BIZMANDU
www.bizmandu.com

२२२ स्थानीय तहमा ९० प्रतिशतभन्दा बढी विद्युतीकरण, कर्णाली प्रदेशमा सबैभन्दा कम २७.०३ % मात्रै

२०७६ भदौ ६

२२२ स्थानीय तहमा ९० प्रतिशतभन्दा बढी विद्युतीकरण, कर्णाली प्रदेशमा सबैभन्दा कम २७.०३ % मात्रै
२२२ स्थानीय तहमा ९० प्रतिशतभन्दा बढी विद्युतीकरण, कर्णाली प्रदेशमा सबैभन्दा कम २७.०३ % मात्रै


Tata
GBIME
Nepal Life

काठमाडौं। मुलुकभरका ७५३ स्थानीय तहमध्ये २२२ स्थानीय तहमा ९० प्रतिशभन्दा बढी विद्युतीकरण भएको छ।

नेपाल विद्युत प्राधिकरणले मुलुकभरका स्थानीय तह गाउँपालिका र नगरपालिकाहरुको वडासम्मको विस्तृत अध्ययन गरी सार्वजनिक गरेको विद्युतीकरण तथ्याङ अनुसार २२२ स्थानीय तहमा ९० प्रतिशत भन्दा बढी विद्युतीकरण भएको हो।

यो तथ्यांक अनुसार अनुसार ११७ स्थानीय तहमा विद्युतीकरण ५ प्रतिशतभन्दा कम छ। केही स्थानीय तहमा विद्युत् नै पुगेकै छैन। प्राधिकरणले यहि भदौ १ गते आइतवार आफ्नो ३४ औं वार्षिकोत्सवको अवसरमा विद्युतीकरण तथ्याङ समेटिएको पुस्तक सार्वजनिक गरेको थियो।

५५ स्थानीय तहमा पाँच देखि ३५ प्रतिशतसम्म विद्युतीकरण भएको छ। १०६ स्थानीय तहमा ३५ देखि ६५ प्रतिशत सम्म र २५३ स्थानीय तहमा ६५ देखि ९० प्रतिशतसम्म विद्युतीकरण भएको छ।हालसम्म कुल जनसंख्याको करिब ७८ प्रतिशतमा राष्ट्रिय प्रणालीको विद्युत पुगेको छ। कुल जनसंख्याको करिब २२ प्रतिशतले अझै राष्ट्रिय ग्रिडको विद्युत् प्रयोग गर्न पाएका छैनन्। सरकारले २०७९ भित्रमा प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्याउने र चार वर्षभित्रमा प्रतिव्यक्ति विद्युत खपतलाई ७०० युनिट पुर्‍याउने लक्ष्य लिएको छ।

यसका लागि ग्रीड पुर्‍याउन सम्भव नहुने स्थानहरुमा ब्याट्री स्टोरेज प्रणालीसहितको माइक्रो–हाइड्रो, सोलार तथा वायु उर्जाको उपयोग गर्ने सरकारको योजना छ।हरेक नेपाली जनताको पहुँचमा विद्युत पुर्‍याउने सरकारको लक्ष्य पूरा गर्न र उपभोक्तालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भव प्रयास गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

‘यसका लागि मुलुकभर नै पर्याप्त विद्युत प्रसारण तथा वितरण सञ्जालको विस्तार योजनाबद्ध रुपमा अगाडि बढाएका छौं।’उनले भने, ‘अब स्थानीय तहलाई क्रमिक रुपमा सतप्रतिशत विद्युतीकरण भएको घोषणा कार्यक्रम अभियानकै रुपमा चलाउने छौं।’

प्राधिकरणले राष्ट्रिय ग्रिड नपुगेका रुकुम पूर्व, कालिकोट, बाजुरा र जुम्लामा चालु आर्थिक वर्षभित्रमा ग्रिड पुर्‍याउने लक्ष्य राखेको छ। आगामी दुई वर्षभित्रमा डोल्पालाई र त्यसपछि हुम्लालाई राष्ट्रिय विद्युत् प्रणालीमा आवद्ध गर्ने गरी काम अगाडि बढेको घिसिङले बताए। ४६० गाउँपालिकामध्ये १०३ गाउँपालिकामा ५ प्रतिशतभन्दा कम विद्युतीकरण भएको छ। प्रदेश नम्बर १ का २३ गाउँपालिका, प्रदेश नम्बर ३ तथा गण्डकी प्रदेशका ६/६ गाउँपालिका, प्रदेश नम्बर ५ का ७ गाउँपालिका, कर्णाली प्रदेशका ३७ गाउँपालिका र सुदूरपश्चिम प्रदेशका २४ गाउँपालिकामा ५ प्रतिशतभन्दा कम विद्युतीकरण भएको छ।

४७ गाउँपालिकामा पाँच देखि ३५ प्रतिशत र ७१ गाउँपलिकामा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ। १४२ गाउँपालिकामा ६५ देखि ९० प्रतिशतसम्म र ९७ गाउँपालिकामा ९० देखि शतप्रतिशतसम्म विद्युतीकरण भएको छ।महानगर, उपमहानगरसहित २९३ नगरपालिकामध्ये १४ वटा नगरपालिकामा पाँच प्रतिशतभन्दा कम विद्युतीकरण भएको छ। यसमा कर्णाली र सुदूरपश्चिम प्रदेशका क्रमशः ६ र ८ नगरपालिका रहेका छन्।

यसैगरी ८ नगरपालिकामा पाँच देखि ३५ प्रतिशतसम्म विद्युतीकरण भएको छ भने ३५ नगरपालिकामा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ। पाँच देखि ३५ प्रतिशतसम्म विद्युतीकरण हुनेमा पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका क्रमशः ७ र १ नगरपालिका रहेका छन्। ३५ वटा नगरपालिकामा ३५ देखि ६५ प्रतिशतसम्म विद्युतीकरण भएको छ।१११ नगरपालिकामा ६५ देखि ९० प्रतिशतसम्म विद्युतीकरण भएको छ भने १२५ नगरपालिकामा ९० देखि सतप्रतिशत विद्युतीकरण भएको छ।

प्रदेश नम्बर ३ मा सबैभन्दा बढी अर्थात ९०.३० प्रतिशत विद्युतीकरण भएको छ। कर्णाली प्रदेशमा सबैभन्दा कम २७.०३ प्रतिशत मात्रै विद्युतीकरण भएको छ। गण्डकी प्रदेशमा ८७.३९ प्रतिशत, प्रदेश नम्बर ५ मा ८१.०३ प्रतिशत, प्रदेश नम्बर २ मा ७९.७७ प्रतिशत, प्रदेश नम्बर १ मा ७५.९० प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५८.९० प्रतिशत विद्युतीकरण भएको छ।