भन्सार असुलीको रिर्पोटकार्ड: मुख्य भन्सार कार्यालयले भेटेनन् लक्ष्य, यस्तो छ असुलीको अवस्था

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७६ कात्तिक ५ गते १०:०९ | Oct 22, 2019
भन्सार असुलीको रिर्पोटकार्ड: मुख्य भन्सार कार्यालयले भेटेनन् लक्ष्य, यस्तो छ असुलीको अवस्था


Tata
GBIME
Nepal Life

काठमाडौं। चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा देशका मुख्य भन्सार कार्यालयले राजस्वको लक्ष्य भेट्टाउन सकेनन्।

वीरगंज, सुक्खा बन्दरगाह, भैरहवा, विराटनगर र काँकडभिट्टाजस्ता मुख्यभन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व असुली गर्न असफल भएका हुन्।विराटनगर भन्सारले असोज मसान्तसम्ममा १३ अर्ब ९४ करोड ३१ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा ८ अर्ब ४७ करोड ६० लाखमात्र असुली गरेको छ।

कार्यालयको चालु आवको वार्षिक लक्ष्य ४९ अर्ब ६४ करोड ६० लाख छ। जसअनुसार पहिलो त्रैमासिकअवधिमात्यसको २५ प्रतिशत १२ अर्ब ४१ करोड १५ लाख सङ्कलनहुनुपर्नेमा ८ प्रतिशतले राजस्व घट्न गई कुललक्ष्यको १७ दशमलव ७ प्रतिशत मात्र असुली भएको छ।कार्यालयले पहिलो त्रैमासिक अवधिमा भन्सार महसुलतर्फ ३ अर्ब ३५ करोड ८३ लाख, भ्याटतर्फ ४ अर्ब ४२ करोड १४ लाख र अन्तःशुल्क ६९ करोड ६२ लाख सङ्कलन गरिएको जनाएको छ।

त्यस्तै भैरहवा भन्सार कार्यालयले पनि पहिलो तीनमहिनाको २९ अर्ब ७७ करोड २७ लाख रुपैयाँको लक्ष्यमा २४ अर्ब ३८ करोड ३६ लाखमात्र असुली गरेको छ।कार्यालयले गत आर्थिक वर्षको पहिलो तीन महिनामा २० अर्ब ६७ करोडको लक्ष्यमा २३ अर्ब ३९ करोड सङ्कलन गरी ११३ प्रतिशतप्रगति गरेकोमा यस वर्ष ८२ प्रतिशत मात्र लक्ष्य भेट्टाउन सकेको छ।

भैरहवा भन्सारले चालु आवको पहिलो तीन महिनामा भन्सार महसुलतर्फ १२ अर्ब ७० करोडको लक्ष्यमा ९ अर्ब २१ करोड, भ्याटमा १० अर्ब ६८ करोडको लक्ष्यमा ७ अर्ब ८५ करोड र अन्तःशुल्कमा ६ अर्ब ३७ करोडको लक्ष्यमा ५ अर्ब ३० करोड सङ्कलन गरिएको जनाएको छ ।पूर्वको प्रवेशद्वार मानिने काँकडभिट्टा भन्सारले पनि लक्ष्य अनुसारको प्रगति हासिल गरेको छैन।

सो कार्यालयले असोज महिनासम्ममा ३ अर्ब ७१ करोड ८५ लाख सङ्कलन गर्नुपर्नेमा २ अर्ब ३९ करोड ५४ लाखमात्र गरी ६४ दशमलव ४२ प्रतिशत प्रगति गरेको छ।कार्यालयले यो अवधिमा भन्सार महसुलबाट १ अर्ब १७ करोड ६४ लाख, भ्याट ९८ करोड ४० लाख र अन्तःशुल्कबाट ६ करोड १५ लाख सङ्कलन गरिएको जनाएको छ।

मुलुककै मुख्य नाकाको रुपमा रहेको वीरगंज भन्सारको राजस्व असुली निराशाजनक छ। गत वर्षको तुलनामा चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा वीरगंजका दुई भन्सार कार्यालयले लक्ष्य भन्दा करिब १७ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेका छन्। वीरगंज भन्सार(आइसिपी पनि)ले लक्ष्य भन्दा १४ अर्ब रुपैयाँ कम असुली गरेको छ भने सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले लक्ष्य भन्दा करिब ३ अर्ब रुपैयाँ कम असुली गरेको छ।

वीरगंज भन्सारका सूचना अधिकारी मनीषकुमार महतोका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा ५२ अर्ब ९८ करोड लक्ष्यमा ३८ अर्ब ६२ करोड मात्र राजस्व संकलन भएको छ। दशैतिहारमा समेत आयात नबढेर राजस्व लक्ष्य प्राप्त भएन्। वीरगंज भन्सार कार्यालयले असोजमा जम्मा १२ अर्ब ८८ करोड मात्र राजस्व संकलन गर्न सकेको महतोले जानकारी दिए। साउनदेखि असोज सम्म समानको आयात करिब १२ प्रतिशतले घटेको कारण राजस्व प्रभावित भएको हो।

चालू आवमा सवारी साधन,औद्योगिक कच्चा पदार्थ,क्लिकर,फलाइएस,इन्धन, विभिन्न सामान,फलामजन्य वस्तु,कस्मेटिक सामग्री,मदिरा,इनर्जी ड्रिंक्सको आयातमा गिरावट आएको छ। सुक्खा बन्दरगाह भन्सारले चालू आवको असोज मसान्त सम्म ११ अर्ब ७६ करोड २१ लाख राजस्व लक्ष्य पाएकोमा ८१ प्रतिशतको दरले जम्मा ९ अर्ब ६२ करोड मात्र असुली गर्न सफल भएको छ। कार्यालका सूचना अधिकारी विकास कुमारले असोजमै आयात घटेको कारण राजस्व लक्ष्य नपुगेको बताए।