मर्जरका लागि संस्था खोजिदिन पाँच बैंकले मागे राष्ट्र बैंकको साथ, एनबी बैंक किन मर्जर चाहँदैछ?

बिजमाण्डू
२०७६ मंसिर २५ गते १३:१४ | Dec 11, 2019
मर्जरका लागि संस्था खोजिदिन पाँच बैंकले मागे राष्ट्र बैंकको साथ, एनबी बैंक किन मर्जर चाहँदैछ?


काठमाडौं। मर्जरका लागि आफैंले प्रस्ताव ल्याएपछि नेपाल राष्ट्र बैंकले पाँच बैंकका लागि 'पार्टनर' खोज्न सुरू गरेको छ। वाणिज्य बैंकका सञ्चालकहरूले आएर मर्जरका लागि पार्टनर खोजिदिन आग्रह गरेपछि राष्ट्र बैंकका उच्च पदाधिकारीले सक्रियता देखाएका हुन्।

Tata
GBIME
Nepal Life

सिभिल, सेञ्चुरी, कुमारी, सिटिजन्स बैंक इन्टरनेशनल र नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकले पार्टनर खोजिदिन आग्रह गरेका हुन्। यसबाहेक नेपाल बंगलादेश (एनबी) बैंकका ब्यवस्थापक र शेयरधनीको एउटा समूह पनि मर्जरका लागि सहजीकरण खोजिरहेका छन्।

'सिभिल बैंकका प्रबर्द्धकलाई अब धान्न सकिन्न भन्ने भएको छ। खासगरी वार्षिक पाइने लाभांस दर नै निकै कम भएकाले लगानी फ्रिजजस्तो देखियो,' उच्च स्रोतले भन्यो, 'राम्रो संस्थासँग मर्जरमा जाँदा लाभांस आकर्षक हुन्थ्यो भन्ने छ।'

मुस्किलले पुँजी बृद्धि गर्न सकेको एनसीसीलाई पनि ब्यापारमा प्रतिस्पर्धा गर्न गाह्रो छ। त्यही भएर उसले पनि मर्जर चाहिरहेको छ। कुमारी बैंक मर्जरबाट एक तह उक्लिन चाहिरहेको छ। सेञ्चुरीलाई पनि प्रतिस्पर्धामा अगाडि आउन पार्टनर चाहिएको छ। सिटिजन्स पनि ब्यापार बृद्धिका लागि मर्जरमा जान चाहिरहेको छ।

'अरू बैंकहरूमा गम्भीर खालको चासो देखिएको छैन। मर्जरको सामान्यखाले कुराकानी मात्रै गर्छन्। तर पाँचवटा बैंक भने मर्जरमा जाने पक्षमा छन्,' ती अधिकारीले भने, 'हामीले पनि आवश्यक पहल थालिदिएका छौं। केही महिनामा नतिजा आउन सक्छ।'

एनबी बैंकका लागि भने मर्जर ब्यापारका लागि भन्दा पनि आन्तरिक ब्यवस्थापनका लागि चाहिएको स्रोतको दाबी छ। राष्ट्र बैंकले मर्जरमा गएमा सिइओको अवधिदेखि कुलिङ सम्ममा छुट दिएको छ। त्यसो हुँदा ब्यवस्थापनले मर्जरमा जान जोड गरिरहेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।

एनसीसीमा समेत लगानी रहेको एनबी समूह (लक्ष्मीबहादुर-जितबहादुर श्रेष्ठ) एनबी बैंकसँग मर्ज गर्न खोजिरहेको छ। तर बंगलादेशको बैंक आइएफआइसी भने मर्जरमा आकर्षित देखिएको छैन।

आइएफआइसी आफ्नो शेयर हिस्सा घटाउने पक्षमा छैन। पुँजी चाहिएमा थप्ने तर आफ्नो स्वामित्व नघटाउने पक्षमा आइएफआइसी छ। आइएफआइसीलाई मनाइदिन एनबी बैंक ब्यवस्थापन र एनबी समूहले राष्ट्र बैंकसँग आग्रह गरिरहेका छन्। 

'एनबी बैंकको भनिहाल्न सकिने अवस्था छैन, तर बाँकी पाँच बैंक कोही न कोहीसँग मिसिने वा तीनहरूले कुनै संस्थालाई आफूमा गाभ्ने सम्भावना धेरै छ,' स्रोतले भन्यो, 'केही महिनाभित्रै यी संस्थाहरू मर्जरमा गइसक्छन्।'