तिहारका लागि आउने चिनीको अत्तोपत्तो छैन, धन्न अहिलेकै स्टकले अभाव भने हुँदैन

बिजमाण्डू
२०७६ कात्तिक ४ गते १३:५१ | Oct 21, 2019
तिहारका लागि आउने चिनीको अत्तोपत्तो छैन, धन्न अहिलेकै स्टकले अभाव भने हुँदैन

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले खाद्य तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनलाई २० हजार टन चिनी ल्याउन दिने निर्णय गर्यो। चाडपर्वमा चिनी अभाव हुन नदिन सरकारले गरेको निर्णय अहिलेसम्म पनि कार्यान्वयन भने आउन सकेको छैन्।

सरकारलेनै ढिला निर्णय गरेका कारण चाडपर्व सकिएपछि मात्रै चिनी आयात हुने देखिन्छ। यो वर्ष स्टकमा चिनी रहेकोले तिहारमा अभाव भने हुने देखिदैन। चिनी उद्योगसँग ३० हजार टन कारखानामा, साल्ट ट्रेडिङसँग १५ सय टन र बजारमा १५ सय टन गरेर ६० हजार टन चिनी स्टकमा छ। तिहारमा ३० हजार टन चिनी खपत हुन्छ।

अरु सामान्य समयमा मासिक २० हजार टन मात्रै चिनी खपत हुन्छ। तर सरकारले समयमा निर्णय नगर्दा र सार्वजनिक संस्थानले खरीद नियमावली अनुसार प्रकृया अगाडि बढाउँदा चाडपर्वका लागि ल्याउने भनिएको चिनी कहिले आउने अहिलेसम्म पनि अत्तोपत्तो छैन।

‘दशैंतिहार कहिले पर्छ भन्ने एक वर्ष अघिनै थाहा हुन्छ। तर सरकारले एक महिना अघि मात्रै चिनी ल्याउन दिने निर्णय गर्यो। ती संस्थानले अहिले कार्यविधी बनाउँदैछन्,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक कर्मचारीले भने,’सरकार चलाउनेको भिजन यहीबाट थाहा हुन्छ।’

खाद्य कार्यविधी बनाउँदै

मन्त्रिपरिषद्बाट २० प्रतिशत मात्रै भन्सार तिरेर चिनी आयात गर्न दिने निर्णयपछि खाद्य तथा व्यापार कम्पनीले कार्यविधिनै नबनेको भन्दै प्रकृयानै अघि बढाएको छैन। साल्ट ट्रेडिङ भने बल्ल टेण्डर आब्हान गरेको छ।

सार्वजनिक खरिद ऐन अनुसार सरकारी संस्थानले सामान किन्दा निश्चित कार्यविधी बनाउनुपर्ने प्रावधान छ। कार्यविधी बनाउनका लागि कन्सल्ट्यान्ट हायर गरेको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले बताईन्।

‘साल्ट ट्रेडिङसँग खरिद प्रकृयाको लागि आर्थिक कार्यबिधी छ। हामीसँग नभएकोले कार्यविधी बनाउँदैछौं। कार्यविधी तयार भएपछि मात्रै खरिदको लागी टेण्डर गर्छौं,‘ उनले बिजमाण्डूसँग भनिन्।

साल्ट ट्रेडिङको १५ दिन अघि टेण्डर

साल्ट ट्रेडिङका सहमहाप्रबन्धक कुमार राजभण्डारीले सरकारको निर्णय अनुसार टेण्डर आब्हान गरिएको जानकारी दिए।‘अहिले हामीसँग १५ सय टन चिनी स्टक छ। तिहार पछि थप चिनी ल्याउन टेण्डर आव्हान गरिसकेका छौं। बजारमा अभाव हुँदैन,‘ उनले भने।

ट्रेडिङले १० हजार टन चिनी खरिद का लागी गत असोज १७ गते टेण्डर आव्हान गरेको थियो। प्रतिस्पर्धाबाट खरिद गर्नुपर्ने र ३० दिनको अवधी राख्नु पर्ने भएकाले तिहार अगाडि चिनी आइपुग्दैन्।

कति छ चिनी?

चिनी उत्पादक संघका अनुसार उद्योगसँग ३० हजार टन चिनी कारखानामै छ भने १५ हजार टन बजारमा छ। अहिले पनि अवैध बाटो हुँदै चिनी आइरहेको छ।

 ‘अवैध रुपमा भारतबाट चिनी आएकाले नेपाली उद्योगको चिनी स्टक रहन गएको हो। उद्योगी सँग चिनीको प्रयाप्त स्टक छ। तिहारमा कुनै समस्या हुँदैन्,’ संघका अध्यक्ष शशिकान्त अग्रवालले बिजमाण्डूसँग भने,’ त्यसमा पनि अहिले पनि अवैध रुपमा चिनी आयात भइरहेको छ।’

उनका अनुसार भन्सार नतिरि आएका चिनी किलोमै १५ रुपैयाँ सस्तो पर्छ। ‘तस्करीबाट आएको चिनी १५ रुपैयाँ सस्तो पर्ने हुँदा स्वदेशी बिक्री भएको छैन,’ अग्रवालले भने, ‘त्यही भएर पाँच वर्ष पहिलेकै मूल्यमा चिनी उपभोक्ताले पाइरहेका छन्।’ बजारमा अहिले चिनी ८० रुपैयाँमा बिक्री भइरहेको छ। होलसेल व्यापारीले ७६ रुपैयाँमा चिनी बिक्री गरिरहेका छन्।

नेपालमा बार्षिक सरदरमा २ लाख ५० हजार टन चिनी उत्पादन हुने गरेको छ। पाकिस्तानबाट सस्तो चिनी आयात भएर स्वदेशी उद्योग मर्कामा परेपछि सरकारले भन्सार दर दोब्बर बनाउँदै परिमाणात्मक बन्देज समेत लगाएको थियो। सरकारले असार मसान्तपछि चिनीमा परिमाणात्मक बन्देजको म्याद थपेन्। चिनी आयात खुल्ला भएपनि भन्सार दर र मूल्यांकनका कारण आयात भने हुन सकेको छैन।

भारत र पाकिस्तानमा अहिले पनि चिनीको मूल्य टनको ३ सय ४० डलर छ। तर सरकारले गत वर्षदेखि ४ सय ६० डलर बनाएको छ। गत आर्थिक वर्षसम्मको ३० प्रतिशत भन्सार महसुललाई पनि गत जेठ १५ देखि ४० बनाइएको छ। यस्तो अवस्थामा चिनी आयात गर्दा प्रतिकिलो ९० रुपैयाँ व्यवसायीकै पर्छ।