नेपाल-बंगलादेश व्यापार वार्ता: भारत समेत राखेर त्रिदेशीय पारवहन सम्झौंता गर्न प्रस्ताव

बिजमाण्डू
२०७६ कात्तिक ५ गते २०:३२ | Oct 22, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालले भारत-बंगलादेशसहितको त्रिदेशीय पारवहन सम्झौंताको प्रस्ताव गरेको छ। काठमाडौंमा मंगलबारदेखि सुरु भएको व्यापार वार्तामा नेपाल-बंगलादेश र भारतसहितको त्रिदेशीय पारवहन सम्झौंताको प्रस्ताव गरेको हो।

मंगलबार भएको वार्तामा केही एजेण्डामा सहमति जुटेको छ भने केही मुद्दामा बुधबार पनि छलफल भएर अन्तिम रुप दिइनेछ। सहसचिवस्तरीय वार्तामा सहमति भएका बुँदा सचिवस्तरीय बैठकले अनुमोदन गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ।

 त्रिदेशीय साझेदारी अवधारणाअन्तर्गत रेल, सडक र जलमार्गमार्फत रुट तयार पार्नुपर्ने नेपालको प्रस्ताव छ। यो प्रस्ताव राख्नुको उदेश्य सोही रुटमार्फत नेपालले अवरोध विना नै बंगलादेशसँग सोझै ब्यापार र निर्यात गर्न पाउने भएकाले नेपालले त्रिदेशीय सम्झौंताको प्रस्ताव गरेको हो। गत वर्ष भएको नेपाल–भारत व्यापार तथा पारवहन सन्धि पुनरावलोकन बैठकमा समेत नेपालले त्रिदेशीय सम्झौंताको प्रस्ताव गरेको थियो।

सहसचिव स्तरीय व्यापार वार्तामा द्धिपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा)का बारेमा पनि छलफल भएको छ। यस्तै काठमाडौं-ढाका सीधा बससेवाका बारेमा पनि छलफल भएको छ। नेपालले कृषिजन्य वस्तु र औद्योगिक उत्पादन भन्साररहित सुविधाका लागि समेत छलफल भएको छ। बैठकमा बंगलादेशको रंगपुरबाट विराटनगर/भद्रपुर सीधा उडानका लागि समेत छलफल भएको थियो।

छलफलमा बंगलादेशले जुस प्रतिवन्धलाई प्रमुखताका साथ राखेको थियो। सरकारले स्वदेशी जुस उद्योग संरक्षण गर्न विदेशीलाई प्रतिवन्ध लगाएको थियो। यो प्रतिवन्धले सबैभन्दा ठूलो प्रभाव भने बंगलादेशी कम्पनी प्रानलाई परेको थियो।

प्रान कम्पनीको जुस गत वर्ष झण्डै एक अर्बको नेपालमा आयात भएको थियो। यही बजार जोगाउन बंगलादेशले प्रतिवन्ध फुकुवाको मुद्दालाई बैठकमा राखेको हो।

जुस निर्यात ठप्प भएलगत्तै प्रान फुड्सका अध्यक्ष एहसान खान चौधरीले नेपाल भ्रमण समेत गरेका थिए। नेपालले धागो निकासी सहजीकरणको मुद्दालाई बैठकमा राखेको थियो। धागो निर्यात खुल्ला गरेपनि अहिलेसम्म पचास हजार डलरको मात्रै धागो कोलकाता हुँदै बंगलादेश निकासी भएको छ।

आयात खुल्ला गरेको एक वर्षमा यति थोरै परिमाणको धागो नेपालबाट जानुको कारण हो, बंगलादेशले बंगलाबन्ध मार्गबाट नेपालको एक्रेलिक धागो मात्रै निकासीको अनुमति दिएको छ।

एक्रेलिक धागो मात्रै निकासीको सुविधाले नेपाली उद्योगलाई कुनै फाइदा नभएकोले निकासी धेरै न्यून भएको हो। एक्रेलिक धागोको माग बंगलादेशमा अत्यन्तै न्यून छ।भिस्कस यार्न, पोलिष्टर भिस्कस, डाइड यार्न (रंगिन धागो)को माग बंगलादेशमा उच्च छ। अझ बंगलादेशले एक्रेलिक धागोको निकासी एक वर्षका लागि मात्रै परीक्षणका लागि खुला गरेको जनाएको छ।बंगलादेशमा गोलभेडा लगायतको तरकारी निर्यातका लागि बाटो खुलेको छ ।

यस्तै अलैंची, अमिस्रो जस्ता उत्पादनहरु नेपालले निर्यात गर्न पाउने सहमति समेत भएको छ। बंगलादेशले नेपालका जलविद्युतमा लगानी गर्न समेत सहमत भएको छ।   

मेडिकल अध्ययन गर्न लाखौं खर्च गरेर जाने नेपालीका लागि भिसा सहजीकरण गर्न नेपालले प्रस्ताव राखेको थियो भने बंगलादेशले पनि आफ्ना नागरिक सहज प्रवेशका लागि भिसा सरलीकृतको प्रस्ताव गरेको छ। भन्सार विभागका अनुसार गत वर्ष बंगलादेशसँग व्यापार घाटा २ अर्ब ९४ रुपैयाँ छ। सो अवधिमा नेपालले १ अर्ब २९ करोडको निर्यात गर्दा ४ अर्ब २४ करोड रुपैयाँ बराबरको आयात गरेको थियो।