बचत ‘गुरु’ प्रकाश पैसाको महत्व बुँझाउँदै मेचीकाली

प्रभात भट्टराई/बिजमाण्डू
२०७३ असोज १७ गते १०:१७ | Oct 3, 2016
बचत ‘गुरु’ प्रकाश पैसाको महत्व बुँझाउँदै मेचीकाली

Tata
GBIME
Nepal Life

काठमाडौं । सन् २०१५ को हिउँद। बेलायतस्थित एक ख्याति प्राप्त संस्थाले आवेदन आह्वान गर्यो। विषय थियो वित्तिय साक्षरता र समावेशीताका लागि सार्थक पहल गर्ने युवाले अवार्डका लागि दावी गर्नु पर्ने।

विश्वभरबाट ९००० आवेदन परे। त्यो सूचीमा एक नेपाली २४ बर्षे ठिटो पनि थिए। हजारौँ आवेदकलाई उछिन्दै उत्कृष्ठ तीन जनामा परेको इमेल आयो उनलाई आयोजकबाट। उनीसँगै साउदी अरेविया र पाराग्वेका एक/एक जना आवेदक परेका थिए अन्तिम तीनमा।

अब उनलाई बेलायतबाट निम्तो आयो। कार्यक्रम थियो विश्वभर चर्चित ब्रिटिस संसद भवनमा। लोकतन्त्र र संसदिय व्यवस्थाको जननी बेलायतको संसद भवनमा पाइला राख्ने हुट्हुटीले उनलाई सताउन थाल्यो। तर, वेलायतमा जाने बस्ने खर्च सबै आफैंले व्यहोर्नु पर्ने।

एउटा संभावना भने थियो फाइनलिष्टमध्ये उत्कृष्ठ हुन सकेमा सबै खर्च आयोजकले तिरिदिने। उनी बेलायत पुगे। फाइनल राउन्डमा विश्व बैंक, मास्टर कार्ड, युनाइटेड नेसन्स क्यापिटल डेभलपमेन्ट फण्ड (युएनसिडीएफ) र लट्रि फाउन्डेसन गरि चार संस्थाका प्रतिनिधी निर्णायक थिए।
 
हरेक छलफलमा प्राय सबैले वित्तीय साक्षरता सम्बन्धि नेपालको नीति र कानुनी अवस्थाबारे सोध्थे। सबैलाई बिस्तारै बन्ने चरणमा रहेको उनी सुनाउँथे। अन्नतः फाइनल राउन्टमा युएनसिडिएफका प्रतिनिधीले त्यहि प्रश्न दोहोर्याइन्, 'तिम्रो देशमा न नीति छ न त कानुन नै छ, तिमीले कसरी काम गर्छौ?'

उनलाई फसाद पर्यो।

प्रश्न जटिल थियो।

'यदि यहाँ जितेँ भने नेपालमा गएर बिना नियम कानुन बिना काम गरेर समेत मैले अन्तर्राष्ट्रिय मञ्चमा एउटा महत्वपुर्ण अवार्ड जित्न सफल भएँ, भोली हामीले नीति र कानुनको परिधीमा यो क्षेत्रलाई ल्यायौँ भने अरु धेरै अवसर आउँछन् भनेर नेपालका नीति निर्मातालाई कन्भिन्स गर्न सक्छु, त्यसबेला मेरो आवाज सुनिने सम्भावना पनि बढी हुन्छ। किनभने मेरो एउटा पहिचान बनेको हुन्छ। तर, मैले यहाँ हारेर त्यहि वाक्य बोलें भने सुन्ने/पत्याउने कोही हुँदैनन्। त्यसैले नेपाल जस्तो अति कम विकसित मुलुकमा वित्तिय साक्षरता अभिबृद्धिका लागि नियम कानुन बन्न सार्थक प्रयास हुने/नहुने जिम्मा अब तिमीहरुको हातमा छ, यदि मैले जितें भने त्यो लविङ यथार्थपरक बन्न सक्छ हारेँ भने मेरो प्रयास कमजोर हुन सक्छ।'

उनको जवाफले हलभरी ताली गुञ्जियो। प्रश्न सोध्ने युएनसिडिएफकी प्रतिनिधी पनि सन्तुष्टिले गद्गद् भइन्।

उभिएरै ताली बजाइन्।

अन्तत: प्रकाश कोइरालाले 'युथ फाइनान्सियल एजुकेसन अवायरनेश अवार्ड' जिते।
 
यो अवार्ड दिने र कार्यक्रम आयोजना गर्ने संस्था थियो चायल्ड एन्ड युथ फाइनान्स इन्टरनेशनल।

वेलायतको संसद भवनमा आयोजित भव्य समारोहमा वित्तिय समावेशीतका लागि सकृय एक सांसदले उनलाई अवार्ड हस्तान्तरण गरिन्। २४ बर्षको कलिलो उमेरमा उनले विश्वभरका प्रतिश्पर्धीलाई उछिनेर प्रतिष्ठित अवार्ड मात्र जितेनन् वेलायतको संसद भवनमा पुरस्कार थाप्ने पहिलो नेपाली समेत बने।

अवार्डले एउटा अवसरको ढोका खुला गर्यो उनलाई। त्यहाँ भेला भएका सबैसँग इमेल आदान प्रदान भयो। उनीहरुले वित्तिय साक्षरता सम्बन्धि कुनै नेटवर्किङ हुँदैछ भने कन्फ्रेन्सप कलको लागि प्रकाशलाई बोलाउन थाले। यस्तै अरु कुनै कार्यक्रममा पनि उनीलाई सम्झिन थाले।

विकसित,  सभ्य र धनी मुलुकहरु रहेको युरोपका सांसद पनि आखिर किन अझै वित्तिय समावेशीता भनेर दौडिएका रहेछन्?

प्रकाशको बुझाइमा आर्थिक रुपले वर्गीय खाडल जहाँ पनि छ। तर, हाम्रो र उनीहरुको वित्तिय साक्षरता र समावेशीताको संरचनामा भने ठूलै अन्तर छ ।

यसमा मुख्य रेखा राष्ट्रिय नीतिले नै कोरेको छ। युरोपका अधिकांश देशमा वित्तिय साक्षरता र समावेशीताका सम्बन्धि राष्ट्रिय नीति छन्। जसले वित्तिय पहुँच बढाउन बैंक, सरकार एवं सरोकार सबैलाई लगानी गर्नैपर्ने बाध्यकारी प्रावधानमा समेट्छ। हामीकहाँ त्यहि नीति अभावले पनि कमजोर आर्थिक अवस्था एवं शैक्षिक विपन्नहरु वित्तिय पहुँचबाट टाढा भएको प्रकाशको अनुभव छ।
 
यतिसम्म की नेदरल्यान्डकी रानी मेक्सिमा आफैंले वित्तिय साक्षरता अभिबृद्धिका लागि काम गर्ने सरकारी निकायको अध्यक्षता गर्छिन्। हामीकहाँ यसरी नेतृत्वदायी भूमिका निभाउने उच्च पदस्थको समेत खाँचो रहेको उनी बताउँछन्।

नेपालको सन्दखर्भमा यो क्षेत्रमा लाग्दा धेरै जसो तितो अनुभव सँगालेका छन् प्रकाशले। एक वित्तिय संस्थाका प्रमुखलाई वित्तिय पहुँच र समावेशीता विस्तारका लागि केहि सहयोग माग्दा, यो काम गरेर आफुले मात्र नभइ सबैले फाइदा लिने भएको हुँदा किन सघाउनु भनेर उल्टो प्रश्न गरेको उनी सुनाउँछन्।

बैंकहरुले आफैंले दिने सेवा समेत सर्वसाधारणलाई राम्रोसँग नबुझाएको उनी बताउँछन्। स्नातकोत्तर तहमा पढ्नेहरुले समेत एटिएमबाट मिनी स्टेटमेन्ट निकाल्न मिल्छ भन्ने थाहा नपाएको उनले देखेका छन्।
 

'युरोप अमेरिकामा सानैदेखि स्कुल कलेज लोन भनेर पैसा चलाउने वानीको विकास गराइन्छ, उनी भन्छन्- तर नेपालमा अझै पनि बुबा आमाले पैसा राख्दा छोरा छोरीले नदेख्नेगरि राख्न खोज्छन्।'

दोलखाको सरकारी स्कुलबाट एसएलसी उत्तिर्ण प्रकाशले राजधानीको कोलम्बस कलेजमा ११ र १२ कक्षा पढे। आमा बुवाको चाहना थियो छोराले साइन्स पढोस् र डाक्टर बनोस् भन्ने। तर, उनले मानेनन्।

सानैदेखि अर्थशास्त्रप्रति विषेश लगाव थियो उनमा। गाउँमा राष्ट्रिय योजना आयोगले सरकारका मुल आर्थिक नीति बनाउँछ भन्ने सुनेका थिए। त्यो संस्थाको नेतृत्व गर्ने व्यक्ति चाहिँ कस्तो हुन्छ होला भन्ने चिन्तनले उनलाई घोचिरहन्थ्यो।

