BIZMANDU
www.bizmandu.com

लोडसेडिङ हटेपछिको वहश: खाना पकाउँदा ग्यास भन्दा विजुली सस्तो, गाउँमा विद्युतीय चुल्हो अभियान

२०७६ भदौ १

लोडसेडिङ हटेपछिको वहश: खाना पकाउँदा ग्यास भन्दा विजुली सस्तो, गाउँमा विद्युतीय चुल्हो अभियान
लोडसेडिङ हटेपछिको वहश: खाना पकाउँदा ग्यास भन्दा विजुली सस्तो, गाउँमा विद्युतीय चुल्हो अभियान

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय उपकरण प्रयोग गर्न सर्वसाधरणलाई आग्रह गरेका छन्।

लोडसेडिङ अन्त्य भएपछि विद्युतको खपत बढाउन घरायसी उपभोगमा विद्युतीय सामाग्री प्रयोग गर्न उनले आब्हान गरेका हुन्।प्राधिकरणले खाना पकाउन एलपी ग्यासको विकल्पमा विद्युतीय चुल्हो प्रयोगमा बढी जोड दिएको छ।प्राधिकरणले भनेजस्तै अहिले विद्युतीय चुल्होको प्रयोग व्यापक बनाउन सकिन्छ? प्राधिकरणकै प्राविधिकका अनुसार विद्युतीय चुल्हो प्रयोगका लागि मिटरको क्षमता हेर्नुपर्छ।कम क्षमताको मिटर हुने घरमा विद्युतीय चुल्हो प्रयोग गर्न सकिदैन।

सरकारले पछिल्लो समय विद्युतीय चुल्हो प्रयोग गर्न प्रोत्साहन गरिरहेपनि तत्कालै सबैले विद्युतीय चुल्हो प्रयोग गर्न सक्ने अवस्था नरहेको विद्युत प्राधिकरणकै भनाई रहेको छ।

विद्युतीय चुल्हो प्रयोग गर्न शहरी क्षेत्रमा कम्तीमा १५ एमपिएर क्षमताको विद्युत मिटर जडान गर्नुपर्छ। तर अहिले नेपालमा भएका ४५ लाख विद्युत ग्राहक मध्ये २० लाख (करिब ५० प्रतिशत) ग्राहकसँग ५ एमपिएर क्षमताको मात्र विद्युत मिटर छ। कम क्षमताको मिटर भएको घरमा एकैपटक विद्युतीय चुल्होमा खाना पकाउँदा विद्युत तार सर्ट हुने र आगालगी हुने खतरा बढी हुन्छ।

जोखिम कम गर्न बढी विद्युत खपत गर्नसक्ने गरि मिटरको क्षमता बढाउनु पर्छ। त्यो सँगै वत्तिका बाल्ने उदेश्यले गरिएको पुरानो विद्युतीय वायरिङ पनि फेर्नुपर्छ। प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेका अनुसार बढी क्षमताको मिटर र पूराना वायरिङ परिवर्तन नगरे बढी खपत गर्ने विद्युतीय सामाग्री प्रयोग गर्दा दुर्घटनाको जोखिम रहन्छ।

साना ग्राहकलाई ग्यास भन्दा आधा सस्तो

अहिले बजारमा एक सिलिण्डर ग्यासको मूल्य करिब एक हजार चार सय रुपैयाँ पर्छ। परिवारको संख्या हेरेर एक सिलिण्डर ग्यास १५ दिन देखि ४५ दिन सम्म चल्छ।

तर विद्युतीय चुल्हो प्रयोग गर्दा भने एक सिलिण्डर ग्यासले खाना पाक्ने समयमा एक हजार रुपैयाँको मात्रै विद्युत खपत हुने पुल्चोक इन्जिनियरिङ क्याम्पसका इलेक्ट्रिकल इन्जिनियर हरि दर्लामी बताउँछन्।

१४.५ किलोको एक सिलिण्डर ग्यास भनेको २०१ युनिट विद्युत बराबर हो। तर एलपी ग्यासको इफिसिएन्सी ५०/५५ प्रतिशत मात्रै हुन्छ।त्यो आधारमा एक सिलिण्डर ग्यास बराबर विजुलीको युनिट १०० देखि ११० युनिट मात्रै हो। इण्डक्सन चुल्होमा खाना पकाउँदा भने एक सिलिण्डर ग्यासको ठाउँमा १०० युनिट विद्युत खपत हुन्छ। यो विद्युतको मूल्य हजार रुपैयाँ पर्छ।यो आधारमा एलपी ग्यास भन्दा विजुलीबाट खाना पकाउँदा चार सय रुपैयाँ सस्तो पर्छ।यो शहरी क्षेत्रको मूल्यका आधारमा हो।अझ ग्रामिण भेगमा एलपी ग्यास भन्दा विजुलीबाट खाना पकाउँदा थप सस्तो पर्छ।

