एक कप कफीको लागतमै टोष्ट मास्टर्सको तालिम, शताब्दीदेखि सुरू भएको क्लबले के गर्छ ?

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७६ मंसिर २२ गते १४:२१ | Dec 8, 2019
एक कप कफीको लागतमै टोष्ट मास्टर्सको तालिम, शताब्दीदेखि सुरू भएको क्लबले के गर्छ ?

Tata
GBIME
Nepal Life

काठमाडौं। यतिबेला आत्मविश्वास भएको, बोल्न नधकाउने, आफ्नो जिम्मेवारीमा रहेको टिमको नेतृत्व सहज तरिकाले गर्नसक्ने, स्मार्ट कर्मचारीको माग अहिलेको बजारले गर्छ ।

सबै व्यवसायिक प्रतिष्ठानलाई चाहिने त्यस्ता गुण भएका स्टाफ त्यसै तयार भएर आउँदैनन् । त्यसैले ती सीप र आत्मविश्वास बढाउन काम गर्ने व्यक्ति र संस्थाले अहिले संसारभर तालिम चलाएका छन् ।

टोष्ट मास्टर्स इन्टरनेशनल तिनैमध्येको अग्रणी क्लबको नाम हो, जसले त्यस्तो तालिम दिन्छ । एक कप कफी खाने पैसाले नेतृत्व र वाककला लगायत क्षमता अभिवृद्धि विकास गर्न सकिने कुरा सुन्दै रमाइलो छ । परिवेश आफ्नै मुलुक, शैली अमेरिकी ।

सन् १९२४ अर्थात् झण्डै एक शताब्दीअघि अमेरिकामा वाककला र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले स्थापना भएको गैरनाफामुलक संस्था टोष्ट मास्टर्स क्लबले विश्वका विभिन्न मुलुकमा आफ्नो क्लब विस्तार गर्दै आएको छ।  विश्वभरका सर्वसाधारणको सम्बन्धित पेशामा व्यवसायिकता सिर्जनासँगै जीवन शैलीमा प्रभावकारी भुमिका निर्वाह गर्दै आएको टोष्ट मास्टर्सका अन्तर्राष्ट्रिय अध्यक्ष दीपक मेनोन बताउँछन् ।

'मान्छेहरू मासमा बोल्नका लागि डर हटाएर आत्मबल वृद्धि गर्न चाहन्छन्। बोल्ने शैली राम्रो भयो भने कुनै पनि बैठक, सभा-समारोहमा बोल्न कुनै अप्ठ्यारो हुँदैन,' उनी भन्छन्, 'उनीहरूले यो खुबी प्राप्त गर्न सके भने नेतृत्वको विकास गर्न सक्छन्। त्यसमा हामी सघाउँछौं ।' यसका लागि क्लबले इच्छुकहरूलाई भेला पारेर बिभिन्न सेसनमा तालिम दिने गरेको छ । सहभागीलाई अन्तर्क्रियात्मक तवरले कुनै पनि विषयमा हीनताबोध हुने नदिने पाराको  तालिम ठूला व्यापारिक संस्थाले रुचाएका छन् ।

टोष्ट मास्टर्सलाई प्रयोगात्मक रूपमा पढेर आर्जन गर्न सकिने सीपको संज्ञा दिएका छन् उनले। 'जोकसैले आफूले  आफैंलाई परीक्षण गरेर आफूलाई वाक कला र नेतृत्व विकासमा पारंगत बनाउन सक्छन्,' उनी भन्छन्। टोष्ट मास्टर्सको सफलता भनेकै प्रतिक्रिया र मूल्यांकन रहेको उनी बताउँछन् । 'प्रतिक्रिया नै यो कार्यक्रमको मुख्य अंग हो। सबै बैठकमा मूल्यांकन सेसन हुन्छ,' उनी भन्छन्, 'जहाँ प्रत्येक प्रशिक्षार्थीले आफूले सुधार गरेका काम र थप सुधारका बाटो पहिल्याउन र मूल्यांकन गर्न सक्नेछन्। जसमार्फत उनीहरूले आफ्नो क्षमता अविवृद्धि गर्न सक्छन्।'

१८ वर्ष माथिकका सर्वसाधारणले आबद्ध हुनसक्ने क्लबमा आजीवन सदस्यता लिन सक्ने उनले बताए। टोष्ट मास्टर्समार्फत पारंगतहरूले संसारका बिभिन्न मुलुकहरूमा रहेर थुप्रै क्षेत्रमा सफलता हात पारेको उनको दाबी छ । 'हाम्रो प्रशिक्षण लिएकाहरूलाई आफ्नो व्यवसायिक उत्पादनशील क्षमता वृद्धि गराउन मद्दत पुग्छ,' उनी भन्छन्, 'नेपाली परिवेशमा यो झन आवश्यक छ ।'  

नेपाली युवाहरू कर्मशील र महत्वाकांक्षी छन्। जीवनशैली विकाससँगै मुलुक विकास गर्नका लागि टोष्ट मास्टर्सको प्रशिक्षण प्रभावकारी हुने उनको भनाइ छ । यहाँका युवाहरू उच्चशिक्षा अध्ययन गर्दै र पुरा गरेपछि जागिर खोज्नमा भौंतारिन्छन्। तर दर्खास्त आह्वान गरेको कम्पनीको मागअनुसार धेरैको योग्यता पुग्दैन। 'टोष्ट मास्टर्सले युवाहरूको रोजगार क्षमता विस्तार गर्न मद्दत पुर्‍याउँछ,' उनले भने, 'हामी वाककला, आत्मबल, रणनीतिक योजना, काम गर्ने शैली र कन्फ्लिक्ट म्यानेजमेन्ट लगायतका कुरामा क्षमता विस्तार गर्न सघाउँछौं ।'

