व्यक्तिगत ‘हिसाबकिताव’ नमिलेपछि मन्त्री महासेठले सूर्यविनायक-धुलिखेल सुरुङमार्ग रोके

बिजमाण्डू
२०७६ कात्तिक २५ गते ०९:१३ | Nov 11, 2019
व्यक्तिगत ‘हिसाबकिताव’ नमिलेपछि मन्त्री महासेठले सूर्यविनायक-धुलिखेल सुरुङमार्ग रोके


Tata
GBIME
Nepal Life

काठमाडौं। मूख्य पूर्वाधार निर्माणको जिम्मा लिएका मन्त्री नै विकास विरोधी देखिएका छन्। भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठकै चाहनामा यतिबेला सूर्यविनायक-धुलिखेल सुरुङमार्ग निर्माण रोकिएको छ।
 
शिलान्यास गरेर चालु बर्षबाट निर्माणनै सुरु गर्नुपर्ने सुरुङमार्ग मन्त्रीकै स्वार्थका कारण रोकिएको हो। जापान सहयोग नियोग(जाईका)को सहयोगमा डिटेल रिपोर्ट तयार भएपछि ऋण सम्झौंता गर्ने मौखिक सहमति भएको थियो। लिखित सम्झौता हुनुभन्दा केही दिनअघि महासेठले आयोजना महँगो भएको भन्दै बखेडा झिकेपछि परियोजना अगाडि बढ्न नसकेको हो।

उनको व्यक्तिगत स्वार्थका कारण सम्झौता रोकिएको छ। प्रतिवेदन आउँदा मन्त्री महासेठ सकारात्मक थिए। तर केही अरु विदेशी कम्पनीसँग भेटेपछि त्योभन्दा सस्तोमा बनाउन सक्ने भन्दै रोक्ने पक्षमा उनी पुगेका हुन्। 

'अरु केहि होईन। मन्त्रीले आफुलाई फाईदा नहुने भएपछि परियोजना नै रोक्न भनेका हुन्' मन्त्रालय उच्च स्रोतले भन्यो, 'नागढुङगा नौविसे सुरुङमार्ग पनि मन्त्रीले रोक्न खोजिरहेका थिए। जापानीहरुले प्रधानमन्त्री कार्यालय पुगेर ऋण सहयोगनै रोक्ने चेतावनी दिएपछि काम अघि बढेको हो।' 

अरु कम्पनीलाई दिएर विभिन्न खालका फाईदाहरु लिन पल्केका मन्त्री जापानी कम्पनीले पाए कुनै फाईदा नहुने भएपछि रोक्नतिर लागेको ती अधिकारी दाबी छ। 

सडक विभागका एक इन्जिनियरका अनुसार यो आयोजनाको लागत महँगो छैन। उसले बनाउने सडक र टनेलको स्ट्याण्डर्ड अनुसार उपयुक्त पनि छ। 

'आज बनाएर भोलि भत्कने जस्तो बाटो होईन यो। विपी हाईवे कै स्ट्याण्डर्डमा छ। यसमा डिटेलमा लागत हिसाव गरिएको छ' उनले भने।

जाईकासँग सम्झौता गरेलगत्तै विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने र यहि बर्षबाट निर्माण गर्ने योजना थियो। अब मन्त्रीका कारण परियोजना अनिश्चित बनेको छ। 

'मन्त्रीको काम कसलाई ठेक्का दिने‍/नदिने निर्णय गर्ने होइन। तर यहाँ एउटा कम्प्युटर किन्न पनि मन्त्रीलाई सोध्नु पर्ने अवस्था छ' उनले भने 'मन्त्रीले नीतिगत निर्णय गर्ने हो। काम भए/नभएको सुपरिवेक्षण गरेर आश्यक निर्देशन दिने हो।' 

ती अधिकारीले पूर्वाधार मन्त्री महासेठ रहुन्जेल केपी ओलीको सरकार बदनाम भैरहने दाबीसमेत गरे। उनका अनुसार कर्मचारीहरु कोही पनि सहि हिसावले काम गर्न सकिन्छ भन्नेमा छैनन्। महासेठ आएपछि भौतिक पूर्वाधार मन्त्रालय र मातहतका कर्मचारीको एकदमै धेरै सरुवा भैरहेको छ। मन्त्रीले आफ्नो स्वार्थमा काम नगर्ने कर्मचारीको तत्कालै सरुवा गरिदिन्छन्। 

सरकारको आग्रहमा जाईकाले परामर्शदाता नियुक्त गरेर नक्सा डिजाईन गरेको हो। यो क्षेत्रमा सडक साँघुरो र केहि स्थानमा धेरै घुम्तीहरु रहेका कारण घण्टौसम्म जाम हुने गरेको छ। ट्राफिक व्यस्तता बढ्न थालेपछि ८ लेनमा सडक विस्तार गर्ने योजना बनेको थियो। 

कोटेश्वर-सूर्यविनायक सडक निर्माण गरेको जापानले नेपाल सरकारकै चाहनामा अध्ययन गरेर निर्माण गर्न लागेको थियो। 

प्रतिवेदनमा उल्लेख भए अनुसार करिव १५ किलोमिटर सडक ८ लेनमा विस्तार र साँगामा डेढ डेढ किमीको टनेल निर्माण गर्दा २२ अर्ब रुपैयाँ लागत लाग्ने उल्लेख छ। टनेल नबनाई सडक मात्रै ८ लेनको बनाउँदा १६ अर्व र टनेल सहितको २२ अर्व लाग्ने प्रतिवेदनमा उल्लेख छ।

भक्तपुरस्थित पलासेबाट धुलिखेलतिर जाने सडक जोखिमपूर्ण छन्। अन्यन्त धेरै साघुरा घुम्तीहरु छन्। पलासेको गणेशमन्दिरबाट धुलिखेलतर्फ सुरुङमार्ग निर्माण गर्नुपर्ने उल्लेख छ। धुलिखेलतिर जान आउनका लागि १.३/१.३ किमीको दुईटा टनेल निर्माण गर्दा उपयुक्त हुने प्रतिवेदनमा भनिएको छ।

मन्त्री कै कारणले जापान र नेपालको कुटनीतिक सम्वन्धमा समेत असर पर्न सक्ने ती अधिकारीले बताए। मन्त्रीको ‍ निर्णयका कारण जापानी रिसाएका छन्। केहि परियोजनाका लागि दिन लागेको सहुलियत ऋण समेत रोक्ने संकेत उनीहरुले गरेका छन्। जापानले करिव ०.०१ प्रतिशत ब्यादरमा ऋण दिने गरेको छ। नेपाललाई  सबैभन्दा कम ब्याजदरमा सहुलियत ऋण दिने मुलुक जापान हो।