लेखापरीक्षणपछि ५ बैंकको नाफा घट्यो, १० करोडसम्म नाफा कम, सानिमा बैंकको भने बढ्यो

बिजमाण्डू
२०७६ कात्तिक ४ गते ०९:२३ | Oct 21, 2019
लेखापरीक्षणपछि ५ बैंकको नाफा घट्यो, १० करोडसम्म नाफा कम, सानिमा बैंकको भने बढ्यो


Tata
GBIME
Nepal Life

काठमाडौं। अहिलेसम्म गत आर्थिक बर्षको बार्षिक साधारणसभा ६ वटा बाणिज्य बैंकहरुले सकिसकेका छन्। ६ वटा बैंकको अपरिस्कृत र लेखापरीक्षणपछिको हिसाब किताब हेर्दा नाफामा १० करोडसम्मको अन्तर देखिएको छ। 

अहिलेसम्म बैंक अफ काठमाण्डू (बिओके), सानिमा, कुमारी, माछापुच्छ्रे, सिटिजन्स र एनआइसी एसियाले साधारणसभा सकेर शेयरधनीलाई लाभांससमेत बाँडिसकेका छन्।

यि बैंकले असार मसान्त सकिएपछि अपरिस्कृत हिसाबकिताव सार्बजनिक गरेका थिए। साधारणसभा गर्नका लागि लेखापरीक्षण गराउँदा नाफामा केही अन्तर देखिएको हो।

राष्ट्र बैंकले नोक्शानी ब्यवस्थापन गर्न लगाउने, कतिपय ठाउँमा जोखिम भारति सम्पति थप्नु पर्नेजस्ता कारणले उनीहरुको नाफा अपरिस्कृत र लेखापरीक्षणपछि घट्ने गरेको हो। सानिमा बैंकको भने नाफा सामान्य बढेको छ। 

अपरिस्कृतमा २ अर्ब २४ करोड ३८ लाख नाफा देखाएको सानिमाको लेखापरीक्षणपछि नाफा २ अर्ब २५ करोड ८० लाख नाफा पुगेको छ। 

बाँकी पाँच बैंकको नाफा भने घटेको देखिन्छ। सबैभन्दा बढि कुमारी बैंकको १० करोड ३६ लाखले नाफा घटेको देखिन्छ। बैंकले अपरिस्कृत नाफा १ अर्ब ३३ करोड ४० लाख देखाएको थियो। लेखापरीक्षण गर्दा नाफा १ अर्ब २३ करोड ३ लाखमा झरेको हो।

बिओकेको १ अर्ब ९३ करोडको नाफा १ अर्ब ८९ लाखमा झरेको छ। अर्थात नाफा ४ करोड १२ लाख रुपैयाँ घटेको छ। यसैगरी माछापुच्छ्रे बैंकको सबैभन्दा कम अन्तर छ। बैंकको नाफा ६४ लाख ८७ हजारले मात्र घटेको छ। बैंकको लेखापरीक्षणपछिको नाफा १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ छ। 

सिटिजन्स बेंकको २ करोड ५२ लाख रुपैयाँले घटेर १ अर्ब ४६ करोड ३२ लाखमा आएको छ भने एनआइसी एसियाको ३ करोडले घटेर ३ अर्ब २ करोड ३२ लाखमा आएको छ।