संस्थाले छिटै संसारभर आफ्नो जानकारी फैलाउनका लागि डिजिटल एडभर्टाइजिङ प्रोग्राम सुरू गरेको उनले बताए। क्लबमा हाल १ सय ४३ मुलुकका झण्डै चार लाख सदस्य आबद्ध छन्।

'हाम्रो दुइवटा मुख्य उद्देश्य छ। पहिलो सर्वसाधरणलाई दक्ष र सफल वक्ता बनाउनु हो भने दोस्रो भनेको  उच्चस्तरीय नेतृत्व उत्पादन गर्नु हो,' उनी भन्छन्, 'बोल्ने कलाले जीवनशैलीमै सकारात्मक परिवर्तन ल्याउँछ।'                     

जुनसुकै मुलुकमा टोस्ट मास्टर्स क्लबमा आबद्धले संसारका जुनसुकै क्लबमा गएर आफ्नो क्षमता विस्तार गर्न सक्ने क्षेत्र नम्बर १३ अन्तर्गत नेपालका लागि डिभिजन डाइरेक्टर सुमन शाक्यले बताए । वाककला क्षमता अभिवृद्धिमा केन्द्रित क्लबमार्फत जोकोहीले पनि आफ्नो नेतृत्व विकास गर्न सक्ने बताउँदै उनले भने, 'राम्रोसँग बोल्न सकियो भने नेतृत्व पनि राम्रो हुन जान्छ। टोस्‍ट मास्टर्सले पब्लिक स्पिकीङमा मात्र नभइ नेतृत्व विकासको दक्षतामा धेरै फोकस गरेको हुन्छ। राम्रो लिडर हुनका लागि त वाककला नै चाहियो।'

सन् १९९१ बाट नेपालमा पनि सुरू गरिएको यो क्लब सन् २००४ बाट विभिन्न क्षेत्रमा फैलिन सुरू भएको उनले बताए। तीन वर्षअघि आठवटा क्लबमा सीमित रहेकोमा हाल ३० वटा क्लब संचालित छन् । एउटा क्लब गठन गर्नका लागि अनिवार्य न्यूनतम २० जनाको सदस्यता हुनपर्छ । क्लब गठन गर्नका लागि शुल्क एक सय २५ डलर तोकिएको छ भने सदस्यता लिनका लागि २० डलर छ। १२ महिना तालिमका लागि प्रतिव्यक्ति ९० डलर शुल्क लाग्ने जानकारी उनले दिए। 

'मान्छेहरूले यसको मूल्य पनि बुझ्दै गए। एक दिनको तालिमकै १५ हजार रुपैयाँ तिरेर भाग लिइन्छ। ९० डलरमा एक वर्षसम्म क्षमता अभिवृद्धि गर्न सकिन्छ,' उनले भने। क्लबका सदस्यकै सहभागितामा आयोजना गरिने तालिममा चार सातामा एक हजार रुपैयाँ लागत लाग्ने उनले बताए। 'एक पटक कफी खाँदा दुई सय रुपैयाँ भन्दा बढी खर्च हुन्छ,' उनले भने, 'तर साताको एउटा तालिम लिँदा प्रतिव्यक्ति दुई सय ५० रुपैयाँ मात्र खर्च हुने देखिन्छ।' 

हाल माइक्रोसोफ्ट, एप्पल, वर्ल्ड बैंक र बोइङ लगायत अन्तर्राष्ट्रिय कम्पनी आफ्ना कर्मचारीको क्षमता विस्तारका लागि टोस्ट मास्टर्ससँग आवद्ध रहेको अन्तर्राष्ट्रिय अध्यक्ष मेनोन बताउँछन् । नेपालमा लक्ष्मी बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, रातो बंगला स्कुल र केसीएम कलेज लगायत विभिन्न संस्थासँग क्लबसँग आवद्ध रहेको उनले बताए। टोस्ट मास्टर्सअन्तर्गत 'पाथवे एजुकेसन' मार्फत तीन सय प्रकारका सीपको लक्षणसम्बन्धि तालिम दिने गरिएको छ ।

यसरी भयो टोस्ट मास्टर्सको नामाकरण

सन् १९२४ अक्टोबर २२ मा अमेरिकास्थित संस्थापक राल्फ सी. स्मेड्लीले टोष्ट मास्टर्सको नामाकरण गरेका हुन्। पाश्चात्य मुलुकमा कुनै उत्सव मनाउँदा वाइन लिएर आपसमा टोस्ट (चियर्स) गरिने चलन छ।

टोस्टीङ गरे लगत्तै त्यहाँ सहभागी मुल नेताले केही बोल्नुपर्ने हुन्छ। त्यो अवस्थामा राल्फ र उनका साथीहरुलाई भीडमा बोल्न अप्ठ्यारो महसुस भयो । टोष्टीङका क्रममा भएको असजिलोलाई आधार मानेर संस्थाको नामाकरण भएको हो ।

अघिपछि सहजै बोल्न सक्ने उनमा भीडमा बोल्ने आत्मबल आएन। आत्मबल बढाउने, बोल्ने र नेतृत्व क्षमता विकासका लागि उनले टोस्ट मास्टर्सअन्तर्गत आफ्नै संयोजगत्वमा 'स्मेड्ली च्याप्टर वन क्लब' गठन गरे।