तिहारै आयो लौ झिलिमिली: ६० करोडको बत्ति व्यापार, २० रुपैयाँदेखि नै पाइन्छ बत्ति

बिजमाण्डू
२०७६ कात्तिक १ गते १०:०१ | Oct 18, 2019
तिहारै आयो लौ झिलिमिली: ६० करोडको बत्ति व्यापार, २० रुपैयाँदेखि नै पाइन्छ बत्ति


काठमाडौँ। केही बर्ष अघिसम्म महाबौद्धको कुमारी आर्केडमा विद्युतीय सामाग्री बिक्री गर्ने पसलहरू थोरै मात्र थिए। अहिले भने यस्ता पसलको संख्या ५० हाराहारी पुगिसकेको छ। 

Tata
GBIME
Nepal Life

शहरमा जनघनत्व बढ्दै जाँदा विद्युतीय समाग्रीको समेत माग बढ्दै गएको छ। माग बढेकै कारण पसल र व्यापार दुवै बढ्दै गएको हो। यतिबेला उज्यालोको पर्व तिहार नजिकिँदै छ। तिहारका लागि विद्युतीय सामाग्रीका पसलहरूमा समेत चहल पहल सुरु भएको छ। 

काठमाडौंको महाबौद्धस्थित कुमारी आर्केडका विद्युतीय सामग्रीका पसलहरूमा विस्तारै सर्वसाधारणको भिड बढ्न थालेको छ। तिहारमा बालिने विद्युतीय बत्तिको प्रमुख बजार भएकोले याहाँ सर्वसाधारणदेखि व्यवसायीको भिड बढ्न थालेको हो।

कुमारी आर्केडमा विद्युतीय सामाग्री बिक्री गर्ने पसलहरू यतिबेला 'फेस्टिभल लाइट' ले सजिएका छन्। नयाँ नयाँ लाइटलाई सजाएर ग्राहक पर्खिरहेका व्यवसायीको यस वर्ष थप व्यापार हुने अपेक्षा छ। जसका लागि उनीहरूले विगतका वर्षभन्दा राम्रा लाइट आयात गरेको बताएका छन्।

विगत २५ बर्षदेखि कुमारी आर्केडमा विद्युतीय सामाग्री बिक्री गर्दै आएका किसनलाल गोयलले यस वर्ष २० देखि २५ लाख रुपैयाँसम्मको व्यापार गर्ने लक्ष्य राखेको बताए। नविन ट्रेडर्समार्फत कारोबार गर्दै आएका गोयलले यस वर्ष ६० प्रकारका 'फेस्टिभल लाइट' विक्रीमा ल्याएको बताए। उनले न्यूनतम एक सय रुपैयाँदेखि १२ सय रुपैयाँसम्म पर्ने 'फेस्टिभल लाइट' विक्रीमा ल्याएका छन्। 

कुमारी आर्केडमै रहेको कुमारी गिफ्ट शपले ३० किसिमका फेस्टिभल लाइट विक्रीमा राखेको प्रोपाइटर सञ्जय कन्दोइले बताए। उनले न्यूनतम एक सय रुपैयाँदेखि १६ सय रुपैयाँसम्म पर्ने फेस्टिभल लाइट विक्रीमा राखेका छन्। उनकोमा डिस्को बल, १०० एलइडी, झुप्पा बत्ति, शोपिस, लक्ष्मी गणेशका तस्विर बढी मात्रामा बिक्री हुने गरेको बताए।

श्याम बाबा ट्रेडर्सका प्रोप्राइटर सुरेश रानाले यस वर्ष २० प्रकारका 'फेस्टिभल लाइट' विक्रीमा राखेको बताए। धेरै जसो '१०० एलइडी' को माग हुने गरेको उनको भनाइ छ। यसको मूल्य एक सय रुपैयाँभन्दा माथि रहेको छ। उनका अनुसार लम्बाइ अनुसार त्यसको मूल्य बढ्नेछ।

उनीसँग डिस्को बल एक सय २० रुपैयाँ देखिका छन्। झुप्पा बत्ति ५० रुपैयाँदेखि १५० रुपैयाँसम्म पर्छ। सोपिसमा रहेका लक्ष्मी गणेशका तस्बिरहरू दुई सय ५० रुपैयाँदेखि चार सय ५० रुपैयाँसम्म पर्ने गरेको बताए।

समय अनुसार बत्ति बाल्ने तरिकामा आएको परिवर्तनले उपभोक्ता विस्तारै परम्परागत बत्तीको सट्टा इलेक्ट्रोनिक बत्तितर्फ आकर्षित हुँदै गएका छन्। अचेल चीन र भारतबाट आउने फेस्टिभल लाइटले परम्परागत बत्तीलाई विस्थापित गर्दै लगेको विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष सुरेन्द्र पौडेलले बताए। लोडसेडिङ अन्त्य भएसँगै उपभोक्ता इलेक्ट्रोनिक बत्तितर्फ थप आकर्षित भएको पौडेलको भनाइ छ। 

नेपालमा वार्षिक ८० अर्ब रुपैयाँ बराबरको 'इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स' सामानको व्यापार हुने गरेको पौडेलले बताए। तिहारमा मात्रै देशभर ५० करोड रुपैयाँ बराबरको 'फेस्टिभल लाइट' को व्यापार हुने गरेको उनको भनाइ छ। 

विगतको वर्षहरूमा 'फेस्टिभल लाइट' को व्यापार तीब्र गतिमा बढेको भएपनि पछिल्लो तीन बर्षमा भने खासै बढेको छैन। पछिल्लो समय एलइडी मोडलका 'फेस्टिभल लाइट'आयात हुन थालेको छ, जुन टिकाउ हुन्छ। यसअघिका बत्ति एकै वर्षमा बिग्रिने गरेका थिए। तर एलइडी मोडलका फेस्टिभल लाइट जतन गरी चलाए बर्षौं चल्ने भएकोले उपभोक्ताले दोहोर्याएर चलाउन थालेसँगै यसको व्यवसाय तुलनात्मक रूपमा बढ्न नसकेको पौडेलको भनाइ छ। 

यद्पी यस वर्ष करिब ६० करोड रुपैयाँ बराबरको 'फेस्टिभल लाइटको व्यापार हुने अनुमान पौडेलको छ। नेपालमा चीन र भारतबाट 'फेस्टिभल लाइट' आयात हुने गरेको छ। आयात हुनेमा १० प्रतिशत हिस्सा भारतको रहेको छ भने बाँकी चीनबाट आयात हुने गरेको छ। 

देशभर ६ हजारभन्दा बढी विद्युतीय सामाग्री बिक्री गर्ने पसल रहेका छन्। काठमाण्डौमा मात्रै पाँच सयभन्दा बढी पसलहरू रहेको पौडेलले बताए।