भाइ मसलामा ठूला व्यापारीको बोलवाला, आयातकर्तालेनै बनाउन थाले मसलाको प्याकेट

बिजमाण्डू
२०७६ कात्तिक ५ गते १६:२० | Oct 22, 2019
भाइ मसलामा ठूला व्यापारीको बोलवाला, आयातकर्तालेनै बनाउन थाले मसलाको प्याकेट

Tata
GBIME
Nepal Life

काठमाडौँ। तिहार अगाडि डिल्लीबजारका रामकुमार श्रेष्ठ र उनको पूरै परिवारलाई भाइ मसलाको प्याकेट बनाउन भ्याईनभ्याई हुन्थ्यो।

सामान्य प्लास्टिकमा विभिन्न मसला राखेर प्याकेट बनाएर उनले बिक्रीका लागि राख्थे। श्रेष्ठ मात्रै होइन उपत्यकाका धेरै जसो किराना पसलका व्यवसायीलाई यही चटारोले छोप्थ्यो। तर अहिले उनलाई प्याकेट बनाउन चापाचाप छैन। अहिले उनले बनिबनाउ भाइमसलाको प्याकेट पसलमा ल्याएर बिक्री गर्छन्।

'विगतमा हामीले आफै विभिन्न मसला प्रयोग गरेर भाइमसला बिक्री गर्थ्यौ' किराना व्यवसायी तथा खुद्रा व्यवसायी महासंघका अध्यक्ष समेत रहेका श्रेष्ठले बिजमाण्डूसँग भने,'अहिले ९० प्रतिशत रेडिमेड भाइमसला आउँछन्। हामी त्यही बिक्री गर्छौ।' उनका अनुसार समय र जनशक्तिका आधारमा रेडिमेड भाइमसलासँग प्रतिस्पर्धा गर्न सकिदैन्। उनका अनुसार अहिले कुलेश्वर र कालिमाटीमा होलसेल व्यापारीलेनै भाइमसलाको प्याकेट बनाउने गर्छन्।

'कुलेश्वरका थोक व्यापारीले ठूलो परिमाणमा ड्राई फ्रुट्स विदेशबाट आयात गर्छन्। त्यही उनीहरूले आकर्षक किसिमका प्याकेट बनाउने गर्छन्। उनीहरूले कम्तीमा ५० रुपैयाँ देखि १२ सय रुपैयाँ सम्म पर्ने भाइ मसलाका प्याकेट तयार गर्छन्,' श्रेष्ठले भने,'त्यो मसला २० प्रतिशत मुनाफा लिएर किराना व्यवसायीलाई बेच्छन्। हामीले अहिले त्यही बिक्री गरिरहेका छौं।'

थोरै मूल्यको प्याकेटमा तुलनात्मक रूपमा सस्ता मसला हुने गर्छ।मूल्य अनुसारका प्याकेटमा मसला प्रकृति फरक हुने गर्छ।

कहाँबाट आयात हुन्छ?

अधिकांश ड्राइ फ्रुट्स विदेशबाट आयात हुन्छ। ओखर, मखना बढी जसो चीनबाट आयात हुने गरेको छ। हाडे बदाम (आलमण्ड)भारत, अमेरिका र अस्ट्रेलिया लगायतका देशबाट आयात हुन्छ। तिहारकालागि मात्रै व्यवसायीले ७० करोड रुपैयाँ माथिको ड्राइ फ्रुट्सको व्यापार गर्छन्। गत दुई महिनामै करिब ५० करोड रुपैयाँ भन्दा बढिको ड्राइ फ्रुट्स भित्रिइसकेको छ।

यो वर्ष मसलाको मूल्य खासै बढेको छैन। खाद्य तथा किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले यो वर्ष मसलाको मूल्यमा खासै परिवर्तन नभएको बताए।

उनका अनुसार दुई महिना अघि भन्दा केही ड्राइ फ्रुट्सको मूल्य किलोमा ५० रुपैयाँदेखि सय रुपैयाँसम्म मूल्य बढेको छ। एक होलसेल व्यापारीका अनुसार दुई महिना अघि सबैजसो मसलाको मूल्य किलोमा ५० देखि सय रुपैयाँ मूल्य घटेको थियो। तिहारको पूर्वसन्ध्यामा ती सबै मसलाको मूल्य त्यही अनुपातमा बढाइएको छ।

तिहार मसला

क्र.स.

भाई मसला

प्रति किलोग्राम 

काजु

१५००

किसमिस

५००

पेस्ता

१७००

बदाम(आलमोण्ड)

१३५०

ल्वाङ्

१८००

सुकमेल

५५००

छोगडा

२००

नरिवल

४८०

सुपारी

६५०

१०

ओखर

६२०

११

अंजीर

२०००

१२

दालचिनी

५००

१३

मिश्री

१८०

१४

खुर्पानी

९००

१५

मखन

१२००

१६

अलैची

१५००