शेयर बजारमा जम्मा साढे १६ करोड रुपैयाँको कारोबार, किन उत्साहित छैनन् लगानीकर्ता?

बिजमाण्डू
२०७६ कात्तिक ५ गते १५:४८ | Oct 22, 2019
शेयर बजारमा जम्मा साढे १६ करोड रुपैयाँको कारोबार, किन उत्साहित छैनन् लगानीकर्ता?

Tata
GBIME
Nepal Life

काठमाडौँ। मंगलबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। तर कारोबार रकममा भने खासै सुधार आएको छैन। नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले शेयर बजारको गतिबाट लगानीकर्ता निराश देखिएको बताए।

उनका अनुसार सरकार र उसका नीतिका कारण बजार सुधार हुन नसकेको हो। मंगलबार शेयर बजार मापक सूचक २.४० अंकले बढेर ११३४.७९ अंकमा उक्लिएको छ। तर कारोबार रकम भने १६ करोड ५२ लाख रुपैयाँमा समेटिएको छ। एक सय ५५ कम्पनीको ६ लाख ५४ हजार कित्ता शेयर कारोबार भएको छ।

पछिल्लो समय सूचीकृत भएका कम्पनीहरूले समयमा नवीकरण शुल्क नबुझाएका कारण उनीहरूको कारोबार नेप्सेले रोक्का गरेको थियो। यही कारण सबै कम्पनीको दोस्रो बजारमा शेयर कारोबार हुन सकेन्। पछिल्लो समय ५० करोड रुपैयाँको कारोबारलाई औसत कारोबारको रूपमा लिने गरिन्छ।

मंगलबार सबैभन्दा बढी नबिल बैकको शेयर कारोबार भयो। नविलको मात्रै एक करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। कारोबार रकमकै आधारमा प्रभु बैक दोस्रो भएको छ। प्रभुको मात्रै एक करोड तीन लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। ९४ लाख रुपैयाँको कारोबार गर्दै एनआइसी एसिया बैक तेस्रो भएको छ। एनआइसीको ९४ करोड रुपैयाँको शेयर कारोबार भएको हो।

मंगलबार ११ समूहको कारोबारमा पाँच समूहको उपसूचक घटेको छ भने ६ समूहको उपसूचक बढेका छन्। सबैभन्दा बढी वाणिज्य बैक समूहको ०.४३ प्रतिशतले उपसूचक बढेको छ। अन्य समूह ०.५४ प्रतिशतले घटेको छ।