सिमेन्ट उद्योगमा ‘प्राइस वार’: साढे ८ हजार टनको क्लिङ्करको भाउ एक हजार घट्यो

बिजमाण्डू
२०७६ कात्तिक ४ गते ०८:५४ | Oct 21, 2019
सिमेन्ट उद्योगमा ‘प्राइस वार’: साढे ८ हजार टनको क्लिङ्करको भाउ एक हजार घट्यो


काठमाडौं। सिमेन्ट बनाउन आवश्यक कच्चा पदार्थ क्लिङ्करमा 'प्राइस वार' सुरु भएको छ। स्वदेशी उद्योगबाट मागभन्दा बढी उत्पादन भएपछि 'प्राइस वार' सुरु भएको हो। 

Tata
GBIME
Nepal Life

'प्राइस वार' कै कारण अहिले क्लिङ्करको मूल्य प्रति टन साढे सात हजारमा आइपुगेको छ। चिनियाँ संयुक्त लगानीको होङसी शिवम सिमेन्टले क्लिकंर उत्पादन थाल्नेवित्तिकै प्रति टन ८ हजार ५ सयमा बिक्री गरेको थियो। 

होङसीबाट सुरु भएको 'प्राइस वार' राजेश मेटल क्राफ्ट (आरएमसी) समूहको पाल्पा सिमेन्टसम्म आइपुग्दा ७ हजार ७ सयमा  झरेको छ। 

पाल्पा सिमेन्टले ७ हजार ७ सय रुपैयाँमा बिक्री गरेको जानकारी पाउनेवित्तिकै अर्घाखाँची सिमेन्टले टनकै दुई सय रुपैयाँ घटाएर ७ हजार ८ सय रुपैयाँमा बिक्री गरिरहेको छ।

समूहका प्रवन्ध निर्देशक राजेश अग्रवालले मागभन्दा आपूर्ति बढी हुँदा मूल्य घट्नु स्वभाविक भएको बताए। ‘वर्षातसँगै दशैंतिहार र छठसम्म सिमेन्टको माग कम हुन्छ। यो बेलामा सिमेन्टकै माग र मूल्य पनि घट्छ। त्यसैले क्लिकंरको मूल्य पनि घटेको हो,’ उनले बिजमाण्डूसँग भने, 'चाडपर्वपछि निर्माणको काम पनि सुरु हुन्छ। त्यसपछि क्लिङ्करको मूल्य पनि केही बढ्ने देखिन्छ।’

अर्घाखाँची सिमेन्टका संचालक पशुपति मुरारकासमेत सिमेन्टको माग कम भएकाले क्लिङ्करको मूल्य घटेको बताउँछन्।

‘उद्योग बन्द गरेर राख्न मिल्दैन। उत्पादित क्लिङ्कर बिक्रीका लागि मूल्य घटाघढ भएको हो। अब योभन्दा तल मूल्य नजाला’ उनले भने। मुरारकाका अनुसार चाडपर्व सकिएपछि पनि क्लिङ्करको मूल्य बढ्दैन।

‘माग बढेपनि अब मूल्य बढ्ने अवस्था देख्दिन। तर अब योभन्दा तल भने मूल्य जाँदैन’, मुरारकाले भने, 'अरु पनि उद्योगको उत्पादन आउने भएकाले मूल्य बढ्ने अवस्था भने छैन।’ 

रिद्धिसिद्धिले केही समयभित्रै क्लिङ्कर उत्पादन गर्दैछ भने शंकर समूह र गोल्छाको संयुक्त लगानीको सौर्य सिमेन्ट पनि थपिएपछि क्लिङ्करको मूल्यमा थप प्रतिस्पर्धा हुनेछ।

लागत भन्दा कममा बिक्री
उद्योगबीचको प्रतिस्पर्धाका कारण लागतभन्दा कम मूल्यमा क्लिङ्करको बिक्री भइरहेको छ। आरएमसी समूहका प्रवन्ध निर्देशक अग्रवाल प्रति टन क्लिङ्करको लागत ८ हजार रुपैयाँ पर्ने बताउँछन्। 

‘चुनढुंगा ढुवानीदेखि सबै जोड्दा हाम्रो लागत ८ हजार रुपैयाँ छ। तर अहिले उत्पादित क्लिङ्कर हामीले ७ हजार ७ सय रुपैयाँमा बिक्री गरिरहेका छौं,’ उनले भने, 'उत्पादन भएको क्लिकंर थुपारेर राखेर भएन। त्यही भएर लागतभन्दा कममा बिक्री गरिरहेका छौं।’ 

अहिले 'प्राइस वार' मा उत्रिएका केही उद्योगमा अझै विजुली पुगेको छैन। त्यही कारण क्लिङ्करको लागत महँगो भएको हो। होङसी शिवम र आरएमसीले डिजल जेनेरेटरको प्रयोग गरेर क्लिङ्कर उत्पादन गरिरहेका छन्। उनीहरुले बिजुली पाउने हो भने क्लिङ्करको मूल्य अझै घट्ने छ।

भारतबाट आउन छाड्यो
स्वदेशमै सस्तोमा क्लिङ्कर पाइन थालेपछि भारतबाट आयात बन्द भएको छ। अर्घाखाँची सिमेन्टका संचालक मुरारकाले भारतबाट क्लिकंर ल्याउन बन्द भइसकेको बताउँदै फाट्टफुट्ट नेपालगंजका केही उद्योगले ल्याएको हुनसक्ने जानकारी दिए। 

'तर अरु क्षेत्रमा स्वदेशी उद्योगले नै धानिसकेको छ’ उनले भने, 'हामी क्लिङ्करमा आत्मनिर्भर भइसकेका छौं।’

सिमेन्टको माग बढ्ने
उनका अनुसार संघ र प्रदेशका विकास निर्माणको टेण्डर सुरु भएकाले चालु वर्ष निर्माण सामाग्री व्यवसायमा १५ प्रतिशतसम्मको बृद्धि हुने देखिन्छ। 

‘उद्योग थपिएपछि आपूर्ति बढेर मूल्य घट्नु स्वभाविक हो। तर संघियता कार्यान्वयनको पहिलो वर्ष प्रकृया पूरा गर्न धेरै समय वित्यो। तर अब यो वर्षदेखि विकास निर्माणको काम तीब्र रुपमा अघि बढ्ने देखेको छु। अहिले हरेक पत्रिकामा टेण्डरकै विज्ञापनले भरिएको छ’ अग्रवालले भने, 'त्यसैले अहिले क्लिङ्करको भाउ घट्दा आतिनुपर्ने अवस्था छैन।’

नेपाली सिमेन्ट उद्योगले पूर्ण क्षमताका उद्योग सञ्चालन गरेमा करिब एक करोड ५० लाख टन सिमेन्ट उत्पादन गर्न सक्छन्। अहिले एक करोड २० लाख टन सिमेन्ट उत्पादन हुँदै आएको छ।