कांग्रेस प्रवेशबारे विनोद चौधरीले दिए प्रष्टोक्ति, गिरिजा र कृष्णप्रसादको सहकार्य स्मरण

बिजमाण्डू
२०७४ कात्तिक १४ गते १६:४६ | Oct 31, 2017
काठमाडौं । उद्योपति विनोद चौधरीले नेपाली कांग्रेस प्रवेश बारे आफ्नो प्रष्टोक्ति दिएका छन्। मंगलबार बिज्ञप्ती जारी गर्दै चौधरीले कांग्रेससँगको आफ्नो निकटता स्मरण गरेका छन्। 

Tata
GBIME
Nepal Life

‘२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको दीर्घकालिन आर्थिक रुपान्तरणको प्रारम्भिक चरणमा मैले नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्ष एवं अध्यक्षका हैसियतले तत्कालिन प्रधानमन्त्री द्वय स्व. कृष्णप्रसाद भट्टराई र स्व. गिरिजाप्रसाद कोइरालासँग काम गर्ने शौभाग्य प्राप्त गरेको स्मरण गर्न चाहान्छु, उनले उल्लेख गरेका छन्- त्यतिबेला चालिएको आर्थिक सुधारको परिणाम स्वरुप उच्च आर्थिक बृद्धिदर, निर्यात ब्यापार, राजश्व संकलन, विदेशी लगानी लगायतमा ऐतिहासिक उपलब्धी हासिल भएको थियो।’ 
 
चौधरी कांग्रेस प्रवेश गर्ने निश्चित भइ सकेपछि सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले सोमबार सार्वजनिक पत्र लेखेर उनलाई स्वागत गरेका थिए। कांग्रेसले सार्वजनिक गरेको उक्त आव्हान तथा पहलबाट आफू झनै उत्साहित भएको चौधरीले उल्लेख गरेका छन्। आफू आर्थिक सम्बृद्धिको सपना हासिल गर्न हिँडि रहेको र काँग्रेससँगको सहकार्यले त्यो झनै सहज भएको चौधरीको निष्कर्श छ। 
 
चौधरी समानुपातिक सूचीबाट सांसद उम्मेद्वार बन्दै कांग्रेस प्रवेश गरेका थिए। लामो समय नेकपा एमाले निकट रहेका चौधरी पछिल्लो समय अध्यक्ष केपी ओलीका कारण टाढिएका थिए। उनी २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेको तर्फबाट समानुपातिक सांसद समेत बनेका थिए।
 
नेपाली कांग्रेसले आफुलाई गरेको स्वागतले ‘नेपालको नयाँ उचाईको आर्थिक विकासमा आफ्नो क्षमताले भ्याएसम्म योगदान गर्न हौसला मिलेको’ चौधरीले जनाएका छन्। आफु सबै राष्ट्रिय अन्तर्राष्ट्रिय फोरममा नेपालको नाम उच्च पार्न लागेको र कांग्रेस पार्टीमा रहँदा त्यसलाई झनै तिब्रता दिने उनले उल्लेख गरेका छन्। 
 
‘मैले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चहरू मार्फत् राष्ट्रको प्रतिष्ठा अभिबृद्धि र लगानी प्रवर्धनलाई आफ्नो प्रमुख एजेण्डा बनाउँदै आएको छु, उनले विज्ञप्तिमा भनेका छन्- वर्ल्ड इकोनोमिक फोरम देखि फोर्ब्स सम्मका विश्वविख्यात अन्य फोरमहरुमा पनि नेपाललाई दक्षिण एसियाको नमूना राष्ट्रका रुपमा स्थापित गर्न सम्भव छ भन्ने बारेमा मैले अन्तर्राष्ट्रिय जगतको ध्यानकर्षण गराउदै आएको छु।’ 
 

एमाले छाडेर कां‌ग्रेस छिर्नुको कारण यसरी दिए चौधरीले