एक्चुरीको पढाइका दुई नेपाली छानिए, वार्षिक दुई लाख डलरसम्म आम्दानी हुने विषय

बिजमाण्डू
२०७६ मंसिर १८ गते १५:२५ | Dec 4, 2019
एक्चुरीको पढाइका दुई नेपाली छानिए, वार्षिक दुई लाख डलरसम्म आम्दानी हुने विषय

Tata
GBIME
Nepal Life

काठमाडौं। वार्षिक दुई लाख अमेरिकी डलरभन्दा धेरै आम्दानी गर्न सकिने एक्चुरी पढाइका लागि दुई नेपाली छनोट भएका छन्। गणित विज्ञान स्कुलमा अध्ययन गरिरहेका ऋचा ढकाल र सन्तोष लामिछानेले दी इन्स्टिट्युट एण्ड फ्याकल्टी अफ एक्चुरिज ‘आइएफओए’ युके बोर्डको पहिलो विषय उत्तीर्ण गरेका हुन्। 

उक्त बोर्डबाट पहिलो विषयमा ढकाल ८८ प्रतिशत र लामिछाने ७६ प्रतिशत ल्याएर उत्तीर्ण गर्न सफल भएको गणित विज्ञान स्कुलका प्रमुख प्राडा प्रकाशमुनि बज्राचार्यले बताए । उक्त बोर्डबाट  पहिलो चरणका लागि परीक्षा दिने १ हजार ५ सय जनामध्ये पाँच सयजना मात्रै उत्तीर्ण भएका हुन्। 

फाइनान्स र बिमा कम्पनीका लागि लगानीको जोखिम कम गर्न हुने गणितमा आधारित 'एक्चुरियल साइन्स' को अध्ययनलाई बिद्यार्थी विज्ञानका अरू विषयको जटिल मान्छन्। त्यसैले यसमा भर्ना र उत्तीर्ण दर पनि निकै कम छ । तर, बिमा कम्पनीहरूमा उक्त विषय पढेका जनशक्तिको माग वर्सेनि बढेको छ । बिमा व्यवसाय चलेका ठाउँमा संसारभर यो विषय अध्ययन गरेकाले गर्ने आम्दानी उच्चस्तरको छ। 

एक्चुरीकोको आधारभूत अध्ययन हुने उक्त स्कुलबाट पुनः २२ जना परीक्षा दिएर बसेका छन्। यसको नतिजा केही दिनभित्रै आउने बज्राचार्यले जानकारी दिए। एक्चुरी उत्तीर्ण हुन १३ वटा विषय पास हुनुपर्छ। हरेक विषयमा उत्तीर्ण हुन न्युनतम पनि ६० प्रतिशत अंक ल्याउनुपर्ने हुन्छ। नेपालमा हालसम्म एकजना पनि नेपाली एक्चुरीका रूपमा कार्यरत छैनन्। जीवन बीमा कम्पनीहरूले विदेशबाट एक्चुरी ल्याउनुपर्ने बाध्यता छ।

एक्चुरीकै लागि भनेर गणित विज्ञान स्कुलले तीन वर्षदेखि यो विषय अध्यापन गराउदै आएको छ। हाल चौथो वर्षका लागि विद्यार्थी भर्ना गरिएको स्कुलले जनाएको छ। 'पहिलो वर्ष मागिएको कोटाभन्दा कम विद्यार्थी भर्ना भए,' बज्राचार्यले भने, 'यो वर्षदेखि फेरि नेपाली विद्यार्थीको आकर्षण देखिएको छ ।'  

चार वर्षे कोर्षका लागि ३६ वटा कोटा छ। पहिलो वर्ष ३०, दोस्रो ब्याचका लागि ३१ र तेस्रो र चौथो ब्याचका लागि भने कोटा बराबरकै लागि विद्यार्थी भर्ना भएका छन्। यो वर्ष स्कुलले दुई सयभन्दा धेरै विद्यार्थीबाट छनोट गरेर भर्ना गरेको हो। 

यस स्कुलमा अध्ययन गरेर विद्यार्थीहरूले एक्चुरीका सातवटा विषयको परीक्षा तयारी गर्न सक्छन्। बाँकी विषयका लागि स्नातकोत्तर गर्नुपर्ने हुन्छ। यसका लागि पनि स्कुलले आवश्यक प्रक्रिया अगाडि बढाएको छ। 

भारतीय र युके बोर्डबाट परीक्षा दिन सजिलो छ । तर भारतीय बोर्डबाट परीक्षा दिन भारत नै जानैपर्ने भएकाले युके बोर्डमातहत काठमाडौंमै परीक्षा दिने व्यवस्था मिलाइएको छ। युके बोर्डका लागि ब्रिटिस काउन्सिलबाट परीक्षा दिन पाइने हुँदा नेपाली विद्यार्थीको रोजाइमा परेको हो। 

