउन ३०

हिमालयन, एनएमबी, प्राइम, बंगलादेश र जनताले नाफामा राम्रो सुधार गरे, सेञ्चुरीको नाफा घट्यो 
हिमालयन, एनएमबी, प्राइम, बंगलादेश र जनताले नाफामा राम्रो सुधार गरे, सेञ्चुरीको नाफा घट्यो 


Tata
GBIME
Nepal Life

काठमाडौं। हिमालयन बैंक, एनएमबी बैंक, प्राइम बैंक, नेपाल बंगलादेश बैंक र जनता बैंकले नाफा बढाएका छन् भने सेञ्चुरीको घटेको छ।

नेपाल बंगलादेश बैंकले स्प्रेड बढाएको छ भने बाँकीले कम स्प्रेडमै पनि राम्रो नाफा गरेका हुन्। 
 
हिमालयन बैंक 
हिमालयन बैंकले ५१ प्रतिशतले नाफा बढाएको छ। बैंकले दुई अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेको हो। अघिल्लो बर्ष एक अर्ब ८७ करोड रुपैयाँ थियो। खुद व्याज आम्दानी ५ अर्ब ४ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्षको सोहि अवधिमा यस्तो आम्दानी चार अर्ब ३२ करोड रुपैयाँ थियो। 

बैंकले एक खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९२ अर्ब ८२ करोड रुपैयाँको ऋण लगानी गरेको छ। अघिल्लो वर्ष ९८ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरि ८२ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। 

चुक्ता पूँजी ८ अर्ब ५२ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको छ। खराव कर्जा १.४० प्रतिशतबाट १.१२ प्रतिशतमा झार्न सफल हुँदा बैंकको नाफामा उल्लेख्य सुधार भएको हो। 

स्प्रेडदर घटाए पनि नेपाल राष्ट्र बैंकले निर्देशन गरेको भन्दा माथि ४.४७ प्रतिशत छ। आधार व्याजदर थोरै मात्रै घटेर ९.०५ प्रतिशत छ। प्रतिशेयर आम्दानी १० रुपैयाँले बढेर ३३ रुपैयाँ पुगेको छ। 

एनएमबी बैंक 
एनएमबी बैंकले २४ प्रतिशतले नाफा बढाएको छ। बैंकले दुई अर्ब ३१ करोड रुपयाँ नाफा गरेको छ। अघिल्लो वर्ष एक अर्ब ८० करोड रुपैयाँ नाफा गरेको थियो। 

खुद व्याज आम्दानी चार अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी दुई अर्ब ९० करोड रुपैयाँ गरेको थियो। 

सर्वसाधारणबाट ९७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरि ८८ अर्ब ४८ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकले तीन अर्ब २० करोड रुपैयाँ बरोइङ गरेको छ। 

अघिल्लो वर्ष बैंकले ८३ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरि ७१ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। 

खराब कर्जा थोरैले सुधार गर्दै ०.८२ प्रतिशतमा झारेको छ। स्प्रेडदर ४.१४ बाट ४.२६ प्रतिशतमा बढाएको छ। आधार व्याजदर दोहोरो अंकबाट एक अंकमा झारेको छ। आधार व्याजदर ९.८६ प्रतिशत छ। 

चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने जगेडा कोषमा तीन अर्ब ५३ करोड रुपैयाँ जम्मा भएको छ। प्रतिशेयर आम्दानी तीन रुपैयाँले सुधार भएर २४ रुपैयाँ पुगेको छ। 

प्राइम बैंक 
प्राइम बैंकले गत आर्थिक वर्षमा ३७ प्रतिशतले नाफा बढाएको छ। बैंकले दुई अर्ब ३६ करोड रुपैयाँ नाफा गरेको हो। अघिल्लो वर्ष एक अर्ब ७२ करोड रुपैयाँ थियो। अघिल्लो वर्ष खुद व्याज आम्दानी २ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा गत वर्ष तीन अर्ब ५९ करोड रुपैयाँ आर्जन गरेको छ। 

बैंकले ७७ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरि ७२ अर्ब ५१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो वर्ष ७२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरि ६७ अर्ब १३ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। 

बैंकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड रुपैयाँ छ भने जगेडा कोषमा दुई अर्ब ६० करोड रुपैयाँ जम्मा भएको छ। प्रतिशेयर आम्दानी २१ रुपैयाँबाट २५ रुपैयाँ पुर्याएको छ। 

खराव कर्जा केहि प्रतिशत विन्दुले बढेर ०.९२ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले निर्देशन गरेको भन्दा तलै स्प्रेड दर भए पनि अघिल्लो वर्षको भन्दा बढाएको छ। स्प्रेडदर ४.२३ प्रतिशतबाट ४.३२ प्रतिशतमा पुगेको छ। 

नेपाल बंगलादेश बैंक 
नेपाल बंगलादेश बैंकले ४१.५६ प्रतिशतले नाफा बढाएको छ। असार मसान्तसम्ममा एक अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष एक अर्ब १४ करोड रुपैयाँ थियो। खुद व्याज आम्दानी दुई अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष एक अर्ब ९७ करोड रुपैयाँ थियो। 

गत वर्ष ५९ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरि ५२ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो वर्ष ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ४० अर्ब ८७ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। निक्षेप र ऋण लगानीमा खासै आक्रामक नदेखिए पनि बैंकले स्प्रेडदर बढाएर नाफा बढाएको हो। 

बैंकले ३.६७ प्रतिशतबाट ४.६४ प्रतिशतमा स्प्रेडदर बढाएको छ। स्प्रेडदर बढाउने क्रममा नेपाल राष्ट्र बैंकले निर्देशन गरेको सिलिङ नघाएको छ। नाफामा सुधार सँगै १४ रुपैयाँबाट २० रुपैयाँ पुर्याएको छ।

जनता बैंक 
जनता बैंकले गत आर्थिक वर्षमा एक अर्ब ३४ करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो एक अर्ब रुपैयाँ थियो। खुद व्याज आम्दानी दुई अर्ब ४० करोड रुपैयाँबाट तीन अर्ब ४१ करोड रुपैयाँमा पुगेको छ। 

सर्वसाधारणबाट ७६ अर्ब एक करोड रुपैयाँ निक्षेप संकलन गरि ६६ अर्ब ८४ करोड रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो वर्षमा बैंकले ५८ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरि ५२ अर्ब ७९ करोड रुपैयाँ ऋण विस्तार गरेको थियो। 

चुक्ता पूँजी ८ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ७० करोड रुपैयाँ जम्मा गरेको छ। पूँजीकोष अनुपात १३.३३ प्रतिशत छ भने खराव कर्जा केहि सुधार गर्दै १.११ प्रतिशतमा झारेको छ। प्रतिशेयर आम्दानी १२ रुपैयाँबाट १६ रुपैयाँमा सुधार गर्न सफल भएको छ। 

सेञ्चुरी बैंक 
सेन्चुरी बैंकको नाफा ५ करोड रुपैयाँले घटेर ८६ करोड ८ लाख रुपैयाँमा झरेको छ। बैंकले खुद व्याज आम्दानी भने एक अर्ब ९१ करोड रुपैयाँबाट दुई अर्ब ६७ करोड रुपैयाँमा सुधार गरेको छ। खुद व्याज आम्दानीमा उल्लेख्य सुधार भए पनि खराब कर्जाको लागि ३६ करोड ६६ लाख रुपैयाँ प्रोभिजनिङ गर्नु पर्दा नाफा खुम्चिएको हो। बैंकको शाखा विस्तार हुने क्रममा सञ्चालन खर्च बढेको छ। 

गत वर्ष ५७ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरि ५६ अर्ब ९३ करोड रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५३ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरि ५३ अर्ब ८४ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।

बैंकको चुक्ता पूँजी ८ अर्ब ८१ करोड रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब तीन करोड रुपैयाँ जम्मा गरेको छ। खराब कर्जा ०.५० प्रतिशतबाट १.७२ प्रतिशत पुगेको छ। नाफामा गिरावट सँगै प्रतिशेयर आम्दनी पनि ११ रुपैयाँबाट १० रुपैयाँमा झरेको छ।