चार देशका उद्योग खोल्ने गरी झापामा विशाल औद्योगिक पार्क निर्माण थालिँदै

बिजमाण्डू
२०७६ असोज २९ गते ०८:५८ | Oct 16, 2019
चार देशका उद्योग खोल्ने गरी झापामा विशाल औद्योगिक पार्क निर्माण थालिँदै

Tata
GBIME
Nepal Life

काठमाडौं। चीनको महत्वकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरई) अन्तर्गत पूर्वी नेपालको झापा एउटा पूर्वाधार परियोजना शुरु गरिने भएको छ।

चीन र नेपालमैत्री औद्योगिक पार्क नाम राखिएको पार्कको काम ल्हासा आर्थिक तथा प्राविधिक विकास क्षेत्र लगानी विकास कम्पनी लिमिटेडले शुरु गर्न लागेको हो।

शुरुमा ४ सय चिनियाँ कामदार ल्याएर कामको सुरुवात गरिएको छ। नेपालीहरुलाई पनि क्षमता अनुसारको रोजगारी दिइने छ। खासगरी यसमा स्थानीयवासीलाई समेटिने छ।

लगानी बोर्ड र कम्पनीबीचमा आयोजना सम्बन्धि सबै प्रकारको सम्झौंता भइसकेको छ। पार्क झापाको दमक नगरपालिका, गौरादह नगरपालिकामा र कमल गाउँपालिकामा फैलिने छ। यसको निर्माण सक्न करिब १० वर्ष लाग्नेछ। पार्क निर्माण गरि कम्पनीले ४० वर्षसम्म प्रयोग गर्न पाउने गरी सरकारसँग सम्झौता भएको छ। ४० वर्षपछि यो पार्क पुन सरकारलाई हस्तान्तरण गरिनेछ। 

औद्योगिक पार्कबाट ४५ हजार जनालाई रोजगारी दिने लक्ष्य लिइएको छ। पार्कको जमिन अधिग्रहण अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।

पार्कको डिपिआर निर्माण भैसकेको र केही संशोधनपछि काम सुरु गरिने आयोजना हेरिरहेका नेपाली प्रतिनिधि गोविन्द थापाले बताए। उनका अनुसार यो औद्योगिक पार्कले नेपाल, भुटान, बंगलादेशका व्यवसायीलाई समेत समेट्छ। काठमाडौंबाट ३ सय ७० किलोमिटर दुरीमा रहेको पार्क ४ चरणमा निर्माण गरिनेछ। 

दुई चरणमा ९ सय २५ बिगाहा र ४ सय ११ बिघा जमिन अधिग्रहण भैसकेको छ। यस्तै तेस्रो चरणमा ३ सय ५८ बिघा जमिन अधिग्रहण गर्न प्रक्रिया अघि बढिसकेको छ। जग्गाको मुअब्जा रकम निर्धारण भैसकेको र केहि दिनमै सूचना निकाल्ने तयारी कम्पनीले गरेको छ।

नेपालको पुर्वपश्चिम राजमार्ग र भारतीय नाका नजिक रहेकोले पार्क सफल बन्ने कम्पनीले दाबी गरेको छ। चार चरणमा निर्माण गर्ने तयारी गरिएको यस पार्कको पहिलो चरणमा ४ सय २४ हेक्टर क्षेत्रफलमा विकास गरिनेछ । जसको लागि ७८ करोड ६० लाख अमेरिकी डलर खर्च गर्ने तयारी गरेको छ। यसमध्ये १० लाख वर्गमिटर क्षेत्रफलमा उद्योग तथा कलकारखाना विस्तार गरिनेछ। १ लाख वर्गमिटरमा मापदण्डको आधारमा कारखाना स्थापना हुनेछ।

३० हजार वर्गमिटरमा व्यवसायिक पूर्वाधारहरु निर्माण गरिनेछ। ५० हजार वर्गमिटर क्षेत्रफलमा कामदारका लागि बासस्थान बनाइनेछ। साथै कामदारलाई सहयोग पुग्नेगरी विभिन्न सांस्कृतिक सम्पदाहरुको निर्माण गरिनेछ।

दोस्रो चरणमा ३ सय ६३ हेक्टर जमिनमा  विकास गरिनेछ भने तेस्रो चरणमा ३ सय ७५ हेक्टर विकास गरिनेछ। यो पहिलो चरणभन्दा छिटो सम्पन्न हुनेछ। चौथो चरणमा ४ सय २६ हेक्टर जमिनमा पार्क विस्तार गरिनेछ। यो चरणमा औद्योगिक भवन र आवश्यक पूर्वाधारहरु निर्माण गरिनेछ। पार्क निर्माण गर्दा प्राकृतिक स्रोत साधनको संरक्षणमा उच्च ध्यान दिइने कम्पनीको दाबी छ। 

कस्ता उद्योग रहनेछन् ?
दक्षिण एसियामै पहिलोपटक निर्माण हुने अत्याधुनिक औद्योगिक पार्कमा भिन्न देशका व्यवसायीले समेत उद्योग स्थापना गर्न पाउनेछन्। सुरुमा खाद्यान्न र जडिबुटी सम्बन्धि उद्योग स्थापना गरिने कम्पनीले जनाएको छ। 

विस्तारै यातायात र ढुवानीका साधनको उपकरणहरु उत्पादन गरिनेछ। साथै सञ्चार प्रविधिका उपकरणहरु पनि उत्पादन गरिनेछ। 

पार्कमा चारै देशका उद्योगीहरुले उद्योग स्थापना गर्न सक्नेछन्। नजिकका देशहरुमा आवश्यक पर्ने सामाग्री उत्पादन गरि निर्यात गर्ने योजना कम्पनीको छ।

पार्क बन्ने भएपछि स्थानीय खुसी
स्थानीय तहसँग समन्वय गरी आयोजना अघि बढाइएको कम्पनीले दाबी गरेको छ। पार्क बन्ने भएपछि स्थानीयवासी खुसी भएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए। 

'स्थानीय ठाउँमा विशाल विकासको योजना बन्दैछ,' ओलीले भने, 'यसमा स्थानीय जनताको साथ र सहयोग रहनेछ। स्थानीय जनताको ज्ञान सिप र क्षमताको आधारमा रोजगारी समेत पाउने भएपछि यो योजनाले थप महत्व राख्दछ।'