एक्चुरियल कमन इन्ट्रान्स टेस्ट (एसीइटी)मा भएको प्रवधानका आधारमा यसको प्रवेश परीक्षा अनलाइनबाट दिन पाइन्छ। यसको लागि तीन घण्टामा ७० प्रश्नको हल गर्नुपर्छ। यसका लागि तीन तहका प्रश्न तयार पारिएको हुन्छ। पहिलो तहमा ४५ वटा प्रश्न हुन्छन् जसको प्रत्येक प्रश्न बराबर एक नम्वर गणना हुन्छ। त्यस्तै दोस्रो तहमा २० वटा प्रश्न हुन्छन् जसमा प्रत्येक प्रश्न बराबर २ नम्वरको हुन्छ। तेस्रोमा ५ वटा प्रश्न हुन्छन् जसमा प्रत्येक प्रश्न बराबर ५ नम्बरको हुन्छ। 
 
यसमा दुर्इ सेक्सनमा आधारित कोर्ष तयार पारिएको हुन्छ। पहिलो सेक्सनमा म्याथम्याटिक, स्ट्याटिक्स, डाटा इन्टरप्रिटेसन रहेका हुन्छन्। यस अन्तर्गतका प्रश्नको हल गरेर पास गर्न ५५ प्रतिशत अंक ल्याउनुपर्छ। दोस्रो चरणमा अंग्रेजी तथा लजिकल रिजनिङ तर्फका प्रश्नमा पास गर्न ४५ प्रतिशत अंक ल्याउनुपर्छ। दुवै तहको प्रश्न दिँदा पहिला सजिलो र पछि जटिल प्रश्न दिइन्छ।

भारतको एक्चुरी सोसाइटी अफ इन्डियाले एउटा स्लटको लागि एक पटक प्रवेश परीक्षा लिने गरेको छ। सामान्यतया प्रत्येक बर्षको अप्रिल र सेप्टेम्बर महिनामा प्रवेश तथा अन्तिम परीक्षा संचालन गरिएका हुन्छन्। यस वर्ष स्कुलले भारतीय बोर्डबाट पनि परीक्षाका लागि फारम भराएको थियो। तर अन्तिम समयमा आएर परीक्षाका लागि भारत नै जानु पर्ने जनाएपछि स्कुलले युके बोर्डमा लगेको थियो। 

यसका लागि प्रतिविषय २० देखि २५ हजार रूपैयाँ बुझाए पुग्छ। साथै गणित विज्ञान स्कुलबाट स्नातक गर्न भने ४ लाख ४० हजार रूपैयाँ शुल्क लाग्छ।  

प्रवेश परीक्षामा पास भएपछि के गर्नुपर्छ ?
प्रवेश परीक्षा पास गरेपछि १५ वटा बिषय पास गर्नुपर्छ। एक पटकमा बढीमा तीन विषयको परीक्षा दिन पाइन्छ। यो आधारमा नियमित पास हुनेले ३ बर्षमा एक्चुरी उपाधि पाउन सक्छ तर यो उपाधी प्राप्त गर्न ५ देखि ७ बर्ष लाग्ने गरेको पाइन्छ।

यो उपाधीका लागि चार तहमा रहेको परीक्षा पास गर्नुपर्छ। यसका सिटी सेरिज, सीए सेरिज, स्पेसलिस्ट टेक्निकल स्टेज र स्पेसलिस्ट स्टेज रहेको हुन्छ। यसमा एउटा तह पास गरेपछि मात्र अर्को तहको परीक्षा दिन पाइन्छ भन्ने हुँदैन । परीक्षार्थीले परीक्षा दिन सक्ने भएमा कुनै पनि तहको परीक्षा दिन पाइन्छ । यसको पुरै परीक्षा पास गर्न कठिन हुने हुँदा सिटी ९ सम्मको परीक्षा पास गरेकाले पनि राम्रो रोजगारी पाउने गरेका छन्। 

एक्चुरीको कार्य क्षेत्र बीमा, बैंकिङ, धितोपत्र, कोष व्यवस्थापन, प्राज्ञिक र आर्थिक क्षेत्रमा पर्छ। बीमा व्यवसायीले नेपालमा बीमा सम्बन्धी काम गर्ने दक्ष जनशक्ति नहुँदा विदेशबाट ल्याउनु परेको छ। बीमा कम्पनीले विदेशी कन्सल्ट्यान्टमार्फत गरिरहेका छन्। समितिले एक्चुरीको लागि वार्षिक २० लाख रूपैयाँ कन्सल्ट्यान्टलार्इ बुझाउँदै आएको छ।

नेपालको हकमा एउटा बीमा कम्पनीमा काम गरेको एक्चुरीले अर्को बीमा कम्पनीमा काम गर्न पाउँदैन। तर जीवन बीमा कम्पनीमा एक्चुरी गर्नेले निर्जीवन बीमा कम्पनीमा काम गर्न पाउने निर्देशक कमल रेग्मीले बताए। उनका अनुसार अहिले बीमामा मात्र यसको अनिवार्य गरिएको भए पनि विस्तारै बैंक तथा लामो समय दायित्व निर्वाह वहन गर्ने संस्थामा यो अनिवार्य हुँदै जाने देखिन्छ।