१२ कक्षापछि उनी चार्टर्ड एकाउन्टेन्ट पढ्न तिर लागे। तर त्यसलाई पुरा गर्न सकेनन्। बीचैमा सिए छाडिदिए र व्यवस्थापनमै स्नातक गर्न तर्फ लागे। सिए ड्रपआउट भए तर आफुसँग अविचलित भएनन्।
 
कर्म गर्नु र नतिजा हासिल गर्नु फरक हुन् भनेर उनले आर्ट अफ लिभिङबाट सिकिसकेका थिए। आफुले सकेको गर्ने र जे नतिजा आउँछ त्यसलाई हार्दिकतापुर्वक स्वीकार्ने बानी उनमा विकास भइसकेको थियो। त्यसैले सिए ड्रप आउट उनका लागि एक सामान्य परिघटना मात्र बन्यो। जीवन यात्रा तर्फको दृढता कमजोर भएन।

यत्तिकैमा सन् २०१२ मा युरोपियन युनियनले काठमाडौँमा सञ्चालन गरेको एउटा दुई दिने तालिमा सहभागि भए उनी। त्यहाँ वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम चलाउने प्रोजेक्टहरुको कसरी अडिट गर्ने, कसरी वित्तिय सुशासन कायम गर्ने जस्ता विषयमा सिकाइएको थियो।

तालिम लिनेमा विश्वविद्यालय तहको विद्यार्थीमा उनी एक्लै थिए। अरु सबै सिए, एनजिओ/आइएनजिओका फाइनान्स हेर्ने उच्च पदस्थ अधिकारी लगायतको सहभागिता थियो। तालिमका हरेक च्याप्टर र विषय बस्तुले छोए उनलाई। आफू यत्रो हुन्जेलसम्म पनि वित्तिय क्षेत्रका सामान्य कुरा समेत सिकेको रहेनछु भन्ने बोध भयो। त्यसपछि पैसा व्यवस्थापन, बचत जस्ता विषयमा त स्कुल तहमै सिकाइनु पर्छ भन्ने लाग्यो उनलाई।

तर, के सिकाउने, कसरी सिकाउने भन्ने मेलो मेसो थिएन। गुगलमा सर्च गर्दा पत्ता लाग्यो; अमेरिकामा मनि वाइज भन्ने संस्थाले सन् १९६० देखि १९९९ सम्म जन्मिएका कालो वर्णका अशिक्षित र कम आय भएका नागरिकलाई गाउँ गाउँ पुगेर वित्तिय साक्षरता तालिम दिँदो रहेछ।
 
उनलाई त्यो संस्थाको तरिका मन पर्यो र इमले लेखे- 'म यो कुनै पैसाको लालच या महत्वाकांक्षाले गरिरहेको छैन,  मलाई तिमीहरुले यसरी वित्तिय साक्षरता सिकाएको मन पर्यो,  सक्छौ भने तिमीहरुको पढाउने सामग्री देउ न, नेपालमा पनि वित्तिय साक्षरता विस्तारको ठूलो खाँचो छ।'

उनीहरुले प्रकाशको प्रस्ता व स्विकारे र पाठ्य सामग्री पठाइदिए।
 

त्यसपछि उनी आफ्नै खर्चमा गाउँका स्कुलहरुमा पैसा बचाउन र खर्च कम गर्ने तरिका सिकाउँदै हिँड्न थाले। लगानी, बचत,  सक्षम उपभोक्ता कसरी बन्ने जस्ता बिषयलाई प्राथमिकता दिएर उनी पढाउँथे। धेरै जसो दुर्गभ जिल्लामा पुगे उनी। बझाङमा एक महिना बसेर वित्तिय साक्षरता सम्बन्धि तालिम दिए।

उनी पढाउन जाँदा खुत्रुके पनि साथ लैजान्थे। बालबालीकालाई बाँढ्थे। जति बचत हुन्छ यसमा हाल्नु है भन्दै सिकाउँथे। बझाङ एकमहिना बसाइमा त्यसको प्रत्यक्ष लाभ अनुभव समेत गरे उनले।

खुत्रुके लिएका बालबालीका खाजा खाने पैसा जोगाउन थाले। घरबाटै खाजा लिएर जाने र त्यसका लागि पाएको पैसा खुत्रुकेमा जम्मा गर्न थालेको देख्दा उनी थप हौसिए। आफ्नो अभियान मुलुकको अपरिहार्यता रहेछ भन्नेमा थप ढुक्क भए।

काठमाडौँ फर्किएपछि बर्षेनी मार्चमा आयोजना हुने ग्लोबल मनी विक सञ्चालनका लागि नेपाल राष्ट्र बैंकमा आवेदन दिए।

