स्मार्टसँग ठेक्का तोडेर सूचना महामार्ग नेपाल टेलिकमलाई, कर्णाली र सुदूरपश्चिमका लागि सम्झौता

बिजमाण्डू
२०७६ मंसिर १९ गते १५:२४ | Dec 5, 2019
स्मार्टसँग ठेक्का तोडेर सूचना महामार्ग नेपाल टेलिकमलाई, कर्णाली र सुदूरपश्चिमका लागि सम्झौता


Tata
GBIME
Nepal Life

कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतको सूचना महामार्ग आयोजना निर्माणका लागि नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको छ। प्राधिकरणका निर्देशक पुरुषोत्तम खनाल र  टेलिकमका निर्देशक डिल्लीराम अधिकारीले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका हुन्।

उक्त खण्ड निर्माणको ठेक्का प्राधिकरणले दुई वर्षअघि स्मार्ट टेलिकमलाई दिएको थियो। समयमा काम नगरेपछि स्मार्टसँगको ठ्क्का तोडेर नेपाल टेलिकमलाई जिम्मा दिन मन्त्रीपरिषद्ले निर्देशन दिएको थियो। हाल प्रारम्भिक सम्झौता गरिएपनि विस्तृत सम्‍झौता भने पछि हुने भएको छ।

उक्त आयोजनाको पूर्व-पश्चिम मध्यपहाडी लोकमार्गमा जोडिने उत्तर दक्षिण र हुलाकी मार्गहरू जोड्नेगरि जिल्ला सदरमुकाम र नगरपालिका जोड्ने अप्टिकल ब्याकबोन निर्माण गर्ने लक्ष्य राखिएको छ। कर्णाली र सुदूरपश्चिम खण्डको रूकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म (सल्यान बाहेक) नेटवर्क बिस्तार गर्नेगरि प्रदेश ५ का बाँके र वर्दियासहित २० जिल्लामा अप्टिकल फाइबर बिस्तार हुनेछ। आयोजनाअन्तर्गत करिब २५ सय किमि फाइबर अन्डरग्राउण्ड गरिने छ।

मध्यपहाडी र  हुलाकी राजमार्गमा पर्ने स्थानमा न्युनतम '९६ कोर' को अप्टिकल फाइबर राखिने छ भने जिल्ला सदरमुकाम र नगरपालिकासम्म क्रमशः ४८ र २४ कोरको अप्टिकल फाइबर रहने छ। भविष्यमा भ्वाइस र डाटा अपरेटरबाट हुन सक्ने मागलाई समेत ध्यानमा राख्दै चार सय गिगाबाइट सम्मको क्षमता बृद्धि हुनेगरि सय गिगावाईट र त्योभन्दा बढि क्षमता बढाउन सकिने '१० जी' क्षमताका 'कोर राउटर' प्रयोग हुने भएका छन्।

ग्रामीण दुरसञ्चार विकास कोष (आरटीडीएफ) प्रयोग गरि नेपाल टेलिकमले सूचना महामार्ग निर्माण तथा सञ्चालन गर्ने भएको छ। यो अप्टिकल फाइबर डिजिटल नेपाल तथा ईगभर्नेन्स समेतको मेरूदण्डका रूपमा विकास गरि सूचना महामार्ग निर्माण हुने प्राधिकरणले जनाएको छ।

फाइबर नेटवर्क प्रयोग गरि ठूला पूर्वाधारमा हुने दोहोरो लगानी न्युनिकरण हुनुको साथै दुरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास गरि सूचना प्रविधिमा पहुँच पुर्‍याउने लक्ष्य छ।