BIZMANDU
www.bizmandu.com

निर्माण सकिन लागेपछि भनियो-‘कान्ति लोकपथमा गरिएको अढाई अर्ब लगानी खेर गयो’

२०७६ भदौ ४

निर्माण सकिन लागेपछि भनियो-‘कान्ति लोकपथमा गरिएको अढाई अर्ब लगानी खेर गयो’
निर्माण सकिन लागेपछि भनियो-‘कान्ति लोकपथमा गरिएको अढाई अर्ब लगानी खेर गयो’


Tata
GBIME
Nepal Life

काठमाडौं।साढे दुई अर्ब लगानीमा राजधानी जोड्ने छोटो दूरीको कान्ति लोकपथमा गरिएको लगानी खेर जाने देखिएको छ।निर्माणको अन्तिम चरणमा पुगेपछि प्राविधिकहरुले यो सडकमा गरिएको लगानी खेर गएको निष्कर्ष निकालेका छन्।

स्रोतका अनुसार सडक निर्माण भइरहेको स्थानको भौगर्भिक अवस्था नहेर्दा लगानी खेर जाने अवस्था आएको हो।यो सडकको ७५ प्रतिशत काम सकिएको छ।ती इन्जिनियरका अनुसार वर्खाको समयमा सडक संचालन हुन सक्दैन्।यो वर्षको बर्खामा पहिरोका कारण सडकमा ३२ करोड रुपैयाँ बराबरको क्षति भएको कान्ति लोकपथ आयोजनाले जनाएको छ।

'पहिरोको दिगो समाधानका नसोचिएका कारण कान्तिलोकपथमा राज्यले गरेको लगानीको सार्थक हुन सकेको छैन्। पानीसँगै पैसा बगिरहेको छ।' आयोजनाका एक कर्मचारीले भने।आयोजनाका अधिकारीले पहिरोको दिगो समाधानका लागि बनेपा-बर्दिवास (विपी हाइवे)सडक जस्तै मोडलमा निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको छ।

विपी हाइवे प्रति किलोमिटर २७ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको थियो। यो सडकमा वाल र माथि स्लोव प्रोटेक्सन राखिएकोले पहिरोको समस्या छैन।‘कान्ति लोकपथलाई विपी हाइवेकै डिजाइन अनुसार बनाए मात्रै यो सडकमा गाडी गुडाउन सकिन्छ। अहिलेको अवस्थामा यो सडकमा गरिएको लगानी खेर गएको छ’ती इन्जिनियरले भने।

करिव ९० किमीमा हेटौंडाबाट राजधानी जोड्ने यो सडक बर्खासँगै पाइलापिच्छेनै जोखिम बढ्दै जान्छ। कमजोर भुगोल रहेका कारण बर्षेनी पहिरोको समस्या आईरहेको कान्तिलोकपथ आयोजनाका इन्जिनियर अमिन्द्र खड्काले जानकारी दिए। खड्काका अनुसार वर्षेनी बर्खामा सडकमा क्षति पुग्ने गरेको छ।

'झाँक्री डाँडा, भालुखोला, ठिगन, वगुवा, नयाँ गाउँ, मकवानपुरगढी, सिमात लगायतका स्थान पहिरोको जोखिम बढी भएका क्षेत्र हुन्। केहि स्थानमा बर्षेनी सडकनै भत्किने गरि ठूला चट्टानहरु खस्ने गरेका छन्। कमजोर भुगोलमा सडक चौडा गर्न धेरै कटिङ गर्दा पहिरोको जोखिम बढेको हो।

आयोजनाका एक इन्जिनियरका अनुसार पहिरो रोकथामका लागि योजना नै नबनेको भने होईन्। स्लोव स्टेवलाईजेसन गर्नका लागि परामर्शदाता नियुक्त गरेर अध्ययन भइरहेको छ। सडक विभागबाट स्वीकृति लिएर स्लोव प्रोटेक्सनको काम गरिने आयोजनाले जनाएको छ। ६/७ ठाउँलाई क्रिटिकल मानेर अध्ययन रिपोर्ट तयार पारिएको छ।

यो बर्ष ३२ करोड क्षति

यो बर्ष असार २६ गतेपछिको अविरल बर्षाका कारण कान्तिलोकपथमा ठूलो क्षति पुगेको छ। विगतको तुलनामा यो बर्ष ठूलो क्षति व्यहोर्नुपरेको आयोजनाका इन्जिनियर खड्काले जानकारी दिए।

अघिल्ला बर्षहरुमा सडकमा पहिरो झरेपनि पन्छाउन सकिने अवस्था थियो।तर यो बर्ष पीच गरिएको सडक र संरचनानै बगाएको छ। आयोजनाका अनुसार ललितपुरको भालुखोला,मकवानपुरको ठिगन वगुवा खण्डमा धेरै क्षति पुगेको छ। नयाँ गाउँ ,मकवानपुरगढी, सिमात लगाएतका स्थानहरुमा पनि क्षति पुगेको।

करिव ३ सय मिटर पीच बगाएको छ भने करिव २ किलोमिटर खण्डमा ट्राफिक सेप्टीका लागि हालिएको क्रयास ब्यारिएरमा समेत क्षति पुगेको छ। ठाउँ ठाउँमा ग्याविन वाल र रिटेनिङ वालहरु भत्किएका छन्।

चालु अवस्थामा रहेका ठेक्का दाबीभन्दा बाहिर रहेका सडक र सडकका संरचना गरि करिव ३२ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। कान्तिलोकपथ २०६५/०६६ मा सरकारले आफ्नै स्रोतबाट बजेट व्यवस्था मिलाई निर्माण सुरु भएको हो।६ दशक अघिनै नेपाली सेनाद्धारा ट्रयाक खोलिएको भएपनि लामो समय ओझेलमा परेको थियो।

०६५ सालमा छोटो  वैकल्पिक राजमार्ग, ग्रामीण जिल्ला सडक तथा अन्य साना केन्द्रसँग जोड्ने यो सडकको महत्वलाई ध्यानमा राखेर स्तरोन्नती अघि बढाइएको हो। गत बर्ष आयोजनाले ६६ करोड रुपैया खर्च गरेको छ भने भौतिक प्रगति ९२ प्रतिशत छ। २५ किमी कालोपत्रे गर्ने लक्ष्य लिईएकोमा २३ किमी कालोपत्रे भएको आयोजनाले उपलब्ध गराएको तथ्याङकले देखाएको छ। असोसम्म दुईतर्फी सवारीसाधन चलाउने र यही बर्ष आयोजना पूरा गर्ने लक्ष्य राखिएको भएपनि चुनौतिपूर्ण बनेको छ।