त्यहाँका उच्च अधिकारीहरुले सुरुमा त पत्याएनन्। यस्तो फुच्चे मान्छेले कसरी गर्नु हुन्छ भन्दै उल्टो प्रश्न गरे।

उनले आफुले राजधानी लगायत देशका बिभिन्न भेगका विद्यालयमा दर्जनौँलाई वित्तिय साक्षरता तालिम दिइसकेको र यहि क्षेत्रमा तल्लिन रहेको बताएपछि केन्द्रिय बैंक अधिकारीहरु कन्भिन्स भए।

उनले जिम्मेवारी पाए, ग्लोबल मनी विकका लागि र्यािली आयोजना गर्न विद्यार्थीहरु जुटाउने। यो उनका लागि ठूलो चुनौती पनि थियो। यसमा सफल भए आफ्नो अभियानले एउटा फड्को मार्छ भन्नेमा उनी ढुक्क थिए। असफल भए यतिन्जेलको परिश्रम खेर जान पनि सक्थ्यो।

उनी उपत्यकाका स्कुल स्कुल पुगे। करिब तीन हजार बिद्यार्थी आउने टुङ्गो भयो। नभन्दै भने बमोजिम बिद्यार्थीहरु आइदिए। तात्कालिन गभर्नर युवराज खतिवडादेखि केन्द्रिय बैंकका उच्च अधिकारीहरु सबै उनको कामसँग खुसी भए।

त्यतिन्जेलमा उनले २० हजार हाराहारी युवा तथा बालबालीकालाई वित्तिय साक्षरता सम्बन्धि तालिम दिइसकेका थिए। यत्तिकैमा 'युथ फाइनान्सियल एजुकेसन अवायरनेश अवार्ड' का लागि आवेदन आह्वान भयो। उनले बेलायत पुगेर अवार्ड जिते।

त्यहाँ उनले सन् २०३०  सम्मको योजना सुनाउनु पर्थ्यो। वित्तिय साक्षरता अभिबृद्धिका लागि किताब लेख्ने योजना त्यहि बेला सुनाएका थिए। पुरानै ढाँचा ढर्रामा अक्षरहरु थुपारेर उनलाई किताब लेख्न मन लागेन। गाउँमा गएर वित्तिय साक्षरता पढाउँदा चित्रहरुमार्फत सिकाउँदा सबैले चासो देखाउँथे। उनले त्यसैमा अवसर देखे।

अनि हातले चित्र कोरेर पैसा चलाउने उपाय, खर्च व्यवस्थापन, ऋण लगायत सबै वित्तिय बिषयलाई बुझाउने किताब तयार पारे- फिनलिको।
 
किताब प्रकाशनको क्रममा केहि आइएनजिओले उनलाई लगानी गरिदिने आश्वासन समेत दिए। तर, उनीहरु प्रतिलिपि अधिकार आफु लिन चाहन्थे। प्रकाशले मानेनन् र आफैं लगानी गरेर किताब निकाले।

गत महिना सार्वजनिक भएको उनको किताबले देशमा मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमा समेत माइलेज पाइसकेको छ। किताब प्रकाशन अगावै मलेसिया र जर्मनीको केन्द्रिय बैंकले त्यसको अंग्रेजी संस्करण एक/एक हजार प्रति खरिद गर्ने बचन दिएका थिए।

प्रकाशले आइतबार मात्र फेसबुकमा लेखेका छन्, छ हजार प्रति फिनलिको खरिद गर्न युरोपियन केन्द्रिय बैंकले औपचारिक सम्झौता गरेको छ।
 
प्रकाशको अन्तर्राष्ट्रिय नेटवर्क फराकिलो हुँदै जाँदा देशभित्र पनि उनको अभियान थप बुलन्द हुन पुगेको छ। अहिले उनी जति सक्दो चाँढो वित्तिय साक्षरता सम्बन्धि राष्ट्रिय नीति बनोस् भनेर केन्द्रिय बैंक लगायत सरोकारवाला निकायहरुलाई घच्घच्याउन सकृय छन्।

त्यस बाहेक आर्थिक नीति र वित्तिय क्षेत्रको अध्ययन अनुसन्धानका लागि स्थापित संस्था अर्थ फाउन्डेसनमा सचिवको रुपमा कार्यरत छन्। राष्ट्रिय योजना आयोगको उपाध्यक्षबारे सानैमा सुनेर नै अर्थशास्त्र प्रति लोभिएका प्रकाश अहिले त्रिभुवन विश्वविद्यालयमा त्यहि विषयमा स्नातकोत्तर समेत गर्दैछन्।