घर बनाउने सोचमा हुनुहुन्छ ? यही हो सही समय, तलामै अढाई लाख रूपैंयाँ सस्तो

बिजमाण्डू
२०७६ मंसिर २४ गते १३:१९ | Dec 10, 2019
घर बनाउने सोचमा हुनुहुन्छ ? यही हो सही समय, तलामै अढाई लाख रूपैंयाँ सस्तो

Tata
GBIME
Nepal Life

काठमाडौं। कीर्तिपुरका नविन महर्जनले पोहोर घर बनाउँदा भूइँ तला छाडेर प्रतितला २५ लाख रूपैयाँ हाराहारी खर्च भएको थियो। उनले अहिले चौथो तला थपेका छन् । २२ लाख रूपैयाँमै निर्माण सम्पन्न भएको छ।

कीर्तिपुरकै ललित महर्जनले पनि यतिबेला घरको तला थपेका छन्। उनले पनि गत वर्षको तुलनामा प्रतितला दुईदेखि तीन लाख रूपैयाँसम्मै कम खर्चमा निर्माण सम्पन्न गरेका छन्।

यी त प्रतिनिधि पात्र मात्रै हुन्। यतिबेला तला थप्ने वा गत वर्ष एउटा घर बनाएर यो वर्ष अर्को घर बनाइरहेका जो कोहीले पनि २०/२५ लाख रूपैयाँ लागतमा हुने काममा २/३ लाख रूपैयाँ बचत गरिरहेका छन्। किनभने अहिले सिमेन्ट, डण्डी र इँटाको मूल्यमा धेरै नै गिरावट आएको छ। निर्माणमा प्रयोग हुने मुख्य-मुख्य सामाग्रीकै मूल्य घटेपछि घर बनाउन पोहोरभन्दा सस्तो भइरहेको छ।

कति फरक पर्‍यो मूल्यमा

वस्तु

गत वर्ष

यो वर्षको मूल्य

डण्डी

प्रति किलो रू. ८५

प्रतिकिलो रू. ७०

सिमेन्ट

प्रति बोरा रू. ८००

प्रतिबोरा रू. ६००

इँटा

प्रति गोटा रू. १७

प्रतिगोटा रू. १५

इन्जिनियरहरूका अनुसार एक हजार वर्गफिटको एक तला घर बनाउँदा करिब २० हजार इँटा, पाँच हजार किलो डण्डी, ४ सय बोरा सिमेन्ट, ५ ट्रिपर बालुवा र ३ ट्रिपर गिट्टी खपत हुन्छ।

एक वर्षअघि इँटा प्रति हजारको १७ देखि १८ हजार रूपैयाँ पर्थ्यो। अहिले प्रति हजार १४ देखि १५ हजार रूपैयाँमात्रै पर्छ। अर्थात २० हजार इँटाको मूल्यमा अहिले ४० हजार रूपैयाँ बचत भइरहेको छ।

डण्डीको मूल्य एक वर्ष अघिसम्म प्रतिकिलो ८५ रूपैयाँ थियो। अहिले प्रतिकिलो ६५ देखि ७० रूपैयाँभन्दा बढि छैन। पाँच हजार किलो खपत हुने ठाउँमा करिब एक लाख रूपैयाँ त डण्डीबाटै बचत भइरहेको छ।

सिमेन्टको मूल्य एक वर्ष अघिसम्म प्रतिबोरा ८ सय रूपैयाँ थियो। अहिले सिमेन्ट प्रतिबोरा करिब ६ सय रूपैंयाँमै आइसकेको छ। ४ सय बोरा लाग्ने ठाउँमा करिब ८० हजार रूपैंयाँ त सिमेन्टबाटै बचत भइरहेको छ।

सिमेन्ट र डण्डीको माग घट्ने बित्तिकै बालुवा र गिटीको पनि माग स्वतः घटेको छ। माग कम भएपछि गिटी– बालुवाको मूल्य पनि बढ्ने कुरा भएन। गत वर्ष गिटी ३५ देखि ३६ हजार रूपैंयाँ र बालुवा २६ देखि २७ हजार रूपैंयाँ प्रतिट्रिपरमा किनबेच भइरहेको थियो। अहिले एक ट्रिपरमा एक हजार रूपैंयाँमात्रै सस्तो हुँदा पनि १०/१५ हजार रूपैंयाँ गिटी-बालुवाबाट पनि बचत भइरहेको छ।

एक हजार वर्गफिटको एक तले घर बनाउँदा अहिले सिमेन्ट, इँटा, डण्डी र गिटी-बालुवाबाट मात्रै सरदर करिब अढाई लाख रूपैंयाँ जोगिएको छ।

६/७ महिनाअघि घर बनाउने भन्दा अहिले घर बनाउनेहरूले एक हजार वर्गफिटको घरमा करिब अढाई लाख रूपैंयाँ जोगाउन सफल भएका छन्। घर निर्माणसँग जोडिएका अन्य सामाग्रीहरूको पनि माग र आपूर्तिले मूल्य निर्धारण गर्ने भएकाले हरेक सामाग्रीमा त्यसको असर परिरहेको छ। जसले गर्दा अहिले एक तलामा सालाखाला २ लाख ५० हजारदेखि तीन लाख रूपैंयाँसम्मै बचत भइरहेको छ।

अहिले कसैले अढाई तलाकै घर बनाइरहेको छ वा बनाउने योजनामा हुनुहुन्छ भने अहिलेको बजार मूल्यअनुसार गत वर्षको तुलनामा कम्तिमा साढे ७ लाखदेखि १० लाख रूपैंयाँसम्मै सस्तोमा घर बनाउन सकिने देखिन्छ। एक वर्ष अघिसम्म अढाई तलाको घर बनाउँदा ६० लाख रूपैंयाँ खर्च हुन्थ्यो भने अहिले ५० लाख रूपैंयाँ हाराहारीमै तयार हुने देखिन्छ।