नेपाल–बंगलादेश वाणिज्य सहसचिव स्तरीय वार्ता शुरु, भिसा सहजीकरणदेखि धागो निकासीसम्मका एजेण्डा

बिजमाण्डू
२०७६ कात्तिक ५ गते १२:५० | Oct 22, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल र बंगलादेश द्धिपक्षीय व्यापार वार्ता काठमाडौंमा सुरु भएको छ। वार्ताको नेपाली प्रतिनिधिको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकास सहसचिव नवराज ढकालले गरेका छन् भने बंगलादेशको तर्फबाट त्यहाँका अतिरिक्त सचिव सरिफा खानले गरेकी छिन्।

ढकालका अनुसार बंगलादेशसँग विद्युत व्यापार, विद्यार्थीका लागि भिसा सहजीकरण, कार्गो बोक्ने सवारी साधन, बन्दरगाह प्रयोग, धागो निकासी लगायत २३ विषयमा छलफल हुनेछ। छलफलको एजेण्डालाई मन्त्रीपरिषदले समेत स्वीकृति दिइसकेको छ।विद्युत व्यापारको विषयमा भने सामान्य छलफल हुनेछ। सोही वार्ताबाटै विद्युत व्यापारको विषयमा छलफल गर्न अर्को समिति निर्माणको प्रस्ताव नेपाली पक्षले गर्दैछ।

बंगलादेशसँग सन् १९७६ मा चार वटा बन्दरगाह प्रयोग गर्न पाउने गरी सम्झौंता भएको थियो। हाल नेपालले फुलबारी बन्दगाह मात्र प्रयोग गर्न पाएको छ। अन्य बन्दरगाह प्रयोग सहज छैन।

बंगलादेश र नेपाल दुबै विकासील राष्ट्र भएकोले स्वदेशी उद्योग संरक्षणका लागि विभिन्न सेफगार्ड उपाय अबलम्बन गरिरहेका छन्। तयारी पोशाक उत्पादनमा विश्वमै अग्रणी रहेको बंगलादेशले धागो आयातमा कडाई गरेको छ भने नेपालले पनि स्वदेशी उद्योग संरक्षणको लागि भन्दै बंगलादेशी जुस आयातमा रोक लगाएको छ।

स्रोतका अनुसार बंगलादेशी पक्षले जुस निकासीमा लगाइएको प्रतिवन्धको मुद्दालाई प्राथमिकतामा राख्नेछ। नेपालले जुस निकासीमा प्रतिवन्ध लगाउँदा बंगलादेशको कम्पनी प्रान सबैभन्दा बढी प्रभावित भएको छ। प्रानको जुस झण्डै एक अर्बको नेपालमा आयात हुन्थ्यो।