साना ग्राहकले भने ग्यास भन्दा आधा सस्तोमा विद्युतीय चुल्होमा खाना पकाउन सक्ने सामुदायिक ग्रामिण विद्युतीकरण विभागका अध्यक्ष नारायण ज्ञवालीको दावी छ। काभ्रेपलाञ्चोकको टिमाल गाउँमा गरिएको परीक्षणमा १७ रुपैयाँको एलपी ग्यासले पाक्ने खाना ९ रुपैयाँको विद्युतले पकाउन सफल भएको उनले बताए।ग्रामिण क्षेत्रमा विद्युतको मूल्य प्रति युनिट ७ रुपैयाँ रहेकोले ग्यास भन्दा धेरै सस्तो भएको हो।

विद्युतीय चुल्हो प्रवर्द्धनमा सामुदायिक संस्था अघि

विद्युतीय चुल्होको प्रवर्द्धनमा प्राधिकरणभन्दा सामुदायिक ग्रामिण विद्युतीकरण गर्ने संस्थाहरु अघि देखिएका छन्। ती संस्थाले चुल्हो किन्दा ११ सय रुपैयाँ छुट दिएका छन् भने देखि ६ महिना सम्म निशुल्क खाना पकाउने स्कीमसहित चुल्हो वितरण गरिरहेका छन्।

गत माघ ११ गतेदेखि काभ्रेपलाञ्चोकको टिमाल गाउँमा पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको यो अभियान ५३ जिल्लामा रहेका २९० वटा संस्था मार्फत लैजाने तयारीमा विभाग रहेको ज्ञवाली बताउँछन्।

टिमाल गाउँमा पाँच सय भन्दा बढी चुल्हो बाँडेको यो संस्थाले सातै प्रदेशमा अभियान चलाउन १० वटा संस्थासँग छलफल गरिरहेको छ।तर ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले भने अहिले सम्म ठोस अभियान चलाउन सकेका छैनन्। विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन राख्ने काम बाहेक विद्युतीय चुल्हो प्रवर्द्धनमा प्राधिकरणले कुनै खास कदम चालेको छैन।

लोडसेडिङको समयमा बिजुली बचाउँ अभियान सुरु गरेको प्राधिकरणले अहिले बिजुली खपत गराउँ अभियान सुरु गरेको छ।तर सर्वसाधारणमा जनचेतना भने पुर्‍याउन सकेको छैन। बिजुली उत्पादन थपिदै गएपछि सबै विद्युत सकेसम्म नेपालमै उपभोग गराउन विद्युतीय सवारी देखि विद्युतीय चुल्हो प्रयोगलाई प्रवर्द्धन गरिने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ बताउँछन्।

विद्युतीय चुल्होको प्रयोग गर्दा धेरै जोखिम हुन्छ भन्ने त्रास उपभोक्तामा छ। त्यसले पनि विद्युतीय चुल्हो प्रयोग प्रभावकारी हुन नसकेको प्राधिकरणको ठम्याई छ।

विद्युतीय चुल्हो र ग्यास चुल्होमा कुन कति सस्तो ?

बजारमा अहिले विभिन्न कम्पनीका एक हजार पाँच सय रुपैयाँ देखि ३० हजार रुपैयाँ सम्मका विद्युतीय चुल्हो पाईन्छन्।चार हजार पाँच सय रुपैयाँको विद्युतीय चुल्होमा धेरै सुविधा हुन्छन्। उद्योग मन्त्रालयले तोकेको मापदण्ड पनि पुगेको छ।

मासिक तीन अर्बको ग्यास आयात

पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कले नेपालमा मासिक तीन अर्ब रुपैयाँको ग्यास आयात हुने गरेको छ। गत वर्ष नेपालमा ३५ अर्ब ५५ करोड रुपैयाँको ग्यास आयात भएको छ।

आर्थिक वर्ष २०७२/७३ मा १३ अर्ब ८० करोड रुपैयाँको दुई लाख १७ हजार टन ग्यास आयात भएकोमा आर्थिक वर्ष २०७३/७४ मा भने २० अर्ब ५६ करोड रुपैयाँको तीन लाख १३ हजार ९४० टन ग्यास आयात भएको थियो।

अघिल्लो आर्थिक वर्षमा २७ अर्ब १३ करोड नौ लाख ४४ हजार रुपैयाँको तीन लाख ८३ हजार २९० टन ग्यास आयात भएको थियो। गत आर्थिक वर्षमा भने ३५ अर्ब ५५ करोड रुपैयाँको चार लाख २८ हजार ८४० टन ग्यास आयात भएको छ।