बङ्गलादेशसँगको व्यापारमा किन भयो घाटा?, सरकारको उदासिनताले नेपालले गुमायो अवसर




विराटनगर।बङ्गलादेशसँगको व्यापार विस्तार गर्न चटगाउँस्थित मोङ्गला बन्दरगाह प्रयोगमा ल्याउनुपर्ने पूर्वाञ्चलका व्यवसायीले बताएका छन्।



‘तीन वर्षअघिसम्म हामी बङ्गलादेशसितको व्यापारमा नाफामा थियौँ तर अहिले घाटा भोगिरहेका छौँ’, मोरङ व्यापार संघका पूर्व अध्यक्ष अविनाश बोहराले भने, ‘ सरकारको उदासीनताका कारणले नै बङ्गलादेशसितको व्यापार फस्टाउन सकेको छैन । हामी बङ्गलादेशका लागि गतिलो निर्यातकर्ता बन्ने सम्भावना अझै छ ।’
 


नेपालबाट त्यसतर्फ चिया, अलैँची, फलफूल, दुग्धजन्य पदार्थ, हरियो र सुकेको तरकारी, आलो वा सुकुटी मासु, जडिबुटी, सुँठो, अदुवा, अम्लिसो लगायतका सामग्रीको निर्यातको सम्भावना छ। चार वर्ष अघिसम्म बङ्गलादेशतर्फ मुसुरो दालको निर्यात उच्च परिमाणमा हुन्थ्यो । तर क्यानाडा र बर्माको दाल सस्तो पर्न थालेपछि बङ्गलादेशी व्यवसायीले नेपालबाट दाल पैठारी गर्न छाडेका छन् ।
 
यसबाहेक नेपाली व्यवसायीले त्यसतर्फ चामल र गहुँको निर्यात पनि गरेका हुन् । तर भारतीय दबाबपछि नेपाल सरकारले चामल र गहुँको बङ्गलादेश निकासीमा रोक लगाएको छ ।
 
भारतको चामल र गहुँलाई नेपालको उत्पादन भनी उत्पत्तिको प्रमाणपत्र जारी गरेर निकासी गरिएको आरोप लाग्दै आएको छ।गत आर्थिक वर्ष २०७२/०७३ मा नेपालले बङ्गलादेशतर्फ एक अर्ब २० करोड २३ लाख बराबरको निर्यात र तीन अर्ब ६९ करोड २१ लाख बराबरको आयात गरेको थियो ।
 
बङ्गलादेशबाट नेपालमा फ्रिज, मिक्स्चर र ओभनजस्ता भान्सामा प्रयोग गरिने उपकरण, कच्चा जुट, ओखती, गार्मेन्ट, छालाका सामान लगायतका सामानहरू आयात हुन्छ ।
 
‘नेपाली निर्यातकर्ताले बङ्गलादेशसितको कारोबारमा भोग्नु परेको मुख्य समस्या त्यहाँका व्यापारीले दिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नै हो’, व्यवसायी बोहराले भने, ‘नेपालको भूमिबाट बङ्गलादेशका लागि सामान निस्किसकेपछि सामान्य प्रचलनअनुसार हामीले बङ्गलादेशका व्यवसायीसित एनओसीको कागज पाउनु पर्छ । यो कागज संलग्न नभएसम्म हामीले प्रतीतपत्रमा उल्लेख भएबराबरको रकम बैङ्कबाट भुक्तानी पाउँदैनौँ तर  बङ्गलादेशका व्यवसायीले यस्तो पत्र आठ–दश दिनपछि मात्र पठाउँछन् ।’
 
नेपालले काँकडभिट्टा–बङ्गलाबन्ध मार्गबाट नै बङ्गलादेशसित व्यापारिक कारोबार गर्दै आएको छ । तर बङ्गलाबन्धमा रहेको बन्डेड वेयर हाउस सानो भएकाले ठूलो परिमाणको कारोबार हुन नसक्ने देखिएको छ ।
 
त्यस्तै बङ्गलादेशको मुद्रा ‘टाका’ र नेपाली रुपैयाँबीच हालसम्म विनिमय दर कायम गरिएको छैन । दुई मुलुकले आपसी सहमति गरेर टाका र रुपैयाँमा विनिमय दर कायम गर्ने हो भने परिवत्र्य विदेशी मुद्रामा कारोबार गर्नुपर्ने अवस्थाको अन्त्य हुने उनको धारणा छ ।उनले सहज भिसा प्रणाली नहुँदा व्यापार विस्तारमा बाधा पुगेको बताए।
   
 

Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell