दुई अर्ब लगानीमा नख्खुमा अत्याधुनिक ‘डाटा सेन्टर’ बनाउँदै एनसेल, दक्षिण एसियाकै ठूलो हुने दाबी

बिजमाण्डू
२०७६ मंसिर २२ गते १०:३१ | Dec 8, 2019
दुई अर्ब लगानीमा नख्खुमा अत्याधुनिक ‘डाटा सेन्टर’ बनाउँदै एनसेल, दक्षिण एसियाकै ठूलो हुने दाबी

Tata
GBIME
Nepal Life

काठमाडौं। निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले दुई अर्ब लगानीमा नेपालमा दक्षिण एसियाकै ठूलो डाटा सेन्टर सञ्चालनमा ल्याउने भएको छ।

विभिन्न कम्पनीका विद्युतीय डाटाहरूको भण्डारणका लागि निर्माणाधीन डाटा सेन्टर आगामी अप्रिलबाट सञ्चालन गर्न लागेको एनसेलले जनाएको छ।डाटा सेन्टर स्थापनाको लागी चिनियाँ कम्पनी हुवावेलाई जिम्मा दिइएको छ।

ललितपुरको नख्खुमा निर्माण भइरहेको डाटा सेन्टर दक्षिण एसियाकै ठूलो र अत्याधुनिक हुने एनसेलका प्राविधिक प्रमुख अदिल इस्रारले बताए । 'एनसेलले आफ्नो बिजनेस प्लानअनुसार भेइकल ट्रयाकिङ र डाटा सेन्टर निर्माणको योजना ल्याएको हो,' उनले भने, 'विभिन्न ठूला कम्पनीका आफ्नै डाटा सेन्टर भए पनि पर्याप्त छैनन्, लागतको हिसाबले खर्चिलो र सुरक्षाका हिसाबले समेत जोखिमपूर्ण रहेकाले नेपालमा ठूलो र अत्याधुनिक डाटा सेन्टरको आवश्यकता महसुस गरिएको हो ।'

डाटा सेन्टरको लागी आवश्यक भौतिक पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा छ। नेपालभित्र एनसेलको यो चौथो र सबैभन्दा ठूलो क्षमता र लगानीको डाटा सेन्टर हुनेछ। यसअघि हेटौंडा, विराटनगर र पोखरामा डाटा सेन्टर स्थापना गरिएको थियो।

२०७२ को विनासकारी भूकम्पका कारण धेरै अभिलेखहरू सुरक्षित नभएको महसुस गरि नेपालमा आधुनिक डाटा सेन्टरको आवश्यकता बिभिन्न क्षेत्रबाट अनुभव गरिएको थियो। एनसेलले बनाएको डाटा सेन्टरको कन्ट्रक्सन ९ रेक्टर स्केलसम्मको भूकम्पले समेत क्षति नपुर्‍याने उनको दाबी छ।

विश्वमा माइक्रोसफ्ट र अमेजनको डाटा सेन्टरलाई बढि बिश्वसनीय मानिन्छ । नेपालमा निर्माण गर्न लागिएको डटा सेन्टर पनि सोही अनुरुपको हुने इस्रारले बताए। 'यो हाम्रो आफ्नै प्रयोगका लागि भए पनि भविष्यमा आफ्ना डिजिटल डाटा सुरक्षित राख्न चाहने कुनै पनि कम्पनीलाई हामी सेवा दिन्छौं,' उनले भने, 'त्यसैले यो सय एक्जाबाइटको हाइ-क्यापासिटीको हुनेछ ।'

देश प्रविधिमैत्री बन्दै गएको अवस्थामा डिजिटल डाटाहरु पनि बढ्दै गएकाले तिनको भण्डारण निकै चुनौतीपूर्ण मानिएको छ। बैंक, कर्पोरेट हाउस र इन्टरनेट फोनकल लगायतका डाटा डिजिटल रूपमा रहन्छन् । एनसेलले बैंक, फाइनान्स, टेलिकम, इन्टरनेट कम्पनी र ठुला व्यवसायिक प्रतिष्ठानमा हुने सम्पूर्ण कारोबार र तिनमा महत्वपूर्ण डाटालाई लक्षित गरि डाटा सेन्टर निर्माण गरेको बताएको  छ।

बैंक तथा विभिन्न व्यवसायहरुमा डिजिटल सिस्टमको प्रयोग हुँदै जाँदा डाटा स्टोरेजका लागि नेपालीले भारत र सिंगापुरका डाटा सेन्टरमा उपयोग गर्दै आएका छन्।

एनसेलले डाटा प्रसारण गर्ने आफ्नै 'क्लाउड' निर्माण गर्नेछ, जसमा कर्पोरेट हाउसले क्लाउडमार्फत डाटाहरू डाटा सेन्टरमा पठाउने छन्। त्यस्ता डाटालाई आफ्नो सिस्टममा होस्ट गर्नेछ। एनसेलले बैंक, फाइनान्स, आइएसपी र टेलिकम कम्पनी लगायतको डिजिटल कारोबार र वेबसाइटहरूको डाटालाई भण्डारण गर्ने जनाएको छ।